डा रोशना अमात्य। यो त्यस्तो नाम हो, जससँग चिकित्सा जगतमा अपरिचित कोही छैन, आमजनमा त्यो नाम उतिसारो परिचित भएन। किनभने डा रोशनाको रोशनी त्यहीँ फैलियो, जहाँबाट मान्छेले पुनर्जीवन प्राप्त गर्छन् । अर्थात् उनी नेपाली अप्रेशन थिएटरकी सितारा हुन्। जसको उज्यालोका कारण हजारौं मान्छेको निभ्न लागेको जीवनज्योति फर्किएको छ।
एनेस्थेसिया भन्नेबित्तिकै आमजनले बुझ्छन्, बेहोस पार्ने डाक्टर । डा अमात्यकी हजुरआमाले पनि त्यस्तै बुझ्थिन्। उनले एनेस्थेसिया पढ्ने भनेपछि उनकी हजुरआमाको प्रतिक्रिया थियो, 'बेहोस पार्ने विद्या पनि पढ्ने?' बेहोस पार्ने डाक्टरको रुपमा परचित पहिलो पुस्ताका एनेस्थेसियोलोजिस्ट डा बीबी सिंह उनकै टोल (काठमाडौं महानगरपालिका १९ नेतपाचो)का थिए । जो बेहोश पार्ने विद्वानका रुपमा परिचित थिए तर मान्छेलाई निको पार्ने पहिले राम्री बेहोश पार्नुपर्ने चेतना फैलिसकेको थिएन।
उनले एनेस्थेसिया छान्दा उनकी हजुरआमाले मात्रै होइन, साथी, सहकर्मी, गुरु र आफन्त सवै चकित परेका थिए। तत्कालीन स्वास्थ्य सेवा विभागका निर्देशक डा भरतराज वैद्यले नै उनलाई उल्टै सुझाए, 'स्त्रीरोग र बालरोग पो छान्नुपर्छ, महिला भएर एनेस्थेसिया पढ्ने विचार कताबाट आयो?' डा वैद्य उनका पिताका साथी पनि थिए, त्यसैले त्योबेला आकर्षण र कमाइ दुबै राम्रो हुने विषय छान्न सुझाएका हुन्।
डा अमात्यले अरु कसैको सुनिनन्, मात्र आफ्नो मनको सुनिन् । आफ्नो मन बुझेका श्रीमान् डा नारायणगोविन्द अमात्यलाई मात्रै आफ्नो रोजाइका विषयमा विस्तृतमा सुनाइन् । अरुका सुझाव, सल्लाह र प्रतिक्रियामा उनी मात्रै मुस्कुराइन् । जुन उनको स्वभाव हो, ८३ वर्षको उमेरमा पनि दुरुस्त छ।
त्यो टरेको दुर्घटना र निर्धारित लक्ष्य
सन् १९६७ को कुरा थियो । डा अमात्य आफ्ना श्रीमानसँगै इलाम अस्पतालमा काम गरिरहेकी थिइन्। एकदिन गोरुले हानेर आन्द्रा बाहिर निस्किएको बिरामी अस्पतालमा ल्याइपुर्याइयो। उनका श्रीमान् डा नारायण गोविन्दले हतार-हतार अप्रेशनको तयारी गर्दै निर्देशन दिए, ' तिमी एनेस्थेसिया दिनू।'
त्यस दिनअघिसम्म एनेस्थेसियासँग उनको कुनै लगाव थिएन। त्यसैले एमबीबीएस पढ्दा पनि त्यसमा उति ध्यान दिएकी थिइनन्। बरु उनको रुचि थियो, स्त्रीरोग विशेषज्ञ बन्नुमा। बिरामीलाई जोगाउनु छ र अप्रेशनको तयारी गरेका चिकित्सकको निर्देशन छ । उनले तयारी गरिन् । त्यो बेला एनेस्थेसिया भनेको इथर ग्यास थियो । बिजुली नभएका कारण पेट्रोम्याक्स बालेर अप्रेसन गर्नुपर्थ्यो । दुवैजनाको सहकार्यले अप्रेसन भयो । घाइतेको ज्यान जोगियो।
अप्रेसन सकाएर घर पुगेपछि उनको दिमागले सय भोल्टको झट्का मार्यो । इथर त विष्फोटक ग्यास पो हो, यदि त्यो पेट्रोम्याक्सको सम्पर्कमा आएको भए सवैको ज्यान जान्थ्यो ! त्यही घटनाले उनलाई एनेस्थेसियाको महत्व समेत महशुस गरायो । उनले ठानिन्, 'बिरामीको शल्यक्रिया गरेर ज्यान जोगाउन एनेस्थेसिया जरुरी छ ।' उनले त्यसबारे थप बुझ्ने कोशिस गरिन्, झन् रुचिकर लाग्दै गयो। अन्तत: उनले आफूलाई समपर्पित गरिन्।
एमबीबीएसपछि ७ वर्ष उपत्यका बाहिर काम गरेको डा अमात्य जोडी पोस्ट ग्र्याजुएटमा छात्रवृत्ति पाउने नामसूचीको अग्रभागमा देखियो । त्यसैले दुवै संयुक्त अधाराज्यका लागि छानिए । सन् १९७० मा उनी पढ्न जाँदा उनकी छोरी सानै थिइन् । संयुक्त अधिराज्य भनेपनि डा रोशनाको कलेज लन्डनमा थियो भने डा नारायणको कार्डिफमा । डा रोशनाले त्यहाँ कामसँगै पढाइ थालिन् । हेयरफोर्ड अस्पतालमा उनले एनेस्थेसिया विभागमै सिनियर हाउस अफिसरका रुपमा का गरिन् । एक वर्षपछि बिरामी छोरीलाई पनि उनले त्यहीँ लिएर गइन् । बच्चासँगै काम र पढाइको सन्तुलन मिलाउन उनलाई निकै नै सकस पर्यो। त्यहीपनि उनले सन् १९७२ मा एनेस्थेसिया पास गरिन् । उनलाई त्यहाँ थप जानेर नेपाल फर्किने रुचि थियो । त्यसैले उनी पहिलो भागको फेलोसिप गर्दै थिइन् र श्रीमान् नारायण एमआरसीपी गर्दै थिए । त्यहीबीच नेपालबाट चिठीहरु आउन थाले । जहाँ लेखिएको थियो, तिम्रो बुवाको हृदयाघातबाट निधन भयो । त्यसपछि सवैकार छाडेर उनीहरु नेपाल फर्किए।
नेपाल आइपुगेपछि उनको वीर अस्पतालमा रजिस्ट्रार पदमा एनेस्थेसिया विभागमा पोस्टिङ भयो । एनेस्थेसिया पढेर आएपनि नेपालमा उनको विदेशमा जाने उच्चस्तरको ज्ञानसीप प्रयोग गर्न पाइनन् । उनी सम्झिन्छिन्, 'हामी विदेशमा पढ्दा इथर ग्यास प्रयोग हुन छाडिसकेको थियो । नेपालमा त्यसबाहेक अरु भोलाटाइल एनेस्थेटिक ग्यासहरु उपलब्ध थिएनन् । डा नरेन्द्रबहादुर राणा र डा त्रिरत्नमान तुलाधरससँग मैले फेरि सिकेर गर्नुपर्यो।'
बेलायतका एनेस्थेसिया विकासकर्ता सर म्याकन्टोसले नेपाल भ्रमणमा आउँदा दिएको एउटा मात्र इएमओ मेसिन नेपालमा रहेको उनी बताउँछन् । त्यही उपकरणमा इथर प्रयोग गरेर सानोदेखि ठूलो शल्यक्रिया हुन गरेको थियो । उनी आफू फर्किदा इएमओ लिएर आएकी थिइन् (जुन अहिले चिकित्सा शास्त्र अध्ययन संस्थानलाई दिएकी छिन् ), त्यसले मद्दत गर्यो ।
आधुनिक एनेस्थेसिया विधि र जनशक्ति संकट
डा अमात्यले एनेस्थेसियाका नयाँ विधि र प्रविधि सिकेर आएकी थिइन् । त्यसैले उनले विस्तारै इथरको विकल्प खोजिन् । त्यही अनुसारका औषधि र उपकरण मगाउन थालिन् । उनी वीरमा भएपनि जनशक्ति अभावका कारण एनेस्थेसियामा काम गर्नेहरुले प्रसुति गृहमा पनि सेवा दिनुपर्थ्यो । पहिलोपटक नयाँ विधिबाट एनेस्थेसिया दिँदाको घटना उनको स्मृतिपटलमा अहिले पनि छ, 'प्रसुति गृहमा डा कान्ति गिरीले पाठेघरको शल्यक्रिया गर्दै हुनुहुन्थ्यो। त्यही क्रममा डा गिरीले एक्कासी भन्नुभयो- रोशना बिरामी हेर त, केही आवाज आएको छैन । के भएको हो?' उनी तर्सिइन् । बिरामी तलबितल पर्यो भन्ने डर भयो । हेर्दा बिरामी ठिकै थियो । उनी पछि पहिल्याइन्, 'पहिले-पहिले एनेस्थेसिया दिँदा मुखमा मास्क राखेर इथर खन्याउने गरिन्थ्यो, त्यसैले घुरघुर आवाज आइरहन्थ्यो । अहिले मांसपेशीलाई आराम हुने औषधि दिएर बेहोस पारेका कारण मेसिनबाट श्वासप्रश्वास गराइएको थियो । त्यसमा अभ्यस्त नभएका कारण डा गिरीलाई त्यस्तो लागेको रहेछ ।'
