काठमाडौं- खोप उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोरोनाको भ्याक्सिनबाट केही मानिसमा असमान्य साइड इफेक्ट हुन सक्ने स्विकार गरेको छ। अदालतमा उसले पेश गरेको जवाफमा उक्त स्वीकारोक्ति पाइएको बीबीसीले जनाएको छ।
बेलायतमा जेमी स्कट नामका एक व्यक्तिले एस्ट्राजेनेकाको कोभिड भ्याक्सिनका कारण उनको दिमागमा हानी पुगेको दाबी गरेका छन्। उनीलगायत केही मिलेर अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरुले हानीको क्षतिपुर्ति माग गरेका हुन्।
त्यसको जवाफ दिँदै एस्ट्राजेनेकाले अदालतमा कोरोनाको भ्याक्सिनबाट केही मानिसमा असामान्य साइड इफेक्ट हुन सक्ने बताएको हो।
मुद्दा दायर गर्नेहरुले उक्त भ्याक्सिनका कारण आफ्नो निकटस्थ गुमाएको बताएका छन्। धेरै अध्ययनले कोरोनामा एस्ट्राजेनेकालगायत अन्य कम्पनीका भ्याक्सिनले मानिसहरुको ज्यान जोगाएको बताएका छन्।
तर, केहीले सोही कारण ज्यान गुमाउनु परेको बताएका छन्। दुई बच्चाका पिता जेमी स्कटले गत वर्ष नै मुद्दा दायर गरेका थिए। कोरोनाको भ्याक्सिन लिएपछि उनको मस्तिष्कमा रगत जमेको थियो। जसका कारण उनी काम गर्न नसक्ने भएका छन्।
उनले बेलायतको उपभोक्ता सुरक्षा ऐन अन्तर्गत रहेको उक्त मुद्दा दायर गरेका हुन्। उनले एस्ट्राजेनेकाको भ्याक्सिन खराब भएका कारण आफूले गम्भीर स्वास्थ्य समस्या झेलेको उल्लेख गरेका हुन्।
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
टीटीएस/भीआईटीटी सिन्ड्रोममा के हुन्छ ?
एस्ट्राजेनेकाको भ्याक्सिन बेलायतमा दिइएको पहिलो कोभिड भ्याक्सिन थियो। यस मुद्दामा जोडिएका वकिल भन्छन्, 'टीटीएसको थ्रोम्बोसिस विद थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम हुन्छ।'
जब खोप लगाएपछि यस्तो हुन्छ, त्यसलाई भीआईटीटी अर्थात् भ्याक्सिन इन्ड्युस्ड इम्युन थ्रोम्बोसिस विद् थ्रोम्बोसाइटोपेनिया भनिन्छ।
टीटीएस/भीआईटीटी एक असामान्य सिन्ड्रोम रोग हो, जसबाट थ्रोम्बोसिस (रगतको थोपा जम्ने) र थ्रोम्बोसाइटोपेनिया (प्लेटलेट घट्ने) एक साथ हुन जान्छ।