काठमाडौं- नेपालमा केही दिनदेखि लगातार वायु प्रदूषण कायम छ । एअर क्वालिटी इन्डेक्सका अनुसार विशेषगरी काठमाडौं उपत्यका र त्यस वरपरको वायु अस्वस्थ बनेको छ।
काठमाडौं विश्वको खराब वायु भएका देशको तेस्रो नम्बरमा परेको छ। रियलटाइम वायु प्रदूषण जाँच्ने आइक्युएअरका अनुसार भारतको दिल्ली पहिलो र चिनको बेइजिङ दोस्रो नम्बरमा छन्।
वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार स्वास्थ्यमा प्रभाव पार्ने विभिन्न तत्वहरु हावामा मिसियो भने वायु प्रदूषण हुन्छ। प्रदूषित हावामा धूलो धूवाका मसिना कणहरु र विषाक्त ग्याँसहरु मिसिएको हुन्छ।
स्वास्थ्यमा असर
डा ढुंगानका अनुसार वायु प्रदूषणले शरीरका सबै अंगमा असर गर्छ। तर विशेषगरी फोक्सोमा असर गर्छ। हावामा रहेका विषाक्त पदार्थहरु र मसिना कणहरु सिधै फोक्सोमा छिर्न सक्छन्। फोक्सोको माध्यमबाट ती मसिना कणहरु र विषाक्त पदार्थहरु शरीरका अन्य भागमा पनि पुग्छन्।
दीर्घ श्वासप्रश्वास रोग, फोक्सोको क्यान्सर, फोक्सो सम्बन्धी संक्रमणको कारक वायु प्रदूषण हुन सक्छ। वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्याहरु ल्याउने गर्छ।सुरुमा फोक्सोलाई असर गरेपछि रोग प्रतिरोधात्मक क्षमतालाई प्रभाव पार्छ। छाति सम्बन्धी विभिन्न संक्रमण, ब्रोन्काइटिस जस्ता असर तत्कालीन हुन्।
विभिन्न दम रोगहरु, फोक्सोमा क्यान्सरहरु वायु प्रदूषणको दीर्घकालीन असरहरु हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्ममा प्रदूषणका कारण श्वासनली साँघुरिने रोग सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ।
चिकित्सकहरुका अनुसार बालबालिका, बुढाबुढी, गर्भवती, फोक्सो र मुटुका रोगीहरू वायु प्रदूषणबाट बढी प्रभावित हुने गर्दछन् । यस्तै सडक छेउका स्थानीयदेखि, व्यापारी, दिनहुँ आऊजाऊ गर्ने यात्रु तथा बटुवा, सडकमा काम गर्ने मजदुर, ट्राफिक प्रहरी, सवारी चालक तथा सहचालकहरु बढी जोखिममा पर्ने गरेका छन् ।
जोगिने उपाय
बाहिर निस्किनु पर्दा मास्कको प्रयोग सवैभन्दा उत्तम उपाय भएको चिकित्सकहरु बताउँछन्। कोरोना बढेको बेला सवैले मास्क प्रयोग गरेका कारण फोक्सो, छाति सम्बन्धी संक्रमण भएका बिरामी कम रहेको देखिएको थियो।
विशेषगरी सर्जिकल मास्कले पनि वायु प्रदूषणबाट बचाउँछ। कपडाको मास्कले वायु प्रदूषणबाट बचाएपनि विषाक्त ग्याँसबाट भने बचाउँदैन। अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म धेरै वायु प्रदूषण हुने स्थानमा जानुहुँदैन ।
बाहिर जानै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ। धेरै सवारी साधन गुड्ने, धूलो धूवा हुने ठाउँमा मर्निङ वाक गर्नु हुँदैन। विशेषगरी दीर्घ रोगीहरु सचेत हुनुपर्छ। र, समस्या बढ्ने बित्तिकै चिकित्सकलाई भेट्नुपर्छ।