जोर्नी खिइने समस्या उमेर ढल्कदै गएपछि देखिने समस्या हो। बुढ्यौलीमा देखिने समस्याको रुपमा पनि जोर्नी खिइने समस्यालाई लिइन्छ।
जोर्नी भित्र कुरकुरे हड्डी रहेको हुन्छ जसले जोर्नीलाई घर्षण हुनबाट बचाउँछ। जोर्नीभित्र रहेको तरल पदार्थले जोर्नीलाई दुरुस्त राख्न मद्दत पुर्याउँछ।
उमेर बढ्दै जाँदा जोर्नी वरपर रहेका मांसपेशीहरु कमजोर हुँदै जाँदा जोर्नीको सन्तुलन विग्रन्छ। जसले गर्दा जोर्नीको कुरकुरे हड्डीमा असर गरेर कुरकुरे हड्डी पातलिँदै जान्छ। दुई जोर्नी बीचको दुईवटा हड्डीको घर्षण बढ्दै जान्छ नयाँ प्रकारको हड्डी जोर्नीको वरपर पलाउन थाल्छ। जोर्नीको भित्र रहेको स्पेस पनि कम हुँदै जान्छ।
जोर्नी खिइने प्रक्रिया पहिचानका लागि एक्सरे गर्नुपर्छ। एक्सरे गरेर हड्डीको अवस्था र जोर्नीको अवस्थाबारे जानकारी लिन सकिन्छ।
जोर्नी खिइने समस्याको अवस्था अनुसार वर्गिकरण गरेर उपचार गरिन्छ। जोर्नी खिइने समस्याको अन्तिम विकल्पको उपचार भनेको जोर्नी प्रत्यारोपण हो।
सामान्य रुपमा जोर्नी प्रत्यारोपण भनेको प्राकृतिक रुपमा रहेको जोर्नीको ठाउँमा कृतिम धातुको जोर्नी राख्नु हो। प्राकृतिक रुपमा गर्ने जोर्नीको कामलाई धातुको कृतिम जोर्नीको कामले प्रतिस्थापन गरिन्छ।