क्षयरोग विश्वमा प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ। विश्व स्वास्थ्य संगठनको सन् २०१९ को रिपोर्ट अनुसार संसार भरीमा रहेका क्षयरोग/टिबी का बिरामी मध्ये १५ वर्ष मुनीका बच्चाहरु ११ प्रतिशत संक्रमित रहेका छन् भने करिब २०५००० बच्चाहरुको मृत्यु हुनेगर्दछ। विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेकोमा नेपाल पनि समावेश रहेको छ।
हामी कहाँ भर्ना भएर रोग पत्ता लागेर उपचार सुरु हुने बेलासम्म पनि प्राय अभिभावकले बच्चालाई पनि ठूलो मान्छे जसरी टिबी हुन्छ र डाक्टर भनी प्रश्न तेर्साउनु हुन्छ। आउनुहोस् आज हामी बाल टिबी को बारेमा केही ज्ञानको कुरो बुझौ अनी अरु लाई पनि बुझाउ जसले गर्दा सन २०५० भित्र मा नेपाल लाई टिबी पूर्ण निबारण गर्ने लक्ष्य पुर्याउन आ-आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौँ।
परिचय
क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस (Mycobacterium Tuberclosis) नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो। “बर्डन अफ टिबी ईन नेपाल” को तथ्याङ्क अनुसार नेपालमा मृत्यु हुने कारणमध्ये क्षयरोग पनि टप १० रोग मा पर्छ। बच्चाहरुलाई जुनसुकै उमेर समुहमा पनि टिबी हुनसक्ने भएता पनि हाम्रो जस्तो देशमा प्राय १ देखी ४ वर्षसम्मका लाई लाग्ने गर्दछ। साथै बच्चा हरु लाई टिबी देखिनु भनेको समुदायमा अहिले पनि प्रसारण भईरहेको बुझिन्छ। संसारको १ चौथाइ जनसंख्यालाई टिबीको संक्रमण छ तर टिबी रोग लागेको भने होइन।
संक्रमित ब्याक्तीले हाछ्यु गर्दा खोक्दा वा गीत गाउँदा पनि टिबीको किटाणु हरु सर्ने गर्दछ। टिबी संक्रमण भएता पनि टिबी संक्रमण भएको ब्याक्तीहरुमा करिब ५-१०% मा मात्रै टिबी रोग देखा पर्ने गरेको छ त्यसमा पनि कुपोशित , यच.आइ.भि. सन्क्रमित , चिनी रोगी(मधुमेह), धुम्रपान ,मध्यपान गर्ने मानिसहरु लाई बढी हुन्छ।
त्यस्तै उपचार नपाएको संक्रमित बिरामीले वर्ष मा १०-२० जना अन्य ब्यक्तीलाई संक्रमित गराउन सक्दछ।
बच्चालाई टिबी हुन सक्ने अवस्थाहरु
– लगातार एकनासै खोकी २ हप्ता वा सो भन्दा बढी हुने (जुन हामीले सामान्यतया प्रयोग गर्ने एन्टिबायोटिक तथा ब्रोन्कोडाइलेटर प्रयोग पस्चात पनि कम नहुने )
– लगातार २ हप्ता भन्दा बढी ज्वरो आईराखेमा (निमोनिया,टाइफाइड ,मलेरिया जस्ता रोगहरु होइनन भन्ने प्रमाणित गरीसकेपछी )
– तौल घट्दै गएमा वा बिगत ३ महिनामा भिटामिन वा जुका बिरुध को औषधी खुवाए पनि आवश्यक तौल नबढेमा
खाना मा रुची कम हुने, थकित हुने ,अन्य समय भन्दा खेल्न कम गर्ने , बच्चाहरुको फोक्सो मा हुने टिबीमा ठुलो मानिसमा जस्तो लक्षण नदेखिन पनि सक्छ।
फोक्सोभन्दा बाहिरको टिबी भएमा
– घाटी को एका पट्टीको ग्रन्थी नदुख्ने खालको तर लामो समय सम्म सुनिराख्नु,
– मस्तिष्क झिल्लीको टिबीमा टाउको दुख्ने, झिझिने, बान्ता गर्ने ,होस् कम भएर अचेत हुँदै जाने, शरीर काम्ने गर्छ।
त्यस्तै कुनैमा पेट फुल्लीने,पेटमा पानी जम्ने,आन्द्रा वरीपरीको गिर्खा सुनिन्ने,जोर्नीहरु सुनिने तथा दुख्ने।
निदान
• खकार को जाच(जिन एक्स्पर्ट)
• ठुलो मानिसमा जस्तो खकार निकाल्न नसक्ने भएकाले बच्चाहरु( प्राय ६ वर्ष भन्दा मुनी ) लाई कम्तीमा ३-४ घण्टा खाली पेट राखेर नाकबाट पाइप राखेर पेटको पानी कम्तिमा २-५ ml निकाल्नु पर्छ।
• छातीको एक्सरे
• हातको पाखुरामा गरिने छालाको जाँच
• रोगको प्रक्रिती हेरेर ढाडको पानीको जांच, आन्द्रा वरिपरी जम्मा भएको पानीको जाँच, फोक्सोमा जम्मा भएको पानीको जांच,सुन्निएको ग्रन्थी को बायोप्सी तथा कल्चर गर्नुपर्ने हुन सक्छ।
उपचार
हालसम्म नेपालले सन् २०१९ मा तयार पारेको गाइड्लाईन्स अनुसार बच्चाहरुलाई ६ महिनादेखी १२ महिनासम्मको उपचार अवधी छ।
रोकथाम :
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ। नवजात शिशु लाई जन्मिने बित्तिकै बिसिजीको खोप लगाउनु पर्छ। गर्भवती आमामा टिबी देखिएमा आमाको र शिशु दुबैको प्रोटोकल अनुसार उपचार सुरु गर्नु पर्दछ।
– बाहिर भिडभाडमा निस्कँदा माक्सको प्रयोग गर्ने
– खोक्दा वा हाछिँउ गर्दा रुमालको प्रयोग गर्ने
– संक्रमितले जथाभावी नथुक्ने
– ब्यक्तिगत सरसफाइमा ध्यान दिने
यो वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौ।’ भन्ने रहेको छ।
विश्वमा प्रमुख जन–स्वास्थ्य समस्या रुपमा रहिआएको क्षयरोग अन्त्यका लागि सरकारले अवस्य पनि लगानी बढाएर जीवन बचाउन लाग्नु अहिलेको आवश्यकता हो। तपाईं हामी पनि क्षयरोग सम्बन्धी आफन्त एवम छरछिमेकी मा जनचेतना फैलाई आउ राष्ट्र लाई मुक्त हुन अघि बढौ।