लगानीका फ्याक्चरहरुमा
साहसको प्लास्टर गरेर,
जिन्दगीका तुहाईहरुमा
आशाको नयाँ बीज छरेर
बेचैनिलाई शितलता,
असहायको सहारा !
कसैको स्वस्थताको निम्ति
हरपलको भरोषा बनेकी छन्|
आशाका श्रावहरुमा,
जीवनको प्रतिबिम्ब देखाएर,
दर्दका बाछिटा छेक्न
ओत लाग्ने मझेरी जस्तै
असहजता र अनिश्चितताको
भद्रगोलबाट उम्काएर
जीवन उत्सवको ढोका
उघार्ने कला छ, सीप छ |
त्यहाँ हल्लाहरु नरम छन, मिजास छन
पिडा, वियोग र अप्ठ्याराका अनगिन्ति
करुणक्रन्दन छन
निराशाको बिशाल छायालाई छिचोल्न
भयको दियोमा आशाको तेल थपेर
संकल्पको बाती बलिरहन्छ |
एन्टीसेप्टिकको गन्धलाइ पनि सुगन्ध सम्झेर
भेन्टिलेटरको एकोहोरो आवाजमा मिठो संगीत,
धागो जस्तै बनेर चुडिन लागेको मुटुको चालमा
जीवन्त उतारचढाव थपेर
जीवन र भाग्यको सुन्दर सेतु बनिदिन्छिन उनि
व्यग्रताको बीच अनुहारमा कान्ति
कोलाहल बीच पनि मनको शान्ति,
भन, कुन मन्दिरमा प्रतिध्वनित हुन्छ अन्त !
भन, कुन उत्सवमा प्रतिबिम्बित हुन्छ अन्त !
हर इन्जाइमका जर्किनहरुले,
औषधिका पाता र झोलहरुले
संगै लिएर आएका हुन्छन
उपयोगको अन्तिम मिति “एक्सपायर डेट”
तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आवेग, आक्रोश र आगजनी नगरी
मेरो देशले अधिकार दिदैन
र देख्दैन नर्सको निरन्तरको
आर्थिक, मानसिक र सामाजिक लागानी
अनि जिस्काइरहेको छ तिनको मौनतालाई
आफ्नो सानो सपना पूरा गर्न ,
जादै छन सपनाका ठूला-ठूला देशहरुमा
त्यसैले त विमानस्थल हरेक दिन रोइरहेको छ|
तर मेरो देशको सरकार रमिते छ |
--(सीमा कुँवर पब्लिक हेल्थ नर्स हुन्)