बच्चाहरूमा हुने खुट्टाको दुखाइ बारे जानकारी राखिरहनु जरुरी हुन्छ। किनभने यो हुर्किने क्रमको हुने सामान्य पीडा (ग्रोइङ पेन) वा अत्याधिक खेलकुदबाट हुने दुखाइ मात्र नभइ कुनै गम्भीर रोगबाट हुने समस्या पनि हुन सक्छ।
'हुर्किने क्रमको पीडा' शब्द लगभग एक शताब्दी पहिले बच्चाहरुमा हुने दुबै खुट्टाहरूको दुखाइको वर्णन गर्न बनाइएको थियो। हुर्किने क्रमको पीडा बालबालिकामा हड्डी र मासुको दुखाइको सबैभन्दा प्रमुख कारण हो र ५० प्रतिशतसम्म बालबालिकाले यसको अनुभव गरेका हुन्छन्।
यस्ता दुखाइलाई हुर्किने क्रमको पीडा हुन्। यस्ता दुखाइले बच्चाको वृद्धि विकासमा असर निम्त्याउँदैन। नामले हुर्किने क्रमको पीडा भनेपनि पीडा तीव्र वृद्धि भइरहेको समयमा मात्र देखा पर्दैन। यद्यपि यी पीडाहरू हानिकारक हुँदैनन् र वृद्धि विकासको क्रममा हुने एक प्राकृतिक प्रक्रिया मात्र हो। तर कहिलेबाहिँ यस्ता पीडाले समस्या दिन सक्छ। किनभने यसले बच्चाहरुलाई मध्यरातमा ब्युझाएर निन्द्रा बिगार्न सक्छ र भोलिपल्ट दिउसो निद्रा लाग्ने हुने सक्छ। जसले गर्दा उनीहरुले दिनभर केही कुरामा पनि ध्यान केन्द्रित गर्न सक्दैनन्। तसर्थ, च्चालाई दुखाइको व्यवस्थापन गर्न र शान्त निद्रा लगाउन तत्काल उपचारका कदमहरू अपनाउन आवश्यक छ।
लक्षणहरु
हुर्किने क्रमको पीडाको सबैभन्दा प्रमुख लक्षण खुट्टाको मांसपेशीको दुखाइ हो। यसले दुवै खुट्टा दुखाउने गर्छ र प्राय दुखाई खुट्टाको अगाडी भाग र पिडौला, घुँडाको पछाडि वा तिघ्राको अगाडिको भागमा हुन्छ। यो दुखाई कसैले पिट्दै गरेको जस्ता वा क्र्याम्प स्वभावको हुन्छ। यो दुखाइ करिब २ देखि १४ वर्ष उमेरका सक्रिय बच्चाहरूमा र अलि बढी बालिकामा हुने गर्छ। प्राय यो दुखाइ अबेर दिउँसो वा साँझ र रातमा हुने गर्छ। कहिलेकाहिँ दुखाइ यति धेरै हुन सक्छ कि बच्चा मध्यरातमा ब्युझिन सक्छ। तर बिहान हुँदा भने दुख्दैन र बच्चाले दुखाइ नभएको समयमा पूर्णरुपमा सामान्य गतिविधिहरु सुरु गर्दछ।
केही बच्चाहरूले दुखाइको बेलामा टाउको दुख्ने वा पेट दुख्ने अनुभव गर्न सक्छन्। कसैलाई हातको मांसपेशीलाई पनि पीडा दिन सक्छ।
यो दुखाइ केही मिनेटदेखि घन्टौंसम्म पनि रहन सक्छ। दुख्ने क्रम हप्ता वा महिनामा फरक हुन सक्छ। दुखाइ केही महिना वा वर्षौंसम्म आउने र जाने हुन सक्छ भने बन्दचाहिँ बच्चा हुर्कि सकेपछि हुन्छ। हुर्किने क्रमको पीडाको प्रकार र तीव्रता एकदेखि अर्को बच्चामा भिन्न हुनसक्छ। केही बच्चाहरूले दैनिक दुखाइ अनुभव गर्छन् भने अरूले नगर्न सक्छन्। साथै कसै-कसैले धेरै पीडा अनुभव गर्छन् भने केहीले सामान्य पीडा मात्र अनुभव गर्न सक्छन।
