काठमाडौं- नेपालमा मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथीका रुपमा रहेका एक कार्यक्रममा बीच उक्त संस्थानको औपचारिक रुपमा उद्घाटन भएको हो।
साउथ एसिया इन्स्टिच्यूट फर ह्युमन सेक्सुअलिटीबाट सम्बन्धन प्राप्त भएर उक्त संस्था सञ्चालनमा आउन लागेको मानवीय यौनिकता अध्ययन संस्थानका अध्ययक्ष प्राडा सुवोध कुमार पोखरेलले बताए।
सांस्कृतिक रुपमा आम मानिसहरुमा यौन स्वास्थ्य सम्बन्धि आधारभुत चेतना जगाउन, सरोकारवालाहरुसँग सहकार्य गर्दै यौन स्वास्थ्य अधिकार,उमेर उपयुक्त यौन शिक्षा,लैगिंक हिंसा तथा विभेद रहित समाज र स्वस्थ्य संस्थाहरुमा गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको उपलब्धताको लागि पैरवी गर्नका लागि उक्त संस्थाले महत्वपूर्ण भूमिका खेल्ने प्राडा पोखरेलले बताए।
कार्यक्रममा बोल्दै प्रोफेसर तारा पोखरेलले नेपालमा अझै पनि यौन शिक्षा भन्नेबितिकै संकीर्ण रुपमा लिने प्रचलन रहेको बताईन्। उनले यसले संस्थानले नेपालमा सही रुपमा यौन शिक्षाबारे जानकारी दिलाउन सफल हुने समेत विश्वास गरिन्। उनका अनुसार यौन शिक्षाले यौन रोगबारेको जानकारी समेत दिने गर्छ।
नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा श्यामबाबु यादवका अनुसार यौन स्वास्थ्य मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित भएकोले यसबारे जनचेतना आवश्यक छ। साथै यौन रोग लागेपश्चात् उपचारको दायरामा आउने बिरामीहरुको संख्या बढाउनका लागि समेत यस संस्थानले भूमिका खेल्न सक्ने उनले बताए।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालका अनुसार पछिल्लो समय नेपालमा यौन स्वास्थ्य सम्बन्धि चेतना बढ्दै गएपनि पर्याप्त मात्रामा छैन। विशेषगरी किशोरकिशोरीहरुमा यौन स्वास्थ्य सम्बन्धि चेतना बढाउनका लागि मानवीय यौनिकता अध्ययन संस्थानको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो।