काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गर्नुका साथै ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण गरेका छन्।
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्यूटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
'आकस्मिक कक्षमा उपचारका लागि आएका ती बिरामीको स्वास्थ्य बिग्रिएपछि आकस्मिक कक्षमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सिपिआर दिएर बचाउने प्रयास गर्नुभएको थियो। तर प्रयास गर्दा गर्दै उहाँको मृत्यु भयो,' आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, 'ती बिरामीलाई ४ बजेतिर ल्याइएको थियो। उपचार प्रक्रिया अगाडि बढेकव थियो। डाक्टरहरुले बचाउने हरसम्भव प्रयास गरेको हो। तर उहाँको साँझ करिब सवा सात बजेतिर मृत्यु भयो। त्यसको केही समयपछि आफन्तहरु भेला भएर डाक्टरमाथि आक्रमण गर्दै तोडफोड गर्न थालेका हुन्।'
ती स्वास्थ्यकर्मीका अनुसार इमर्जेन्सी विभागकी प्रमुख प्राडाविनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका हुन्। डा प्रधानको टाउको, हात र ढाडसमा प्रहार गरिएको थियो।
त्यसपछि आफन्तले अस्पतालको आकस्मिक कक्षको काउन्टर र झ्याल तोडफोड गरेका हुन्। आक्रमणबाट झ्यालका सिसाहरु फुटेका छन्।
आफन्तले उपचारका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आरोप लगाएका छन्।
प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पताल तोडफोड भएको जानकारी आएको र टोली खटिएर अनुसन्धान गरिरहेको जानकारी दिए।