पछिल्लो केही समययता औषधि उद्योगहरुको दिगोपनामा समस्या देखिएको छ। धेरै औषधि उद्योगहरु अब सस्टेन हुन नसक्ने अवस्थामा पुगेका छन्। औषधिको मूल्यमा धेरै टाउको दुखाउनु हुँदैन। गुणस्तरीय उत्पादन नै पहिलो प्रथामिकता हो। मूल्य समय अनुसार बढ्नुपर्छ।
मेरो बुबाले औषधि पसल चलाउनुभएको दशकौं ८ दशक भइसक्यो। मैले पहिलो पटक औषधिको उद्योग खोल्दा मेरो बुबाले भन्नुहुन्थ्यो– तिमीले औषधि बनाउन गइरहेका छौ। आफूले बनाएको औषधि हाम्रो पसलमा बिक्री गर्नका लागि तिमीले पहिला आफ्नो बच्चा, बुढीलाई खुवाउनु। त्यति विश्वास छ, आफूले बनाएको औषधि भने मात्र बेच्न ल्याउनु। बुबाले भन्नु भएझैं हामीले गुणस्तरीय उत्पादन गरेका छौं।
हामी नेपालीको स्वास्थ्यलाई केन्द्रमा राखेर गुणस्तरीय उत्पादन गर्ने उद्योगहरु हौँ। नेपाली उद्योगीहरु त यहीँ छन्। समस्या देखियो भने जहिले पनि सरकारले समात्न सक्छ। तर विदेशी त विदेशी हो, कहिले पुग्ने त्यहाँ थाहा छैन।
छिमेकी मुलुक भारत तथा चीनले आफ्नो उत्पादनमा एक प्रतिशत मात्र उत्पादन बढायो भने नेपालभरि औषधि सित्तैमा पुर्याउन सक्छ। नेपाली उद्योगलाई बन्द नै गराइदिन पनि सक्छ। उसको हैकमबाजी कहिलेसम्म सुन्ने, स्वदेशी उत्पादनलाई माया गरौं। भारतले चीनबाट औषधिको कच्चा पदार्थ नमगाउने भन्न सक्छ भने हामीले पनि किन सक्दैनौं ? हाम्रो एउटा गौरव राखौं न।
भारतको ४ सय औषधि कम्पनीका औषधिहरु नेपाली बजारमा छन्। हाम्रो जम्मा ८२ वटा उद्योगको औषधि छ। तर पनि अझै उसलाई बजार पुगेन भन्छ।
भारतबाट फ्लेक्सन भन्ने औषधि रक्सौलमा एमआरपी २८ रुपैयाँमा आउँछ नेपाललाई १८ रुपैयाँमा दिएको छ। किन ? हाम्रो औषधि उद्योगले १८ भन्दा तल राख्न सक्दैन, उसैको औषधिले बजार ओगटेको छ। भारतले कयौं औषधिमा नेपाली उद्योगलाई फस्टाउन नदिनका लागि ठूलो बजेट राखेर विभिन्न निकायहरु उभ्याएको छ।
नेपालीका लागि औषधिको मूल्य कम राख्ने, त्यही औषधि भारतमा भने नेपालमा भन्दा महँगो छ। त्यो नेपाली उद्योगलाई अघि बढ्न नदिने खेल हो। नेपालले यो विषयमा सोचेर पाइला चाल्नुपर्छ।
-(प्रभात रुंगटा नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष हुन्)