विवाह गरेपछिको एक वर्षसम्म पनि परिवार नियोजनका साधन बिना शारीरिक सम्पर्क राख्दा पनि बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भन्ने गरिन्छ। तर ३५ वर्ष भन्दा माथिका महिलाले परिवार नियोजनको साधनको प्रयोग बिना नियमित शारीरिक सम्पर्क गर्दासमेत बच्चा नभएको अवस्थालाई पनि निःसन्तान भनिन्छ।
निःसन्तानको कारण
निःसन्तानको समस्या महिला या पुरुष जसको कारणले पनि हुने गर्छ। यद्यपि अझै पनि महिलाका कारण सन्तान नहुने भन्ने भ्रम कतिपयमा रहेको छ। तर सन्तान नहुनुको दोष सधैं महिलालाई दिनु उचित होइन। सन्तान नहुनुमा महिला तथा पुरुष दुवैको बराबर दोष हुने गर्छ।
पुरुषहरुमा शुक्रकिटको मात्रामा कमी हुँदा, शुक्रकिटमा कुनै प्रकारको समस्या देखिएमा र पुरुषमा हुने अन्य प्रकारका शारीरिक समस्या तथा गडबडीका कारण पनि निःसन्तानको समस्या आउने गरेको छ। महिलाहरुमा पाठेघरको विकास राम्रोसँग नहुँदा, बनावट तथा मुखमा समस्या हुँदा, विभिन्न संक्रमणका कारण, नलीमा समस्या, मासु पलाएमा बच्चा दानीलाई असर पार्ने कारणले निःसन्तानको समस्या हुन सक्छ। अण्डकोषमा आएको समस्याका कारण विकसित अण्डा नबन्दा पनि निःसन्तानको समस्या आउने गर्छ। त्यस्तै अण्डकोषमा स–साना पानीको फोका आउँदा त्यसले सही रुपमा काम गर्न नसक्ने हुन्छ, जसकारण पनि निःसन्तानको समस्या आउन सक्छ। बच्चा बस्नका लागि हाम्रो शरीरमा भएका धेरै प्रकारका हर्माेनहरुले भूमिका खेल्नुपर्ने हुन्छ।
थाइरोइड, प्रोल्याक्टिन, एसएच, एमएच लगायतका हर्माेनको गडबडी हुँदा समेत बच्चा नबस्ने हुन सक्छ। ढिलो विवाह तथा ढिलो सन्तान योजनाका कारण पनि पछिल्लो समय निःसन्तानको समस्या बढेको देखिन्छ। पछिल्लो समय बढ्दो मानसिक तनावका कारण पनि महिला पुरुष दुवैमा निःसन्तानको समस्या बढ्दै गएको छ। अध्ययन अनुसार वैदेशिक रोजगारीका लागि गएका तथा बढी तापक्रममा काम गर्ने पुरुषहरुमा शुक्रकिटको मात्रा घट्दै जानुले पुरुषमा निःसन्तानको समस्या बढ्दै गएको छ।
अण्डसञ्चयको प्रचलन
पछिल्लो समय करिअर फोकस हुँदा ढिलो विवाहको प्रचलन बढ्दो रुपमा रहेको छ। आर्थिक रुपमा आत्मनिर्भर भएपछि मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएको छ। महिलाहरुमा ३५ वर्ष भइसकेपछि डिम्बाशय अण्डहरु कम मात्रामा मात्रै निकाल्ने गर्छ। अण्ड कम उत्पादन हुँदा बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ। जसकारण निःसन्तानको समस्या देखिने गर्छ। त्यसैले करिअर फोकस हुँदा सन्तानबारे सोच्ने समय नहुनाले गर्दाे पछिल्लो समय अण्ड सञ्चय गर्ने प्रचलन पनि बढ्दै गएको छ।
ढिलो बच्चा जन्माउँदा ‘स्मार्ट’ बच्चा जन्मिने सम्भावना कम हुने गर्छ। ढिलोगरी बच्चा जन्माउँदा विकलांग बच्चा जन्मिने खतरा समेत हुन्छ। जसरी उमेर बढदै जाँदा महिलाहरुमा अण्डको गुणस्तरमा कमी आउने गर्छ, त्यसरी नै पुरुषहरुमा पनि कम गुणस्तरको शुक्रकिटको उत्पादन हुने सम्भावना बढ्दै जान्छ।
निःसन्तानको उपचार
