काठमाडौं- बी एण्ड सी कलेजलाई चिकित्सा शिक्षा अध्यापनका लागि सर्वोच्च अदालतले परामादेश दिएको छ। यही आदेश २०७५ साल अघितिर यस्तो आदेश आएको भए शुक्रबार देखिने सम्भावित दृष्य यस्ता हुन्थे:
- माइतिघर जुलुस हुन्थ्यो
- जुलुस आयोजना गर्न 'अभियान्ता'को तँछाड-मछाड हुन्थ्यो
- अदालतबिरुद्ध नारा लाग्थ्यो
तर, पाँच वर्षपछि यो परमादेश आएको छ। उक्त मेडिकल कलेजले सम्बन्धन पाउने कानुनी प्रबन्ध भइसकेको छ। त्यसैले धेरैलाई फैसला सिद्धान्त: उचित लागेको छ। प्रसाईंको गतिविधिलाई मन नपराउनेलाई पनि लागिरहेको छ- न्याय पाए!
बरु आजको दिनमा प्रसाईंले आह्वान गरे भने त्योबेला डा गोविन्द केसीको पछाडि देखिने भन्दा ठूलो भीड जम्मा पार्न सक्छन्। त्यो भन्दा चर्को नारा लाग्न सक्छ।
मेडिकल कलेज चलाउन नपाएपछिको एक दशकमा दुर्गा प्रसाईंको जीवनमा उलटफेर भएको छ। कुनैबेला त्यही भीडका 'मेडिकल माफिया' अहिले 'नागरिक बचाउ महाअभियान'का अभियान्ता करार भएका छन्। कुनैबला उपेक्षाका पात्र उनीसँग अहिले ठूलै 'भीड' छ।
अहिले प्रसाईं सहकारी र लघुवित्त माफियाले चुसेका निमुखा वर्गको 'भरोसा' भएका छन्। किनभने तिनीहरु र सरकारका उच्च पदस्थलाई ठाडै चुनौती दिने (पर्यो भने मुखै छाड्ने, चोकमा फोटो राखेर कालो पोत्ने, भ्रष्टाचारी घोषणा गर्ने) 'हिम्मत' प्रसाईंसँग छ। ती ठगिएका/चुसिएका आम नागरिकको आँशु तीन तहमा पुगेको सरकारले देखेको छैन। महशुस गरेको छैन। उनीहरुलाई पनि यतिबेला सरकारतिर फर्केर मुख छाड्न मन छ, प्रसाईंले जस्तै! उनीहरुसँग हिम्मत छैन। त्यसैले दुर्गाको बोली 'प्रतिनिधि' बनेको छ।
भीडबाट नियन्त्रित प्रणालीका दुई किनार हुन् डा केसी र प्रसाईं। चिकित्सा शिक्षा सुधार अभियानका एउटै सिक्काका दुई पाटा जस्तै बने उनीहरु। आज हेर्दा यस्तो देखिन्छ- त्यही सिक्का टस गर्दा दुर्गा प्रसाईं दृष्यमा परेका छन्।
उता डा केसीसँग अहिले पनि मुद्दा छन् तर मान्छे छैनन्। कहाँ गए मान्छे?
उनीसँग रहेका ती मान्छेमध्ये अधिकांसका आफ्नै 'उद्देश्य' थिए। जतिका ती पूरा भए, उनीहरु सरकार, संसद्, संस्थान, विश्वविद्यालय, अस्पताल वा कतैका कुर्सीमा छन्। कतिका पूरा भएनन्, उनीहरुले अब डा केसीका पछि लागेर केही नहुने थाहा पाइसके।
प्रसाईंका पक्षमा सिक्का पल्टेका बेला डा गोविन्द केसीले केही दिनअघि राज्यले आफूसँग गरेका सहमति कार्यान्वयनको मागसहित अनसन थालेका थिए। कुनैबला उनले अनसन थाल्दा देशमा एक प्रकारको हलचल मचिन्थ्यो। अनसनमा ऐक्यबद्धता जनाउनेहरुको हस्ताक्षर गर्नेहरुका लागि डा सुमन र डा विशदलाई दिनदिनै नयाँ रजिस्टर कपीको व्यवस्था गर्नुपर्थ्यो!
तर, यसपल्ट उनलाई ती अनवरत शुभेच्छुकहरुले 'रेस्क्यु' गर्नुपर्यो । जबर्जस्ती अनसनको अन्त्य गर्न अनुनय गर्नुपर्यो। किनभने,
- उनीसँग भीड थिएन, त्यसैले राज्यमाथि दबाब थिएन। रेस्पोन्स गर्ने सम्भावना थिएन!
- उनका अगाडि क्यामेरका थिएनन्- किनभने डा केसीसँग 'भ्युज' थिएन।
- र, अर्को महत्वपूर्ण कारण छ-
चिकित्सा शिक्षा सुधारको मुद्दा मात्रै हुन्जेल डा केसीको सत्याग्रहमा कसैले शंका गरेनन्। जब उनका मागमा राजनीति घुस्यो। त्यो पनि डा केसी अभियान उत्कर्षमा पुगेका बेला। उनले चिकित्सा शिक्षा सुधारका मागमा थपे- ‘द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गरियोस्।'
त्यसपछि भने मान्छेहरुलाई लाग्न थाल्यो- कसैले डा केसीलाई आफ्नो मुद्दाभित्र पसायो।
त्योबेला डा केसीकै शुभेच्छुक रहेका दुईजनाको टिप्पणी यस्तो थियो :
खगेन्द्र संग्रौलाको ट्विट थियो- ‘डा केसीका मागमा चिकित्सा शिक्षाभन्दा बाहिरका माग कसले, कुन अभिप्रायले किन, घुसाएका होलान्?शासक दलका चतुरहरू तिनै मागको अत्तो थाप्दै केसीको सत्याग्रहलाई उपेक्षा गरी मेडिकल माफियालाई पोस्नतिर लागे त लौ। यी फाल्टु माग झिकेर यिनका मुखमा बुजो लाउन सकिन्न मान्यवर?’