यस्तो बच्चाहरुको जाँच गर्दा खुट्टा सामान्य हुन्छ। दुखाइको बेलामा मांसपेशीहरू छाम्दा सामान्य दुख्न सक्छ तर मालिस गर्दा बिरामीलाई आराम हुन्छ। खुट्टाहरु सुन्निने, तातो हुने, छाला रातो हुने, मांसपेशी सुक्ने, जोर्नी संकुचन हुने र लडखडाएर हिँड्ने हुँदैन।
कारणहरू
हुर्किने क्रमको पीडाको खास कारण अज्ञात नै छ। यद्यपि, विज्ञहरूका अनुसार सम्भावित कारण भने अत्यधिक शारीरिक क्रियाकलाप, भिटामिनको कमि, रक्त संचालनको अपर्याप्तता र मनोवैज्ञानिक समस्याहरुले हुन सक्ने टहर छ।
मांसपेशी-हड्डीको थकान : सामान्य भन्दा बढी शारीरिक गतिविधिमा संलग्न हुँदा केही बच्चाहरूमा मांसपेशी दुखाइ हुन सक्छ तर यो हरेक बच्चामा लागु हुँदैन । केही बच्चाहरूले स्कुलमा वा खेल्ने समयमा धेरै शारीरिक गतिविधिहरुमा संलग्न भए पीडा अनुभब गर्न सक्छन् भने कहिँ बच्चाहरुले कुनै पनि पीडा अनुभव नगर्न सक्छन्। धेरै दौडने, चढ्ने र उफ्रिने जस्ता गतिविधिहरूको अत्यधिक प्रयोगहरुलाई भने मुख्य जोखिम कारक मानिन्छ।
खराब आसन: उभिँदा, बस्दा, र हिँड्दा उचित आसन कायम गर्नु आवश्यक छ। यदि बच्चाले सो आसन कायम गरेन भने यसले शरीरको जैव यांत्रिकी बिगारी दुखाइ दिन्छ।
भिटामिन-डी को कमी: भिटामिन-डी हड्डी र मांसपेशीको बिकाश गर्न र मजबुत बनाउन चाहिने एक आवश्यक पोषक तत्व हो। यदि बच्चामा भिटामिन- डीको स्तर कम छ भने, तिनीहरूको हड्डी कमजोर हुन सक्छ, जसले दुखाइ निम्त्याउँछ।
भावनात्मक समस्याहरू : केही बच्चाहरूले चिन्ता र तनावको कारण दुखाइ र पीडा महसुस गर्न सक्छन्। तर, तनाव भएका सबै बालबालिकालाई भने दुखाइ हुँदैन।
केही विज्ञले दुखाइ कम सहन सक्ने क्षमता भएका बालबालिकासँग यो समस्या जोडिएको ठान्दछन् भने कसैले यो वयस्कहरुमा हुने फाइब्रोमायल्जिया जस्तै बिराम रहेको ठान्दछन्।
निदान
बच्चाहरूमा हुर्किने क्रमको पीडा पत्ता लागुउने कुनै विशेष परीक्षणहरू छैन। सामान्यतया बच्चाको लक्षण, दुखाईको प्रवृति र शारीरिक परीक्षणले यो पीडा पत्ता लागाउन मद्दत गर्छ।
सम्भावित रोगहरुको सबै जाँच गरी कुनैपनि रोग नदेखिएमा यो हुर्किने क्रमको पीडा हो। तसर्थ अन्य सबै सम्भावित रोगहरु पत्ता लगाउन परीक्षणहरू जस्तै एक्स-रे / एमआरआई वा रक्त परीक्षणहरू जस्तै - कम्पिलिट ब्लड काउन्ट विथ पेरिफेरल ब्लड स्मेयर, सी-रियाक्टिमा प्रोटिन, इराइथ्रोसाइट सेडिमेन्टेसन रेट, क्याल्सियम, फसफरोस, अल्कालाइन फस्फेटज र भीटिम डी आदि गरिन्छ।
