कर्णाली– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ। सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने छ।
सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो। अमेरिकाको प्रतिष्ठित संस्थासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न लागेको यो सम्मेलन ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन' हो।
सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले जानकारी दिए। उनका अनुसार कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरिएको हो।
डा पौडेलका अनुसार उक्त सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन्।
स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि सम्मेलनमा सहभागिता रहनेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।
उनका अनुसार हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी समेत हुनेछ।
प्रतिष्ठानका जनरल प्राक्टिक्स एण्ड इमर्जेन्सी विभाग प्रमुख डा तुला गुप्ताले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताए।