काठमाडौं- नेपाली कांग्रेसका नेताहरुको लहरमा आशालाग्दो अनुहारका रुपमा प्रदीप पौडेल पनि समावेश छन्। नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीमण्डलमा पठाएका मन्त्रीहरुमा धेरैको आँखा पौडेलतर्फ नै छन्। राजकीय पदमा यसअघि परीक्षण भइसकेका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उनी आफैंले रोजेका हुन्। यो मन्त्रालय सिंहदरबार बाहिर छ। यसको अर्थ ऊ आफैंमा अर्को 'सिंहदरबार' हो। कर्मचारीको संख्या, संवेदनशीलता र जनतासँग प्रत्यक्ष जोडिएको हिसाबले यो अर्को 'सिंहदरबार' बनेको हो। यो मन्त्रालय 'सम्हाल्न र आफू सम्हालिन' सकेमा सफलताको 'गगन' चुम्ने संभावना हुन्छ। मेलोमेसो मिलाउन नसकेको अवस्थामा 'भानुभक्तीय घाँसीकुवा'मा फस्ने डर रहन्छ। प्रदीपले यो मन्त्रालय रोज्नुको कारण सफलताकै 'गगन' देखेर हो।
उनी यहाँ आइपुग्नुको पछाडिको महत्वपूर्ण कारण राजनीतिक 'आरोग्यता'को खोजी हो। देखिने-सुनिने मन्त्रालयमा रहेर सेवा गर्ने अवसरले राजनीतिमा तय गरेको लक्ष्य हासिल गर्ने आशा पनि हो। गत महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनी अबको दुई वर्षमा त्यहीँ पुग्ने तयारी पनि गर्नेछन्। त्यसैले पनि यो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उत्कट चाहना उनमा पलाएको हो। बिगतमा उक्त मन्त्रालयको जिम्मेवारी लिएर राजनीतिक उचाइ बढाएका महामन्त्री गगन थापा टिमको स्वभाविक साथसहयोग रहनेछ।
व्यक्तिगत रुपमा स्वास्थ्य क्षेत्रप्रतिको उनको रुचि रहेको उनका विगतका गतिविधिले देखाउँछ। कोरोना समयको 'प्लाज्मा एप'देखि सांसद् भएर आएपछि 'औषधि सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक'ले त्यसलाई दर्शाउँछ। राजनीतिक टिप्पणीमा स्वास्थ्य फ्लेवर दिन खोजिरहेका हुन्छन्। जस्तो : उनी भन्ने गर्थे- 'कांग्रेसलाई निको बनाउन सिटामोलले हुँदैन, सर्जरी नै गर्नुपर्छ।'
स्वास्थ्य मन्त्रालयमा उनी जुन समयमा आइपुगेका छन्, त्यो पनि महत्वपूर्ण छ। संघीय प्रणालीमा गएको शासन व्यवस्थाअनुरुप यो मन्त्रालय ढल्न सकेको छैन। स्वास्थ्य सेवा ऐन बनाउनुपर्नेछ। तीन तहका सरकारबीचको समन्यव मिलाउनु पर्नेछ। संघीय संरचना अनुसार कर्मचारी समायोजन हुँदा देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने छ। जनशक्ति अभावको दीगो व्यवस्थापन गर्नुपर्नेछ। पालिका अस्पताल र तिनीहरुको व्यवस्थापनको नेतृत्व पनि मन्त्रालयले नै लिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा घट्दो बजेटबाट बढ्दो जनआकांक्षा पूरा गर्नुपर्नेछ र यी सबैका लागि निश्चित स्वास्थ्य प्रणाली तय गर्नुपर्नेछ।
नेपालले बसाउन खोजेको स्वास्थ्य प्रणाली आधारभूत स्वास्थ्य नि:शुल्क र त्यसभन्दा माथिको सबै सेवा 'स्वास्थ्य बीमा' केन्द्रीत हो। यसका साथै जनस्वास्थ्यका क्षेत्रमा रोग लाग्नै नदिने उपायहरुको कार्यान्वयन गर्दै जाने विषय पनि यही प्रणालीभित्र पर्छ। आय अनुसारको प्रिमियम लिएर सबैलाई बीमामा आवद्ध गर्ने स्वास्थ्य बीमा ऐनको प्राबधान छ। स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई महशुस गर्न नसकेको पौडेललाई मन्त्री