विराटनगर - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट ल्याएका हुन्।
कोशी प्रदेशले स्वास्थ्यमा ३ अर्ब ५८ करोड विनियोजन गरेको छ। निःसन्तान दम्पतिका लागि निःशुल्क उपचार सेवा शुरु गर्नका लागि समेत करोड १० लाख बजेट विनियोजन गरिएको छ। आश्रित नागरिक साथै द्धन्द प्रभावित, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि रु. २ करोड २० लाख बजेट विनियोजन गरिएको छ।
कोशीको स्वास्थ्य बजेट
- मेची प्रादेशिक अस्पताललाई उत्कृष्ट सेवा केन्द्र (Center of Excellence) को रुपमा विकास गर्नुका साथै प्रदेश मातहतका पाँचथर, धनकुटा, उदयपुर, संखुवासभा, खोटाङ्ग जिल्ला अस्पतालबाट गुणस्तरिय ICU/NICU सहितको सेवा प्रवाह गर्न रु. ६० करोड ५५ लाख बजेट विनियोजन गरेकोछु ।
- प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा बिकास गर्नका साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन तथा विस्तार, स्वस्थ जीवनशैली, आहार विहार, योग, ध्यान तथा व्यायाम प्रवर्द्धन गर्नका लागि रु.१८ करोड ५० लाख बजेटको व्यवस्थापन गरेकोछु । प्रदेश मातहतका तोकिएका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत होमीयोप्याथि सहितको एकिकृत स्वास्थ्य सेवालाई निरन्तरता दिएको छु । औषधीय प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न संघ सरकारसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ । प्रदेश मातहतका सबै अस्पतालबाट बिशेषज्ञ सेवा सुनिश्चितताका लागि स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्था गरेकोछु । सो को लागि कुल रु. ६ करोड ८४ लाख बजेट विनियोजन गरेकोछु । साथै नसर्ने तथा मानसिक रोगको रोकथाम एवं स्वास्थ्य प्रबर्द्धनको लागि विशेष व्यबस्था गरेको छु।
- सुनसरी, उदयपुर, धनकुटा र संखुवासभा जिल्लामा प्रजनन स्वास्थ्य सम्बन्धि आङ्ग खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निःसन्तान सम्बन्धी समस्यालाई प्रदेशका आधारभुत स्वास्थ्य इकाईहरुबाट समेत नियमित स्क्रिनिङ्ग तथा उपचारका लागी आवश्यक विनियोजन गरेकोछु । साथै जिल्ला अस्पताल उदयपुर, धनकुटा, संखुवासभा एवं प्रादेशिक अस्पताल भद्रपुरबाट निःसन्तान दम्पतिका लागि निःशुल्क उपचार सेवा शुरु गर्नका लागि रु.१ करोड १० लाख बजेट विनियोजन गरेकोछु । प्रदेश मातहतका अस्पतालबाट गर्भवती परिक्षणका साथै १० वर्षमुनिका लक्षित वर्गका बालबालिकाहरुलाई निःशुल्क उपचारका लागि रु.४ करोड २९ लाख विनियोजन गरेकोछु ।
- वृद्धवृद्धा तथा असहायसँग स्वास्थ्य कार्यक्रम अन्तर्गत वृद्दाश्रम, मठमन्दिर, धर्मशाला, मानवसेवा आश्रम आदिमा निरन्तर आश्रित नागरिक साथै द्धन्द प्रभावित, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि रु. २ करोड २० लाख बजेट विनियोजन गरेकोछु ।
- प्रदेश तहमा विद्युतीय स्वास्थ्य सुचना प्रणाली तथा स्वास्थ्य सेवा प्रवाहमा सुशासनको प्रत्याभुतिका लागि नागरिक स्वास्थ्य सूचना सहायता प्रणाली एवं प्रादेशिक प्रेषण केन्द्र सञ्चालन गर्न रु.२ करोड ५० लाख विनियोजन गरेकोछु ।
- जनस्वास्थ्य प्रयोगशालाबाट एचआइभी, क्यान्सर, थालसेमिया, हेमोफिलिया, सिक्कल सेल एनेमिया भएका व्यक्तिहरु, जेष्ठ नागरिक, अपाङ्गता, सिमान्तकृत, अति विपन्न तथा द्वन्द प्रभावित लगायत हिंसामा परेका नागरिकहरुको प्रयोगशाला परिक्षणमा ९०% छुटको व्यबस्थापन गरिनेछ। गुणस्तरिय प्रयोगशाला सेवाका लागि कुल रु.५ करोड ४६ लाख विनियोजन गरेकोछु ।
- प्रदेशभित्रका नागरिकलाई गुणस्तरिय, सर्वसुलभ तथा अत्याधुनिक प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्न मातहतका अस्पतालहरु साथै स्थानिय तहका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक औजार उपकरण तथा औषधी व्यवस्थापनका लागि रु.२६ करोड ७० लाख विनियोजन गरेकोछु।
- प्रदेशभित्रका लक्षित समुहका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँचपुर्याउन घुम्ती बस मार्फत आयुर्वेद तथा होमीयोप्याथी सेवा सहितको विशेषज्ञ सेवा सञ्चालन तथा व्यवस्थापनका लागि रु.२ करोड ८० लाख विनियोजन गरेकोछु ।
- उद्योगधन्दा, कलकारखाना लगायत कार्यस्थलमा हुनसक्ने स्वास्थ्य जोखिम न्युनिकरणका लागि जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गरिनेछ साथै महामारी रोकथाम नियन्त्रण, आपतकालिन स्वास्थ्य व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्य योजना, सर्भिलेन्स प्रणालीलाई सुदृढ रुपमा कार्यान्वयन गरि Anti-Microbial Resistance न्युनिकरणका लागि रु.७ करोड बजेटको व्यवस्था गरेकोछु ।
- प्रदेश तथा स्थानिय सरकारको स्वास्थ्य अधिकारको सुचीभित्र रहेका स्वास्थ्य सेवामा प्रत्येक नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार विकास तथा सुदृढिकरणका लागि रु.२५ करोड वित्तिय हस्तान्तरण गरेकोछु ।
- स्वास्थ्य सेवाको क्षेत्रमा रु. ३ अर्ब ५८ करोड विनियोजन गरेको छु ।