निःसन्तानको उपचारका लागि आउने दम्पतीहरुको सुरुवातमा यसको कारण पत्ता लगाइन्छ। जसका लागि हर्माेनको परीक्षण, भिडियो परीक्षण लगायतका परीक्षण आवश्यक पर्छ। महिलाहरुको पाठेघरको नली तथा भित्ताको अवस्था, पाठेघरको बनावट, डिम्बाशयले अण्डाको परीक्षण गर्ने गरिन्छ। एमएच हर्माेनको परीक्षण पश्चात् डिम्बाशयले उत्पादन गरिरहेको अण्डा गुणस्तरीय भए नभएको परीक्षण गरिन्छ। यदि महिलाहरुमा ३५ वर्ष भन्दा कम उमेरमै एमएच हर्माेनको मात्रा कम छ भने त्यस्तो अवस्थामा प्राकृतिक रुपमा गर्भाधारण हुने सम्भावना न्यून हुन्छ। यस्तो अवस्थामा महिलाहरुलाई कृत्रिम गर्भाधारणको आवश्यकता पर्छ।
यदि महिलाको उमेर ४० वर्ष पुगिसकेको अवस्थामा आइभिएफ गर्नुपर्ने सम्भावना बढी रहन्छ। सामान्यतया रगतको परीक्षण पश्चात् महिलामा रहेको एमएच लेभलको परीक्षण गर्ने गरिन्छ।
कुनैपनि महिलाको अण्डाशयले गरेको कामलाई मुल्यांकन गर्नका लागि महिनावारी भएको ४ दिनभित्र एमएच तथा एस्ट्रोजेन हर्माेनको परीक्षण गर्न सकिन्छ।
एमएच लेभल कम हुनुका कारण
एमएच मानव शरीरमा हुने एक प्रकारको हर्माेन हो, जसले शरीरमा अण्डा उत्पादनको क्षमताबारे जानकारी गराउँछ।
प्रत्येक एमएच हर्माेनको मात्रा १० देखि ११ प्रतिशतले कम हुँदै जाने गर्छ। यसलाई बढाउनका लागि कुनै पनि प्रकारको उपचार गर्न सकिदैन। ३५ वर्ष भइसकेपछि यसको मात्रामा कमी हुँदै जान्छ। यसको घट्ने क्रमलाई रोक्न नसकेपनि कम भने गर्न सकिन्छ। यसका लागि मोटोपना हटाउने, स्वस्थ जीवनशैली अपनाउने, अस्वस्थकर खानेकुराको सेवन कम गर्ने गरेमा एमएचको मात्रालाई घट्नमा कम गर्न सकिन्छ। अण्डाकोषको कुनै शल्यक्रिया भएको अवस्थामा एमएच हर्माेनको मात्रा कम हुँदै जान्छ। एमएचको मात्रा कम हुँदा विकलांग बच्चा जन्मने सम्भावना बढी हुन्छ। यदि ३५ वर्ष भन्दा कम उमेरका महिलाहरुमा एमएच हर्माेनको मात्रा १ भन्दा कम छ भने प्राकृतिक रुपमा गर्भ रहने सम्भावना एकदमै कम हुने गर्छ। त्यस्तै ४० वर्ष पुगिसकेका महिलाहरुले सन्तानको चाहना गरेमा कृत्रिम गर्भाधारण गर्नुपर्ने हुन्छ।
निःसन्तानको समस्याबाट कसरी जोगिने ?
छिटो वा ढिलो विवाहका कारण मात्रै निःसन्तानको समस्या आउने होइन। उपयुक्त उमेरमा नै विवाह भएका तर पाठेघर सम्बन्धी समस्या हुनेहरुमा पनि निःसन्तानको समस्या आएको देखिन्छ। धुम्रपान तथा मद्यपान गर्ने बानी हुँदा निःसन्तानको समस्या हुने गर्छ जसकारण यस्तो बानी त्याग्नुपर्ने हुन्छ।
विवाह भएको एक वर्षसम्म पनि परिवार नियोजनका कुनै पनि साधनहरुका प्रयोग नगरेको अवस्थामा समेत बच्चा नभएको अवस्थालाई निःसन्तानको समस्या भनेर मान्न सकिन्छ।
यस्तो अवस्थामा महिला वा पुरुष दुवैलाई उपचारको आवश्यकता पर्न सक्छ। यस्तो अवस्थामा महिलाहरुलाई पाठेघरको अवस्था, प्रजनन् अंगहरुको परीक्षणको आवश्यकता पर्न सक्छ। त्यस्तै पुरुषहरुले पनि वीर्य परीक्षण गर्नु आवश्यक हुन्छ।
चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन। सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।
(लेखक ह्याम्स अस्पतालकी आइभिएफ विशेषज्ञ हुन्)