काठमाडौं- गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त भएकी छिन्। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएपछि मन्त्री परिषद् विस्तार गर्ने क्रममा सोमबार सुन्दासलाई उक्त जिम्मेवारी दिएका हुन्।
सुन्दास देशैभरिबाट प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद हुन्। नेकपा एमालेकी उम्मेदवार सुन्दास स्याङ्जा- १ को 'क' बाट निर्वाचित भएकी हुन्।उनले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा उनकी मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २ सय ६६ मत ल्याइन्। सुन्दासले १ हजार ४ सय २४ मतान्तरले जित निकालेकी हुन्। उनी पाँचदलीय गठबन्धनलाई पन्छाउँदै संसद्को यात्रा तय गर्न सफल भइन्। उनी बाहेक देशभरिबाटै प्रत्यक्ष निर्वाचन जित्ने दलित महिला छैनन्।
लाहुरे परिवारमा जन्मेर राजनीति
सीताकुमारी सुन्दासको जन्म २०२४ सालमा भएको हो। साविकको ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका- ७ को ठुलाडिही स्थायी घर भएकी सुन्दासको बाल्यकाल गाउँमै बित्यो। उनका बुबा गुमानसिंह सुन्दास भारतीय सेनाका जागिरे थिए। आमा चित्रकुमारी सुन्दास खेती-किसानी गर्थिन्।
बुबा-आमा लेखपढ गर्न जान्ने भएकाले उनलाई आमाले घरमै कखरा सिकाइन्। त्यो बेलाका समाजमा छोरीलाई विद्यालय पठाउने चलन थिएन। अझ दलित समुदायका छोरीले त पढ्न पाउने अवस्थै थिएन। पढेलेखेकै परिवारमा जन्मे-हुर्केको हुनाले सुन्दासले सजिलै अध्ययन गर्न पाइन्। आफ्नो राजनीतिक र सामाजिक जीवनको प्रेरणाको स्रोत आमालाई मान्छिन् सुन्दास। हालसालै उनकी आमाको निधन भइसकेको छ।
सुन्दासले गाउँमा रहेको श्री जनता माविमा १० कक्षासम्म पढिन्। २०४५ सालमा एसएलसी दिएर थप अध्ययनको लागि स्याङ्जा झरिन्। उनले समाजशास्त्र लिएर त्रिभुवन आदर्श क्याम्पसबाट स्नातक पूरा गरिन्। स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसबाट गरेकी हुन्।
सुन्दासका आमा र दाइ एमालेका संगठित सदस्य थिए। जसको प्रेरणाले उनले राजनीतिक यात्रा तय गरिन्। भूमिगतकालमा उनी प्रहरीको निसानामा थिइन्। आमाले लुकी-लुकी उनलाई विभिन्न कार्यक्रममा लिएर जान्थिन्।
२०४५ सालमा उनकी आमालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यतिबेला प्रहरीले धडपकड पनि गरेको थियो। विस्तारै उनी समाजमा रहेका सबै प्रकारका विभेदको विरुद्धमा बोल्न थालिन्। आमाले विद्रोहमा साथ दिइन्। त्यसबाट उनलाई थप प्रेरणा मिल्यो।
देशमा बहुदलका नारा घन्किन थालेका थिए। त्यतिबेला सुन्दास राजनीतिक रुपमा सचेत भसकेकी थिइन्। उनी पनि देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनमा होमिइन्।
विद्यार्थी राजनीति
जीवनको अधिकांश समय पार्टीमै व्यतित गरेकी सुन्दासले राजनीतिक यात्रा २०३८/०३९ सालतिर सात कक्षामा पढ्दादेखि नै तत्कालीन मालेबाट सुरु गरेकी हुन्। विद्यार्थी समयमा अनेरास्ववियुको (एकताको पाँचौ) मा सम्पर्क प्रारम्भिक इलाका सदस्यको भूमिकामा काम गरिन्। त्यसपछि उनले अखिल महिला संघको रहेर काम गरिन्।