अन्य सम्भावित रोगहरु
बालबालिकामा खुट्टा दुख्ने अन्य सामान्य कारणहरू जस्तै एपोफाइसाइटिक, अस्टेओकोन्ड्राक्इटिस, ओएस ट्रिगनम सिन्ड्रोम र एभुल्जन फ्र्याक्चर हुन सक्छन्। गम्भीर प्रकारका समस्या जस्तै अस्टेओमाइलायलाइटिस, भाइरल इन्फेक्सन, मस्कुलोस्केलेटल ट्यमुर, सिकलसेल डिजिज, क्यान्सर, रिकेट्स, इन्फ्लामेटरी आर्थराइटिस, स्लिप्ड क्यापिटल फिमोरल इपिफाइसिस, ब्लन्ट्स डिजिर र पर्थ्स डिजिज हुन सक्छन्।
उपचार
हुर्किने क्रमको पीडाको कारण अज्ञात भएकोले, उपचारको उद्देश्य बच्चालाई दुखाइमुक्त बनाउन मात्र हो र उपचार व्यक्ति व्यक्ति अनुसार फरक हुने गर्छ।आमाबाबुलाई यस समस्याको शिक्षा दिनु उपचारको मुख्य आधार हो।
घरेलु उपचारमा - सुत्ने बेलामा मालिस गर्ने, तातो प्याड वा चिसो आइस प्याकले सेक्ने र सुत्नुअघि तातो पानीले नुहाउने । शारीरिक गतिविधिहरूको बीच आराम लिने र जुत्ता लगाउने।
केही बच्चाहरूलाई राती अत्यधिक पीडा हुनका साथ निदाउन कठिनाई हुन सक्छ त्यस्तो भएमा प्यारासिटामोल सेवन गर्न दिने।
कतिपय बालबालिकामा दीर्घकालीन दुखाइले मानसिक शान्तिमा समस्या सिर्जना गरी व्यवहार सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले तिनीहरूलाई सकारात्मक पीडाको सामना गर्न सिकाउन जरुरी हुन्छ। जस्तै गहिरो सास फेर्न, निर्देशित कल्पना गर्ने।
चिकित्सक परामर्श कहिले लिने:
१. एउटा खुट्टा मात्र दुखेमा
२. दुखाइ राती सुरु भइ अर्को दिन बिहानसम्म पनि जारी रहेमा
३. दुखाइ गम्भीर भइ बच्चाको सामान्य गतिविधिहरूमा हस्तक्षेप भएमा
४. दुखाइ जोर्नीहरूमा वा निरन्तर एउटै स्थानमा अवस्थित भएमा
५. दुखाइसँग अरु लक्षणहरू जस्तै बिहान जोर्नी कडापन हुनु, सुन्निनु, रातोपन हुनु, ज्वरो आउनु, लडखडाएर हिँड्नु, छालामा दाग देखिनु, भोक लाग्ने, कमजोरी वा थकान हुनु आदि।
हुर्किने क्रमको पीडा : दुवै खुट्टाको अगाडी, पिडौला, घुँडाको पछाडि वा तिघ्रामा अबेर दिउँसो, साँझ वा मध्यरातमा भई ब्युझिन सक्छ तर बिहान भने दुख्दैन।
यो पीडा विकासको क्रममा हुने एक प्राकृतिक प्रक्रिया मात्र हो तर यो दुखाइ अरु दुखाबाट छुट्याउन जरुरी छ।
(बाल हाड जोर्नी शल्य चिकित्सक डा ओड कान्ति बाल अस्पतालमा कार्यरत छन्)
[email protected]