नेपालमा विशेषज्ञ चिकित्साको विकास हुँदै थियो । शल्यचिकित्सकको संख्या पनि बढ्दै थियो तर एनेस्थेसियामा भने दर घट्दो थियो । डा रोशनाका अनुसार सन् १९८० पछि अवस्था यस्तो आयो कि नेपालमा जम्मा ७ जना एनेस्थेसियोलोजिस्ट बाँकी रहे । हुँदा-हुँदा वीर अस्पताल उनी एक्लै भइन् । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्रबहादुर खत्रीले उनलाई सोधे, 'अब के गर्ने ?' उनले आफू एक्लै भएकाले इमर्जेन्सीबाहेक सेवा दिन नसकिने बताउनुपर्यो।
एनेस्थेसियोलोजिस्टको विदेश पलायन रोक्न स्वदेशमै आकर्षक सेवासुविधाका लागि लबिङ गरिन्। त्यसपछि बल्ल अस्पताल र सरकारको त्यतातिर ध्यान जान थाल्यो । एनेस्थेसियोलोजिस्टलाई २०० प्रतिशत भत्ता र एनेस्थेसियामा काम गर्नेलाई १५० प्रतिशत भत्ता दिने नीति ल्याइयो।
एनेस्थेसिया जनशक्तिकी जननी
नेपालको डा भवानीभक्त सिंहले सन् १९५३ मै वीर अस्पतालबाट एनेस्थेसिया सुरु गरेका थिए । सन् १९८४ मा आयपुग्दा जम्मा १२ जनाले एनेस्थेसियोलोजी पढेका थिए । सन् १९८४ पछि मात्रै एनेस्थेसियामा जनशक्ति बढ्न थालेका हुन्।
जनशक्ति बढ्न थालेपछि एनेस्थेसियाकै थप उपविशेषज्ञता बढाउनुपर्ने उनी लगायतका एनेस्थेसियोलोजिस्टलाई लाग्यो । डा विशारदमान श्रेष्ठ न्युरोएनेस्थेसिया र डा अमात्य आइसियुमा उच्च शिक्षा हासिल गर्न फेरि बेलायतिर लागे । मुटुरोग विशेषज्ञ डा मिर्गेन्द्रराज पाण्डेले आइसियुको विकास गर्न जरुरी रहको कुरामा जोड दिएकाले पनि उनलाई उक्त विषय छनोट गर्न सहज भयो।
कोलोम्बो प्लान अन्तर्गतको छात्रवृत्मा त्यहाँ पढिरहेका बेला चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओइम)मा एनेस्थेसियामा पोस्ट ग्र्याजुएट सुरु गर्ने योजना बन्यो । डा अमात्यलाई एनेस्थेसियाको जनशक्ति बढाउने कुराले पिरोलिरहन्थ्यो । त्यही कारण उनले एनेस्थेसिया विभागमा सह-प्राध्यापकका लागि आवेदन दिइन् । तीनजना उम्मेदवारमा उनी छानिइन्।
तर, उनलाई स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालय अन्तर्गतको आइओएममा जान दिएन । उनले चार महिना त दुवैतिर भ्याइन् । तत्कालीन डिन डा गोपालप्रसाद आचार्यले पहल गरेर उनलाई स्वास्थ्य मन्त्रालयबाट आइओएममा सारे । त्यसपछि उनको नेतृत्वमा ब्रिटिश काउन्सिलको सहयोगमा ६ हप्ते एनेस्थेसिया तालिम सुरु भयो । उनलाई सहयोग गर्न बेलायतबाट डा माइक इन्मान आएका थिए । डाक्टरलाई एनेस्थेसिया पढ्न रुचि जगाउन कोर्सका रुपमा यो पूर्व विराटनषर र पश्चिम नेपालगञ्जमा पनि सुरु भयो.
