काठमाडौँ- इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।
हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।
भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।
२५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्।
इजरायलमा केयर गिभरको काम अशक्ति, वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो ।
सम्बन्धित समाचार :
इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने