काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।
सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो।
उनीहरुलाई मुद्दा चलाउन लागेको र थुनामा राख्नु गैर कानुनी भएको भन्दै परिवारका तर्फवाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो।
पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन्।