यसको सफलतापछि क्यानडाको क्यालगरी विश्वविद्यालसँगको सहकार्यमा एक वर्षे एनेस्थेसियोलोजी कार्यक्रम आइओएममा सुरु भयो । जसमा कार्यक्रम संयोजकका रुपमा डा अमात्य नियुक्त भइन् । भिजिटिङ प्रोफेसरका रुपमा क्यानडाका चिकित्सकले सघाए भने नेपालका डा नरेन्द्रबहादुर राना, डा त्रिरत्नमान तुलाधर र डा विशारदमान श्रेष्ठले पनि प्राध्यापकका रुपमा उक्त कार्यक्रमलाई सफल बनाउन लागिपरेको उनी बताउँछिन्।
सुरुमा एनेस्थेसिया पढ्ने चिकित्सक पाउने निकै सकस परेको उनको अनुभव छ । 'एकचोटी त विद्यार्थी पाउन नसकिएपछि नर्सहरुलाई तालिम दिउँ भन्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव आयो । हामीले मानेनौं । यदि त्यो प्रस्ताव स्वीकार गरेको भए एनेस्थेसियोलोजिस्टको अभाव कायम रहन्थ्यो,' उनले भनिन् । चिकित्सकलाई नै यसको महत्व बुझाउन उनलाई धेरै नै मेहनत गर्नुपर्यो । बिस्तारै बुझ्न थाले र पहिलो ब्याचमा चारजना भर्ना गर्न सफल भएको उनी सुनाउँछिन् । सन् १९८४ देखि सन् १९९४ सम्म उनीलगायले गरेको मेहनतको नतिजा राम्रो आयो । एक दशमा ४५ जना एनेस्थेसियोलोजिस्ट पुगे । उनले त्यो क्षणलाई गर्वसाथ उल्लेख गर्छिन्, 'काठमाडौंका साथै अत्र्चल अस्पतालमा पनि सुरक्षित एनेस्थेसिया दिएर उपचार हुन थालेपछि निकै खुशी लाग्यो।'
पढाइको प्रशंसा
डा अमात्यले जहिल्यै देशमा कसरी उत्कृष्ट एनेस्थेसिया सेवा दिने र क्रिटिकल केयरलाई उन्नतस्तरको बनाउने भन्नेबारे सोचिन् । त्यसैले आइओएमबाट एनेस्थेसियोलोजी (डीए) गरेका चिकित्सकलाई ६ महिनाको थप सिकाइका लागि बेलायत पठाउन पहल गरिन् । पहलको अर्थ थियो, 'नयाँ कुरा सिकुन । नयाँ प्रविधिबारे जानुन् र नेपाल फर्किएर उत्कृष्ट सेवा दिउन् ।'
त्यसको नतिजा भने उनले अपेक्षा गरेजस्तो आएन । ६ महिनाको उक्त शिक्षावृत्ति कोर्सका लागि पुगेका अधिकांस बेलायतमा बस्न थाले । त्यसपछि उक्त कार्यक्रम रोक्नका लागि डा अमात्य आफैं बेलायत जानुपर्यो । साथै नेपालमा एक वर्षे एनेस्थेसियोलोजी पढेका विद्यार्थीको गुणस्तर अन्तराष्ट्रिय दृष्टिमा कस्तो रहेछ भन्ने बुझ्नु पनि थियो उनलाई । उनी ६ महिने शिक्षावृत्ति हटाउनका लागि रोयल कलेज अफ सर्जन एन्ड फिजिसियन अफ इंग्ल्यान्डका डिन डा एलेन के आदम्सलाई भेट्न पुगिन् । डिन आदम्सले नेपालमा एनेस्थेसियलोजी पढेका विद्यार्थीबारे उनले सोध्न नपाइ प्रशंसा गरे । उनले भने, 'रोशना तिमिले चिन्छौ, नेपालबाट आएको अधिकारी नामको एउटा विद्यार्थी छ, जो साह्रै नै प्रतिभावान छ । उसले त केही महिनामै फेलोसिप सक्यो।' ती डा गौरी अधिकारी थिए, जो पहिलो ब्याचका विद्यार्थी थिए । डा अधिकारीले बेलायतमा अध्ययन गरेर नेपाल फर्किएर एनेस्थेसिया विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेपालमा डिप्लोमा इन एनेस्थेसियोलोजी (डीए) सुरु गरेपछि जनशक्ति बढ्यो तर उनीको शिक्षावृत्तिका लागि यहीँ केही गर्न जरुरी थियो । डा अमात्यले त्यसका लागि पहल थालिन् । सन् १९९४ मै सम्भाव्यता अध्ययन भएपनि त्रिवि र स्वास्थ्य मन्त्रालयको पहलमा पीजीएमईसीसी अन्तर्गत एनेस्थेसियोलोजी कार्यक्रम सुरु गर्न सफल भइन् ।
छोटो समयमाका लागि क्यानडियन सोसाइटी अफ एनेस्थेसियोलोजीबाट केही चिकित्सक आएर सघाए । नेपालबाट डा अमात्यलाई डा ब्रह्मदेव झा र डा गौतमरत्न बज्राचार्यले साथ दिए। सन् १९९९ देखि भने आइओएम, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि सुरु भयो ।
आइसियु र दुखाइ व्यवस्थानको अवधारणा
डा अमात्य आइओएम जानुअघि नै आइसियुबारे बेलायत पुगेर ज्ञान लिएकी थिइन् । त्यसैले नेपालमा आइसियुको विकासमा पनि उनी सुरुदेखि नै सक्रिय भइन् । सन् १९८४ मा बेलायतबाट तालिम लिएर आएकी उनले त्यहाँ आइसियु निर्माण र विकासमा नेतृत्वदायी भूमिका खेलिन् र एनेस्थेसियोलोजिस्टको संलग्नता बढाइन् । आइसियु कमिटीको अध्यक्ष नै एनेस्थेसियोलोजिस्ट बन्ने परम्पराको विकास उनले गरेकी थिइन् तर बिचमा केही समयमा लागि भत्किएको उनी बताउँछिन् । चिकित्सा र शल्यक्रिया विभागका प्रमुख पनि अध्यक्ष भए । एनेस्थेसियोलोजिस्टलाई आइसियुमा संलग्न गराउँदा क्रिटिकल केयरको विकासमा सहयोग पुगेको उनी बताउँछिन् । 'आइसियुमा काम गर्दा क्रिटिकल केयर मेडिसिनमा उहाँहरुको रुचि बढ्दै गयो र त्यसमा थप अध्ययन गर्नुभयो । अहिले नेपालमा गुणस्तरीय क्रिटिकल केयर दिन थालिएको छ,' उनले भनिन् ।
अर्को उनले सुरुदेखि नै एनेस्थेसियोलोजिस्टले दुखाइ व्यवस्थापनमा भूमिका खेल्ने कुरामा जोड दिइन् । दीर्घकालीन दुखाइले व्यक्ति मात्रै होइन, परिवार र समाजलाई समेत असर पार्ने उनको बुझाइ थियो । उनले सम्झिइन्, 'सन् २००० तिर हामीले दुखाइ व्यवस्थापन जरुरी रहेको महशुस गर्यौं । हामीले तालिममा जान खोज्यौं तर पाएनौं । सम्मेलनमा जाँदा एक हप्ता थप बसेर त्यसबारे आधारभूत ज्ञान लिएर फर्किने गर्यौं ।' डा पूर्णराज जोशीले बेलायतबाट एफएफएआरसीएस गरेर फर्किदा दुखाइ व्यवस्थापन सम्बन्धी केही तालिम लिएर आएकाले सहज भएको उनले बताइन् । विस्तारै एनस्थेसिया अन्तर्गत दुखाइ व्यवस्थापन विभाग समेत सुरु गरिएको उनले सम्झिइन् ।
आवश्यकता पर्यो कि बोलाउने आइओएम
औपचारिक रुपमा सेवाबाट अवकाश उनले सन् २० वर्षअघि नै अर्थात् सन् २००४ मा पाएकी हुन् । तर काम गर्ने उनको स्वभावका अघि सेवाकाल गौण भयो । आफू सेवा निवृत्त भएको पाँच महिनासम्म त उनले त्यसबारे थाहै नपाइ सेवा गरिन् । जब पाँच महिनापछि चिठ्ठी आयो- बल्ल उनी झसंग भइन् । त्योबेलासम्म नेपालमा एनेस्थेसिया क्षेत्रमा प्रशस्त विकास भइसकेको थियो । देशमा जनशक्ति उत्पादन सुरु भइसकेको थियो । उनी खुशीसाथ बाहिरिइन् ।
