काठमाडौं- मेडिकल व्यवसायी खुमा अर्याल नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। कलेजको मेजर शेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन्।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको छ।
अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दिप अग्रवाल रहेका छन्।
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए। 'विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,' उनले भने।
नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल र महेन्द्रनगरमा जग्गा रहेको छ।
अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष हुन् भने युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुन्।
अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाएका छन्। उक्त अस्पताललाई मेडिकल कलेजको रुपमा अगाडि बढाउने उनको लक्ष्य छ।