काठमाडौं- टिजिग फर्मा नेपालमा पहिलो पटक एन्टिक्यान्सरको औषधि उत्पादन गर्ने उद्योग हो। उक्त कम्पनीले सन् २०२२ बाट क्यान्सर रोगविरुद्धको औषधि ‘एन्टिक्यान्सर ड्रग’ बजारमा आएको छ।
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
'हामीले अहिले एन्टिक्यासरको मात्रै १९ मलिक्युल्स उत्पादन गरिरहेका छौं' उनले भने, 'फोक्सोका क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, ब्रेन ट्युमर, सिकसेल एनिमिया, पाठेघरको क्यान्सर जस्ता उपचारमा प्रयोग हुने मलिक्युल्स नियमित रुपमा उत्पादन भइरहेको छ,' उनले भने।
टिजिग फर्माले उत्पादन थालनी गरेपछि नेपालका अधिकांश अस्पतालहरुमा सुलभ तथा गुणस्तरीय क्यान्सरका औषधिहरु उपलब्ध हुन थालेको वैद्यको दाबी छ।
'हाम्रो कम्पनीले क्यान्सरको औषधि उत्पादन तथा बिक्री थालेपछि त्यसले औषधिको मूल्यमा ठूलो राहत मिलेको छ। हाम्रो उत्पादनले मूल्यमा मात्रै ३० देखी ४० प्रतिशतसम्म राहत प्रदान गरेको छ' वैद्यले भने।
एन्टिक्यान्सरको औषधि बनाउने पहिलो कम्पनी भएकोले सरकारी निकाय स्वास्थ्य मन्त्रालयदेखि औषधि व्यवस्था विभागसम्मको नजर टिजिग फर्मामा रहेको वैद्य बताउँछन्।
'निजी स्तरका औषधि उत्पादकहरुले समेत हामीलाई नियालिरहेका छन्। कम मूल्यमा क्यान्सरका औषधि बजारमा ल्याउने हुटहुटीमा हामीले औषधिको गुणस्तरीयताको भने सम्झौता गरेका छैनौं' उनले भने, 'प्याटेन्ट ड्रग विदेशमा अत्यन्तै महँगो हुन्छ, त्यसलाई जति सक्दो कम मूल्यमा हामीले बजारमा ल्याउन सफल भएका छौं।'
नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन नेपालले अझै धेरै होमवर्क गर्न जरुरी रहेको उनको तर्क छ।
'पहिले जस्तै सिकसेल एनिमियाको औषधि विदेशबाट आयात गर्नुपर्ने अवस्था अझै रहेको छ। त्यसैले केही वर्षभित्र नै सिकसेल एनिमियाको औषधि आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ हाम्रो कम्पनीले काम गरिरहेको छ' उनी थप्छन्।
जुनसुकै औषधिको उत्पादकले पनि औषधिको गुणस्तरीयतालाई विशेष ख्याल दिने उनले दाबी गरे। यद्यपि कही कतै कुनै औषधिमा गुणस्तरीयता अभाव रह्यो भने त्यो प्राविधिक कमजोरी भित्र रहने उनको भनाइ छ।