उनी सेवाबाट अवकाश भइन् तर उनको ज्ञान देशलाई आवश्यक पर्यो । त्यसैले उनले थप ९ वर्ष पूर्णकालीन करार सेवामा रहेर एमडी एनेस्थेसियोलोजीका विद्यार्थीलाई अध्यापन गराइन् । उनमा सक्रियता घटेको थिएन तर नियमले उनलाई थप त्यहाँ रहन दिएन ।
फेरि २०७० सालमा डक्टरेट इन मेडिसिन-क्रिटिकल केयर मेडिसिन सुरु गर्ने तयारी आइओएमले गर्यो । फेरि डा अमात्य आवश्यक पर्यो । फ्याकल्टी बोर्डले पुन: बोलाउने निर्णय गर्यो । उनी उक्त कार्यक्रम समन्वय समितिकी संयोजक भएर काम गरिन् । रोयल कलेज क्यानडासँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गर्न खोज्दा आइओएमकै केही प्राध्यापकले रोक्न खोजेको तीतो अनुभूति पनि उनीसँग छ । त्योबेलाका पदाधिकारीहरुले भने अड्डी कसे र विभागीय प्रमुख डा मोदनाथ मरहठ्ठाले महत्वपूर्ण भूमिका खेले र उक्त कार्यक्रम सफल भयो । सन् २०१६ मा उनको तीन वर्ष करार सकियो । पहिलो ब्याचका एउटाको सकिसकेको थियो र दोस्रो ब्याचाका दुईजनाको चार महिना बाँकी भएकाले थप केही महिना उनले स्वयंसेवकका रुपमा काम गरिन् । उनीहरु पास भएपछि उनी बाहिरिइन् । सन् २०१८ मा एनेस्थेसियोलोजी विभागका एकजना प्राध्यापकले राजीनामा दिए।
अनुभवी, सक्रिय र सरल डा अमात्य नै त्यहाँका पदाधिकारीको आँखामा आइपुगिन् । सन् २०१८ को जुनदेखि अतिथि प्राध्यापकमा नियुक्त भएर सेवा गरिन् । उमेरले ८३ पुगेकी डा रोशना अझै रोकिएकी छैनन् । उनी आफैं संस्थापक उपाध्यक्ष र पछि अध्यक्ष रहेको सोसाइटी अफ एनेस्थेसियलोजिस्ट नेपाल (सान) मा रहेर उक्त क्षेत्रका विकासका लागि योगदान गरिरहेकी छिन् । उनी अहिले पनि घर बस्ने भन्दा आफ्नो तर्फबाट गर्न सक्ने योगदानका लागि सक्रिय रहन रुचाउँछिन्।
डा अमात्यको स्वास्थ्य क्षेत्रप्रतिको सकारात्मक दृष्टिले गर्दा उनका तिनटै सन्तानले यही क्षेत्र रोजे। उनकी जेठकी सुपत्री डा अर्चना अमात्य चिकित्सा क्षेत्रमा कहिलिएको नाम हो। प्रसुति तथा स्त्रीरोग विशेषज्ञ उनी अहिले उनी विशेषज्ञता भन्दा पनि नेतृत्व र व्यवस्थापन क्षमतालाई प्रयोग गरेर नेपाली स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेकी छिन्। अर्की छोरीले पढाइमा कम्प्युटर साइन्समा अमेरिकाबाट स्नातकोत्तर गरिन्। तर, फेरि एमएसी नर्सिङ गरेर स्वास्थ्य सेवातर्फ नै मोडिइन् भने छोरा डा आशिषगोविन्द अमात्यले आमाकै पथ रोजेका छन्। कार्डियाक एनेस्थेसियोलोजिस्ट उनी सहिद गंगालाल हृदयरोग प्रतिष्ठानमा कार्यरत छन्।