गर्मीयाम भन्दा जाडोयाममा ब्रेन ह्यामरेजको समस्या बढी हुन्छ। जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्दै जानु, शारीरिक रुपमा सक्रियता कम हुनु ,हाइपरटेन्सन बढ्नु, तनाव बढ्नु जस्ता कारणले ब्रेन ह्यामरेजको समस्या बढी हुने गरेको हो। हाइपरटेन्सन भएका तर औषधिको सेवन नगरेका मानिसहरुमा ब्रेन ह्यामरेज भएर अस्पतालको आकस्मिक कक्षमा आइपुग्ने गरेका छन्।
ब्रेन ह्यामरेज भएकामध्ये ८० देखी ८५ प्रतिशत मानिसहरुलाई उच्च रक्तचापको समस्या हुने गरेको छ।
ब्रेन ह्यामरेजका जोखिम तत्वहरु
–शारीरिक क्रियाकलापमा कमी हुनु।
–चिल्लो खानेकुराको प्रयोग बढी गर्नु।
–सुगर, उच्च रक्तचाप।
–सामाजिक सञ्जालको प्रयोग बढी गर्नु।
–मानसिक तनाव बढ्नु।
–धुम्रपान
–प्रदुषण
बिरामीको ज्यान जाने सम्भावना ५ प्रतिशत
सन् २०१९ मा १ हजार १७ जना ब्रेन ह्यामरेजका बिरामीहरुमा गरिएको अध्ययन अनुसार बिरामीको ज्यान जाने सम्भावना ५ प्रतिशत भन्दा कम रहेको पाइएको छ।
बिरामी चेतना नआउने तथा प्यारालासिस हुने सम्भावनाबारे भने तत्कालै भन्न सक्ने अवस्था हुँदैन।
कतिपय बिरामीहरुमा लामो समयपश्चात् मात्रै सुधार भएका घटनााहरु पनि धेरै छन्।
मेरो अनुभवमा करिब ७ –८ प्रतिशत बिरामीहरु मात्रै ब्रेन ह्यामरेजका कारण अशक्त अवस्थामा पुगेका छन्। ब्रेन ह्यामरेज भएका करिब ६० प्रतिशत बिरामीहरुमा कुनै कुनै सामान्य खालका समस्या भने रहिनै रहन्छ। जस्तै हातगोडा झमझमाउने, पहिला जस्तै सक्रिय नहुने।
ब्रेन ह्यामरेज पूर्व–देखिने लक्षणहरु
हात गोडा नचल्नु।
बोली रोकिनु।
मुख बांगिनु।
अचेत हुने।
यदि हुने मानिसमा चेतना हराउँदै गएको अवस्थामा तुरुन्तै अस्पताल आउनु पर्ने हुन्छ।
ब्रेन ह्यामरेज मुख्यतया दुई कारणले हुने गर्छ –
–रगतको नशा बन्द भएर।
–रगतको नशा च्यातिएर हुने।
उच्च रक्तचाप भएका बिरामीमा थप जटिलता
बिरामीको दिमाखमा परेको असरका आधारमा अस्पताल लगेपछि बिरामीको निको हुने समय निर्धारण गर्न सकिन्छ।
यदि रक्तस्राव थोरै मात्र भएको छ भने केही ढिलो अस्पताल पुग्दासमेत बिरामी निको हुने सम्भावना रहन्छ।
उच्च रक्तचाप भएका बिरामीहरुलाई ब्रेन ह्यामरेज हुँदा त्यसले उपचारमा जटिलता बढाउँछ। यस्ता बिरामीहरुलाई तुरुन्तै न्यूरो विशेषज्ञ तथा सिटिस्क्यान, एमआरआईको सुविधा भएको अस्पतालमा लैजानुपर्छ। अस्पताल लगेपश्चात् चिकित्सकले ब्रेन ह्यामरेजको प्रकृति अनुसार उपचार प्रक्रिया सुरु गर्छन्।
यदि रक्त सञ्चार रोकिएर ब्रेन ह्यामरेज भएको हो भने ४ घन्टा भित्र अस्पताल लैजानुपर्ने हुन्छ। यस्तो अवस्थामा नशामार्फत् औषधि दिएर रक्त सञ्चार प्रक्रियालाई खुलाउन सकिन्छ। यस्तो सुविधा न्यूरो रोग विशेषज्ञ भएको अस्पतालमा मात्रै पाइन्छ। यदि १२ घन्टामा अस्पताल आइपुगेको अवस्थामा नशामार्फत् औषधि दिएर रक्त सञ्चार खुलाउन सकिदैंन। यस्तो अवस्थामा तार छिराएर बन्द भएको रक्त सञ्चारलाई खुलाइन्छ। यस्तो उपचार क्याथल्याबको सुविधा भएका अस्पतालमा मात्रै पाउन सकिन्छ।
ब्रेन ह्यामरेजबाट कसरी बँच्ने ?
–समय समयमा ब्लड प्रेसर मापन गर्ने।
–दैनिक १ घन्टा कसरत गर्ने।
– धुम्रपान आदत त्याग्ने।
– स्वस्थकर खाना खाने।
–सामाजिकरुपमा सक्रिय जीवनशैली अपनाउने।
–तनाव कम गर्ने।
–चिकित्सकको परामर्शमा मात्रै औषधि सेवन गर्ने।
उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्था
नेपाल सरकारको नियमअनुसार सरकारी तथा निजी अस्पतालहरुले शल्यक्रियाको शुल्क लिन पाउने व्यवस्था छ।
निजी अस्पतालको तुलनामा मेडिकल कलेजको तथा मेडिकल कलेजको तुलनामा सरकारी अस्पतालको उपचार सस्तो हुन्छ।
जनताकै करबाट सञ्चालित सरकारी अस्पतालले समेत निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सकेका छन्।
बिरामीको उपचारमा प्रयोग हुने उपकरण, औषधि सामग्रीका लागि धेरै खर्च हुने गर्छ। जुन बिरामीको उपचार अवधिले समेत निर्धारण गर्छ। आइसियूमा राखिएको बिरामी हेरचाह बढी हुन्छ भन्ने गलत बुझाई आम मानिसहरुमा रहेको छ। यद्यपि बिरामीको हेरचाह भन्दा पनि निगरानीका लागि उनीहरुलाई आइसियूमा राख्ने गरिन्छ।
सरकारले घातक रोगको उपचारका लागि १ लाख रुपैंया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ। यद्यपि सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ।
नेपालका सबै सरकारी अस्पतालमा जटिल प्रकारको न्यूरो उपचारको सुविधा छैन। जस कारण उक्त अझै पनि बिरामीहरु उपचारका लागि निजी अस्पताल तथा मेडिकल कलेज धाउनुपर्ने र उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्था छ। त्यस्तै उपचारका लागि विदेशबाट आयात हुने सामग्रीहरु नेपालमा नै उत्पादन गर्न सकेमा निजी अस्पतालबाट पाउने उपचार पनि केही सस्तो हुन्थ्यो।
प्रस्तुती – लक्ष्मी चौलागाईं