पूर्वप्रधामनन्त्री बाबुराम भट्टराईले लेखे, ‘डा केसीले उठाएका स्वास्थ्य-शिक्षा सम्बन्धी माग र उहाँको जीवनरक्षावारे सधैं साथ दिँदैआएका हामीजस्ता धेरै मानिसलाई यसपटक त्यहाँ रहस्यमय ढंगले घुसाइएका असान्दर्भिक मागले धर्मसंकटमा पारेको छ है! मिठो तरकारीमा अलिकति गोबर मिसाइदिएपछि त्यसलाई खाने कि नखाने?’
तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको टिप्पणी थियो, ‘डाक्टर केसी अहिले पनि अनसनमा हुनुहुन्छ। उहाँका वक्तव्यहरू सबै उहाँले नै तयार गर्न सक्नुहुन्छ जस्तो लाग्दैन। जे/जस्ता भाषाहरू प्रयोग भैरहेका छन्। त्यसले समझदारी बनाउँदैन। बरु, द्वन्द्व चर्काउने काम गर्छ।’
डा केसीको मागमा खोट थिएन। तर, शंका भने उत्पन्न भयो- त्यो उनकै दिमागको उपज थियो कि थिएन? डा केसीका मागमा जति त्यसले निरन्तरता पायो, त्यति-त्यति एउटा वर्ग टाढिदै गयो। आफ्नै ज्यानमाथि ज्यादति गरेर जनताका लागि लडेका डा केसीको आवाज मधुर बनाउन यो मुद्दाले पनि भूमिका खेलेको छ।
चिकित्सा शिक्षा अभियानको उनको अनवरत यात्रामा अहिले उनको आवाज मधुर सुनिएला। तर, योगदान इतिहासले स्मरण गर्नेछ। उनकै मागका आधारमा नेपालमा चिकित्सा शिक्षा पढ्ने र पढाउने प्रणाली व्यवस्थित भएको छ। निश्चित वर्गको हातमा रहेको चिकित्सा शिक्षा आमजनको पहुँचमा पुगेको छ।
र, प्रसाईंको मेडिकल कलेजसँग डा केसीको प्रत्यक्ष लडाइँ थिएन। चिकित्सा शिक्षामा रहेको वेथिति सुधारको त्यो अभियानको घानमा प्रसाईंको मेडिकल कलेज पनि पर्योग। २०६८ माघ २४ गते मेडिकल कलेजका लागि आसयपत्र लिएर बीएन्डसी मेडिकल कलेजले एमबीबीएसका लागि भौतिक संरचना तीव्र रुपमा बनाइरहेको थियो। यही समय नेपालमा चिकित्सा शिक्षामा मनोमानी भइरहेको भन्दै थिति बसाउनका लागि डा गोविन्द केसीले आन्दोलन तीव्र पारे। पटक-पटक अनशन बसे।
सरकारले २०७५ सालमा काठमाडौं उपत्यका भित्र १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन नदिने सहित एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन गर्न नपाउने सहमति डा केसीसँग गर्योह। उक्त सहमति कानुन संशोधन गरेर कार्यान्वयनमा ल्याइयो। अन्य मापदण्ड पूरा गरे पनि यही एक मेडिकल कलेजले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने प्रावधानका कारण बीएन्डसीले सम्बन्धन पाएन। त्यसपछि भने प्रसाईंको सिधा निशानामा डा केसी परे। उनीहरु आमने-सामने भए।
त्यसपछि प्रसाईं राजनीतिमा आए। तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनले 'प्रभावित' पारे। 'मार्सी भातवाला' सम्बन्धका कारण चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ मा विशेष व्यवस्था गरिदिए। नेकपा सरकारकै पालामा २०७७ फागुन १२ गते काठमाडौं युनिभर्सिटीको सिनेट बैठकले बीएन्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
तर, निर्णय कार्यान्वयन हुन भने सकेन। उनलाई यस्तो सम्बोधन पाउन यत्रो समय लाग्नुको कारण डा केसीको खबरदारी नै थियो। उपत्यका बाहिर भएको उनको कलेजले सम्बन्धन पाउनुपर्ने भएपनि काठमाडौं युनिभर्सिटीले व्यवस्थापन गर्न सक्ने भन्दा धेरै संख्या पुग्ने अभियानको 'स्प्रिट' हो।
दृष्यमा कानुनले त्यो स्प्रिटलाई जितेको छ। दुर्गा प्रसाईंले जितेका छन्।
पार्श्वमा डा केसीले जितेका छन्। उनको अभियानले जितेको छ। किनभने, 'पैसाले सवथोक गर्न सकिन्छ' भन्ने प्रसाईंको अभिमानले हारेको छ।
आमजनको मुद्दा उठाएर उनले थालेको 'अभियान'ले उनलाई राहत मिलेको छ। यदि प्रसाईंले त्यो महशुस गरेर मेडिकल कलेज चलाए भने राज्यका लागि पनि हानी छैन। मेडिकल कलेजलाई 'पैसा छाप्ने मेसिन' बनाउने प्रसाईंहरुको सोचमा रुपान्तरण ल्याउनु डा केसीहरुको सानो जित होइन!