समाजमा तीन प्रकारका विभेद भोगिन् उनले। वर्गका आधारमा, जातका आधारमा र लिङ्गका आधारमा। जातीय छुवाछुतले समाज आक्रान्त थियो। जातीय छुवाछुत र वर्गीय विभेद कसरी अन्त्य होला भन्ने प्रश्नले उनको मनमा जरा गाडेको थियो।
जातकै कारण उनले अपमान भोगिन्। उनको घर गैरदलितको नजिक थियो। विद्यार्थी जीवनमा सबै समुदायका व्यक्तिहरु उनका साथी थिए। तर कहिल्यै साथीको घरमा जान पाइनन्। गए पनि बाहिरै खानुपर्थ्यो। खाएको भाँडा अलग्गै धोएर राख्नुपर्थ्यो। दलित महिला भएकै कारण अपमानजनक शब्द प्रयोग हुन्थ्यो। यी र यस्तै अपमानको अन्त्य गर्न हतियारका रुपमा राजनीतिबाट विद्रोह गर्न तयार भइन् सुन्दास।
‘उसो त आज पनि जातीय छुवाछुत उस्तै छ’, उनले भनिन्। उनको पालामा छोरी र छोराबीच निकै विभेद थियो। छोरीलाई मेलापात पठाइन्थ्यो भने छोरालाई विद्यालय। त्यही विभेद चिर्न राजनीति रोजेको उनी बताउँछिन्। हाल नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी उनी स्याङ्जा जिल्ला ईन्चार्ज समेत हुन्। त्यस्तै गण्डकी प्रदेशको सचिवको भूमिकामा पनि छिन्।
जिल्ला समन्वय प्रमुख हुँदै प्रदेश सांसदसम्म
नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनको भूमिका अग्रस्थानमा छ। विद्यार्थी राजनीतिबाट उदाएकी उनी राजनीतिक आन्दोलनसँगै समाजमा पछाडि पर्दै आएको दलित समुदायको हकहितमा लड्दैँ आएकी छन्। उनले जिल्ला शान्ति समितिको प्रमुख जस्तो जिम्मेवारी सम्हालिसकेकी छिन्।
२०७४ सालको स्थानीय तह निर्वाचनपछि सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख बनेर काम गरिन्। उनी जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्षको भूमिकामा पनि रहिन्। त्यसैले प्रदेश सभाका लागि उनको दावी थियो। उनलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन लडेर अनुमोदित हुन मन थियो। जसको परिणाम स्वरुप उनी अनुमोदित पनि भइन्।
पार्टीको जिल्ला कमिटीबाट सीतालाई उम्मेदवारी किन? भन्ने प्रश्न आएन। तल्लो तहबाट बाएको प्रस्ताव सजिलै पार्टीले स्वीकारेको थियो। राजनीतिमा महिला त्यसमाथि दलितले जित्दैन भन्ने बुझाइ थियो। उनी भन्छिन्, 'दलितले जित्दैन भन्ने भाष्य चिरियो। मलाई कसैले प्रश्न उठाएनन्।’ राजनीतिक अनुभव र त्यागका कारण आफूलाई जनताले विश्वास गरेको उनले बताइन्।
उनको निर्वाचन क्षेत्रमा २९ वडा पर्छन्। निर्वाचन जितिसकेपछि अब विकास निर्माणका अधूरा काम पूरा गर्नु आफ्नो प्राथिमकतामा पर्ने सुन्दासले बताएकी छन्। संविधानले दलितको हक-अधिकाकर सुनिश्चित गर्ने बताएको छ। यसका लागि आवश्यक ऐन-कानुन संघले बनाउँछ। केही प्रदेशले पनि केही बनाउने भएकोले त्यसमा जोड दिने उनको भनाइ छ।
दलितका लागि उच्च शिक्षासम्म नि:शुल्क भनिएको छ। जसका लागि आवश्यक शिक्षा ऐन बनेको छैन। छुवाछुत अन्त्य भने पनि कार्यान्वयन नभएकोले त्यसका लागि पहल गर्ने उनले बताइन्। देशभरिका सुकुम्बासी र भूमिहीन जनताको पक्षमा निरन्तर आवाज उठाइरहने सुन्दासको अठोट छ।