काठमाडौं– बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ध्यानाकर्षण गराएका छन्।
बंगलादेशमा कोटा प्राणलीको विषयलाई लिएर भइरहेको आन्दोलन चर्किएपछि विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
नेप्लिज मेडिकल स्टुडेन्टस् एसोसिएसन बंगलादेशका अध्यक्ष नविन यादव सहित बंगलादेशमा आन्दोलन चर्किएकै समयमा विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई सोमबार भेटेर ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले ५ दिन देखि नै बंगलादेशमा देशव्यापी कफ्र्यु लागु भएको,इन्टरनेट सेवा बन्द गरिएको र नेपाली विद्यार्थीहरुसँग टेलिफोन सम्पर्क समेत टुटेकाले त्यहा रहेका नेपाली विद्यार्थी र नेपालमा रहेका अभिभावकहरु चिन्तित भएको बताएका छन्।
विद्यार्थीहरुले परराष्ट्र मन्त्री देउवालाई भेटेर बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुको वर्तमान सुरक्षा अवस्थाबारे बुझी सकुशल नेपाल फर्काउन पहल गरिदिन आग्रह समेत गरेका छन्।
उनीहरुले बंगलादेशमा आन्दोलन चर्किएसँगै बंगलादेशबाट नेपाल आउने एयरलाइन्सको भाडा शुल्क बढी भएको समेत गुनासो गरेका छन्।
बंगलादेशमा कोटा सिस्टमलाई लिएर आन्दोलन हिंसात्मक बनेपछि त्यहाको सरकारले इन्टरनेट तथा सञ्चारसेवा बन्द गरेको छ भने देशव्यापी कफ्र्यु लगाएको छ।
बंगलादेश असुरक्षित बन्दै गएपछि नेपालीहरु भारतीय स्थलमार्ग तथा हवाइमार्गबाट स्वदेश फर्किएरहेका छन्। हालसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन्। बंगलादेशमा अधिकांश विद्यार्थी चिकित्सा शिक्षा अध्ययनरत छन्।