काठमाडौं- बंगलादेशमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा भएको पुनर्मिलन कार्यक्रम यो दोस्रो हो। यसअघि पनि एक पटक पुनर्मिलन कार्यक्रम भएको थियो।
शुक्रबार राजधानीमा भएको दोस्रो पुनर्मिलन कार्यक्रममा ५० बर्ष अघि नै बंगलादेशबाट अध्ययन पूरा गरेर फर्किएका पहिलो पुस्ताका चिकित्सकदेखि अहिले भर्खरै आएका नयाँ पुस्ताका चिकित्सकहरुसम्मको सहभागिता रहेको थियो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी निजी चिकित्सक डा एबीएम अबदुल्लाह र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा मन्त्री पौडेलले विदेशमा अध्ययन गरी फर्किएका चिकित्सकहरुलाई नेपालमा कसरी टिकाउने भन्ने विषय यतिवेलाको प्रमुख मुद्दा रहेको भन्दै यसतर्फ सरकारले काम गरिरहेको जानकारी दिए। उनले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका काम गर्दै अगाडि बढ्ने पनि बताए।
बंगलादेशका प्रधानमन्त्रीका निजी चिकित्सक डा अवदुल्लाहले नेपालमा बंगलादेशमा अध्ययन गरेका चिकित्सकहरुबीच उपस्थित हुन पाउँदा ढाकामै रहेको जस्तो अनुभव भएको बताए। उनले बंगलादेशमा पढेर उत्कृष्टता हासिल गरेका थुप्रै नेपाली चिकित्सक आफूले पाएको भन्दै खुशी व्यक्त गरे।
नेपालका लागि बंगलादेशका राजदूत चौधरीले नेपाल र बंगलादेशको सम्वन्ध ऐतिहासिक रहेको भन्दै यसलाई अक्षुण राख्न पर्ने बताए। उनले मेडिकल शिक्षा र औषधि क्षेत्रमा नेपाल र बंगलदेशको सम्वन्ध नजिकको भएको भन्दै यसलाई अझ उचाईमा पुर्याउनु पर्ने बताए।
कार्यक्रममा बंगलादेशमा चिकित्सा अध्ययन गरेका स्वास्थ्य सचिव डा रोशन पोखरेल, बंगलादेशका लागि नेपालको राजदूत समेत बनिसकेका मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की लगायतको समेत उपस्थिति थियो। उनीहरुले नेपालको चिकित्सा क्षेत्र र औषधिको क्षेत्रमा बंगलादेशको योगदानको प्रशंसा गरे।
‘सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’ का अध्यक्ष डा राकेश साहले बंगलादेशबाट अध्ययन गरी फर्केका चिकित्सकहरुबीच चिनजान गर्ने र परिआउँदा एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा डा मदन पियालाई लाइफ टाइम एचिभमेन्ट अवार्डाद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा ५५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।