काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने प्रविधि हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी (हाइपेक) भित्र्याएको करिब १० महिनामा १३ जना बिरामीलाई सेवा दिएको छ।
विशेषगरी चौथो चरणमा पुगिसकेको ठूलो आन्द्रा, सानो आन्द्रा, डिम्बाशय, एपेन्डिक्सलगायत पेट भित्रका क्यान्सरका बिरामीको उपचारका यो प्रविधिको प्रयोग हुँदै आएको छ।
अस्पतालका सर्जिकल अन्कोलोजिष्ट डा दीप लामिछानेका अनुसार क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो।
‘शल्यक्रियाको क्रममा पेट बन्द गर्नु अगाडि यस प्रकारको प्रविधिको प्रयोग गरिन्छ। नेपालमा भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्नु अगाडि कतैपनि यसप्रकारको सेवा थिएन। यस विधिको प्रयोग गरी उपचार गर्नका लागि भारत तथा अन्य देश धाउनुपर्ने बाध्यता थियो,’ उनले भने।
हाइपेक शल्यक्रियामा अतिरिक्त शुल्क नलाग्ने
पेटमा क्यान्सर भएका बिरामीहरुलाई शल्यक्रियाको आवश्यकता पर्ने नै गर्छ। हाइपेक प्रविधिको प्रयोग गरी शल्यक्रिया गर्नुपर्दाको अवस्थामा अस्पतालले अतिरिक्त शुल्क नलाग्ने उनी बताउँछन्।
शल्यक्रियाका लागि अतिरिक्त शुल्क नलागेपनि शल्यक्रियाका क्रममा प्रयोग हुने सामान भने बिरामीले नै किन्नुपर्ने उनको भनाइ छ।
‘हाइपेक प्रविधिमा प्रयोग हुने एउटा सामान एक बिरामीलाई मात्रै प्रयोग गर्न मिल्छ, जसको मूल्य ८० देखी ९० हजार पर्छ,’ उनले भने, ‘जुन बिरामीको क्यान्सर एक स्थानबाट सुरु भएर अन्य स्थान जस्तै पेटको बोसे आन्द्रा तथा पेटको झिल्लीमा फैलिएको छ, त्यस्ता बिरामीहरुमा यस प्रविधिको प्रयोग गरिन्छ।’
कस्ता क्यान्सरको उपचारमा प्रयोग हुन्छ हाइपेक प्रविधि ?
यो प्रविधिको प्रयोग डिम्वाशयको क्यान्सर भएका, ठूलो आन्द्राको क्यान्सर, सानो आन्द्राको क्यान्सर, रेक्टम (दिसा गर्ने अन्तिम भाग) को क्यान्सर लगायतमा यस प्रविधिको प्रयोग हुने गरेको छ।
चौथो चरणमा पुगेका सबै क्यान्सरका बिरामीहरु प्रयोग हुने प्रविधि नभएको उनले स्पष्ट पारे। बिरामीको रोगको अवस्था अनुसार उक्त विधिको प्रयोग फाइदाजनक भए/नभएको निक्र्याैल गरेर मात्र यो विधि प्रयोग गरिन्छ। हाइपेक प्रविधिको पढाइ नेपालमा हुँदैन। यसको प्रयोग भइरहेका विदेशी अस्पतालहरुमा तालिम लिनुपर्ने हुन्छ।
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
विश्वमा यस प्रविधिको प्रयोग सन् २००३ देखि व्यापक भएको हो । यद्यपि सन् १९८० देखि नै यस प्रविधिको महत्वबारे छलफल भएको थियो।
क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीले पूर्ण रुपमा निको पार्न नसकेको क्यान्सरका कोषहरु यो प्रविधिले निको पार्ने दाबी चिकित्सकहरुको छ। क्यान्सर शल्यक्रिया गरिसकेपछि त्यसलाई नियन्त्रण गर्ने औषधिको प्रयोग यस प्रविधिमा हुन्छ।
निरन्तरतामा चुनौती छ : निर्देशक डा चालिसे
क्यान्सर उपचारका अन्य प्रविधिभन्दा यो बढी प्रभावकारी हुने अस्पतालका निर्देशक डा उज्जवल चालिसेको दाबी छ । ‘यदि क्यान्सर चौथो चरणमा पुगिसकेको भएपनि शल्यक्रिया पश्चात् यस प्रविधिद्वारा उपचार गरी क्यान्सरलाई निर्मुल पार्न सकिन्छ,’ उनले भने।
प्रविधि नयाँ भएपनि पर्याप्त जनशक्ति नभएकाले यसको निरन्तरतामा भने चुनौती देखा परेको अस्पतालका निर्देशक डा उज्वल चालिसे बताउँछन्।
उक्त प्रविधिद्वारा उपचारका लागि विदेशबाट अध्ययन गरेर आएका चिकित्सकका टिम अस्पतालमा रहेका छन्। यद्यपि आगामी दिनमा जनशक्तिको अर्याप्तताको समस्या भोग्न नपरोस् भन्दै अस्पतालले शल्यचिकित्सकहरुलाई समेत प्रशिक्षण दिन थालेको छ।