बनाउन भूमिका खेलेका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले भन्दै आइरहेका छन्। सर्वप्रथम आफैंलाई उक्त मन्त्रालयमा पुर्याउन भूमिका खेल्ने पूर्व स्वास्थ्य मन्त्री थापाको उक्त अपेक्षा पूरा गर्नुपर्नेछ। यसअघिका मन्त्री प्रदीप यादवले स्वास्थ्य बीमा बोर्ड स्वायत्त निकाय भएकाले मन्त्रालयले खासै केही गर्न नसक्ने भन्दै आएका थिए। साँच्चै उनले भनेजस्तै हो वा केही गर्न सकिन्छ? त्यसको निर्क्यौल पनि पौडेलकै पालामा हुनेछ।
स्वास्थ्य क्षेत्रमा हालसम्म भएका उपलब्धिहरुलाई जोगाउँदै सन् २०३० भित्र हासिल गर्नुपर्ने दिगो विकासका लक्ष्यहरुलाई हासिल गर्नेतर्फ योजना बनाउँदै अगाडि बढ्नु पनि उनको प्राथमिकतामा पर्नुपर्ने देखिन्छ। उपचारात्मक सेवामा बढी नै केन्द्रीत अहिलेको स्वास्थ्य प्रणालीलाई निदानात्मक, प्रवर्द्धानात्मक, पुनर्स्थापनात्मक, प्रसामक लगायत सबैमा जोड्दै सर्वव्यापी पहुँच बढाउने तर्फ लाग्नु पर्छ। यो काम अगाडि बढाउने क्रममा उनले गुणस्तरीय स्वास्थ्यलाई भने केन्द्रमा नै राख्नुपर्ने हुन्छ।
उनले पदबहालीका क्रममा तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्। सबैको सल्लाह लिने उल्लेख गरेका छन् र कर्मचारी सरुवा प्राथमिकतामा नरहेको बताएका छन्। जुन सुखद् सुरुवात हो। बोली र गराइको तादम्यता आगामी दिनमा खोजिने नै छ। पहिलोपटक सांसद निर्वाचित उनी राजकीय पदमा पनि पहिलोपटक पुगेका हुन्। सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर अध्ययन गरेका पौडेल विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन्।
उनी २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति चुनिएका थिए। २०५९ देखि २०६३ सालसम्म चलेको आन्दोलनमा उनी संयुक्त विद्यार्थी आन्दोलनको संयोजक थिए भने २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष भए। त्यसपछि लगातार उनी नेपाली कांग्रेस केन्द्रीय सदस्य छन्।
प्रतिनिधि सभामा पुग्ने अवसर उनले पहिलोपटक पाएका हुन्। काठमाडौं-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर उनी निर्वाचित भएका हुन्। त्यसअघि २०७४ सालको निर्वाचनमा तनहुँबाट गण्डकी प्रदेशसभा सदस्यमा प्रतिष्पर्धी बनेका थिए। तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनसँग जम्मा ६ मतले पराजित भए।
प्रतिनिधि सभामा पुर्ख्यौली थलो तनहुँबाट टिकट पाउने सम्भावना नदेखेपछि बसोबास रहेको काठमाडौं- ५ लाई रोजेका हुन्। उक्त रोजाइ उनका लागि लाभदायी रह्यो। आफ्नो छविलाई हालसम्म सन्तुलित राखेका पौडेलले चुनावमा केही रणनीतिक अभियान समेत चलाए। नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्ट (विकास) को कुरालाई मुख्य एजेण्डा बनाएका थिए। अन्य क्षेत्रमा भन्दा स्वास्थ्यमा ब्रेन ड्रेनको समस्या बढी छ। बौद्धिक वर्गले आफ्नो चुनावी अजेन्डा कार्यान्वयनमा उनले गर्ने प्रयास नियालिरहनेछन्।
वर्तमान छिमलका नेपाली नेताहरुमा आशा गरिएका प्रदीपले भरोसा कायम राख्नेछन् भन्ने आम अपेक्षा छ। त्यसमा खरो उत्रिउन्। शुभाकांक्षा छ- सफलताकै 'गगन' पछ्याउन्, गन्जागोलको 'घाँसीकुवा'मा नफसून्!