भेन्टिलेटर अनि मोनिटरहरुको आवाज कानैमा गुन्जिरहेको थियो। रातको १२ बजेको समय थियो। सघन कक्षकी एउटी आमाले भर्नुभएको ऊर्जा मलाई अहिले पनि महशुस भइरहेको छ।
मेरा अक्षरहरुले जीवन नपाएको लगभग एक वर्षभन्दा बढी भएको थियो। आमा जीवन र मृत्युको बिच पौठेजोरी खेलिरहनु भएको थियो, आमा हँसिली हुनुहुन्थ्यो । ७३ वर्षको रोगी बुढो शरीर तर सबैलाई गीत संगीत सिकाउनु हुन्थ्यो। सुरिलो स्वरबाट मीठा-मीठा गीत गुनगुनाइ रहनुहुन्थ्यो। निराशा एक रत्ति पनि थिएन, त्यो मुहारमा । ड्युटीमा थिएँ म । एकाएक भन्नुभयो, ' कति मीठो बोल्ने नानी रहिछौ, लेख्नमा रुचि हुनुपर्छ तिम्रो।'
मलाई एकाएक आकाशले थिचेझैँ भयो . अनि म झसङ्ग हुँदै मैले सोधें, 'हजुरआमा मेरो रुचि हजुरले कति सजिलै थाहा पाउनुभयो?'
'म त दुई दिनको पाहुना बाँकीको समय गीतसंगीत सिकाउँदै अनि सकारात्मक ऊर्जा छर्दै आफ्नो अन्तिम सास बिसाउन चाहन्छु,' उहाँको सदाबहार शान्त उत्तर थियो। ती वाणीहरु पराकम्प जसरी आउने-जाने गरिरहे, मेरो कान नै त्यही कुराहरुले गुन्जायमान भए।
उहाँसँग संवा पछि मलाई पनि कलमका अक्षरहरुले आफ्नो गुरुत्वाकर्षणमा पार्न थालिसकेका थिए। त्यही रातपछि मेरो कलमले कथाको नयाँ खाँका कोर्न थाल्यो। मेरो कथामा - बाँच्ने आशा छ, मृत्युको पीडा छ, माया छ, हेला छ, अपनत्व छ, भेन्टिलेटरको ट्वार-ट्वार छ, मोनिटरहरुको ट्वी-ट्वी छ, सिस्टरहरु, डाक्टरहरु, कार्यालय सहयोगीहरु, टेक्निसियनहरु अनि सिकिस्त बिरामीहरु सबै हुनुहुन्छ। हो यो कथा हो सघन कक्षको, आइसीयुको।
दिनरात मुटुको चाल, श्वासप्रश्वास, ब्लड प्रेसर, रगतमा अक्सिजनको मात्रा नजिकैबाट २४ घण्टा नै मापन गरिरहन्छ। एक-एक श्वास अनि एक-एक धड्कनसँग जिन्दगी अडिएको हुन्छ।
यहाँ भावना छ, यहाँ जीवन अनि मृत्यु दुवै छ। अझै याद छ, एउटा बुवा इमेर्जेन्सीबाट इन्ट्युबेट भएर आउनुभएको थियो । लगभग एक महिना जति आइसियुमा रहनुभयो होला, उहाँले पटक-पटक मृत्युलाई जित्नु भयो। लामो समय भेन्टिलेटरमा रहनुभएको, ट्राकियोस्टोमी गर्ने प्लानसम्ममा पुग्नु भएको, उहाँलाई भेन्टिलेटरबाट झिकियो, पुन: भेन्टिलेटर चाहिन सक्ने जोखिम पनि उत्तिकै थियो तर उहाँले उपचारसँगै आफ्नो मनोबलले मृत्युलाई जित्नुभयो।
मुखबाटै खान सक्ने बनाएर उहाँलाई डिस्चार्ज गर्न पाउनुको खुशी छुट्टै थियो। घर जाने बेला सबैलाई मिठाइ बाँडेर जानुभयो, पछि फलोअपमा आउँदा हामीलाई भेट्न पनि आउनुभयो। डाक्टरलाई अंकमाल गरेर धन्यवाद दिंदै गर्दा खुशीको आँसु कति बेला खस्यो थाहै भएन।
यहाँ हजुरआमालाई माया गर्ने नाति देखियो, हजुरबुवालाई माया अनि स्याहार गर्ने नातिनी देखियो। आमालाई स्याहार्ने छोराबुहारी देखियो। बुवालाई माया गर्ने छोराछोरी देखियो। यो त रह्यो मीठो सत्य, तीतो सत्य देख्दा अनि सुन्दा आँखा रसाउँछ्न । मन भतभत पोल्छ। हाम्रो समाज कता गइरहेछ जस्तो लाग्छ।
छोरीहरु आफ्नो घरको काम छोडेर आमाको उपचारमा खटिरहेका देखिन्छ। उनीहरुको साझा बोली हुन्छ, 'आमाको उपचारमा खट्दा आफ्नै घरगृहस्थी बिग्रिने बेला भैसक्यो। दाजुभाइ कोहीले हेर्दैनन्, आमा कहिले मर्छिन् र उनको भागको सम्पत्ति आफ्नो नाममा पारौंला भन्ने दाउमा छ्न् । डाक्टरसा'पहरु तपाईंहरु आफ्नो काम गर्नुस्। हाम्रो आमालाई बचाउन कुनै कसुर नछाड्नु होला।'
जीवनको अन्तिम श्वास लिदै गर्नु भएको आफ्नी श्रीमतीलाई लिएर एक बिरामी बा हाम्रो आइसियुमा आइपुग्नु हुन्छ. आफैं दमको बिरामी उहाँलाई नै भर्ना गरेर राख्नुपर्ने देखिन्थ्यो, नातिलाई १९ लाख तिरेर अष्ट्रेलिया पठाको भन्नुहुन्थ्यो। आमा बुवालाई हेर्ने कोही थिएनन्। बुवाको भर आमा, अनि आमाको भर बुवा। तर आमा छुट्दै थिइन् बुवाबाट। 'भेन्टिलटरमा नराख्ने उनलाई, जाँदा सजिलैसँग जाओस्, पीडा नहोस् उनलाई,' भेन्टिलेटर नराख्ने सम्झौतामा गर्दा गहभरी आँसु अनि कापेका हातले सही गर्नुभयो।
कोही कुरुवा आएनन् रातभरी, छोराहरु यही काठमाडौमै थिए रे। बुवालाई आमाको औषधि ल्याउन अरु कुरुवाले मद्दत गरे। अपशोस, आमाले बिहानको घामसम्म देख्न पाइनन्। समयमै अस्पताल ल्याइदिने कोही भएनन्, भोलिपल्ट दुई छोरा आएर सम्पतत्तिको कुरा गर्दै थिए । मैले भनें, 'आमालाई त गुमाउनुभयो, बुवाको उपचार समयमै गराउनु होस्। उहाँलाई पनि सन्चो छैनर। बुवा एकै छिन हराउनु भएको थियो, बाहिर आएर हेरेको एक्लै एउटा कुनामा बसेर रोइरहनु भएको रहेछ।'
कठै कस्तो संसार हो यो। सक्ने भए ती बुवाको खुशी तिनी आमालाई जिवित बनाइदिन्थें। तर हाम्रो प्रयास सफल हुन सकेन।
त्यस्तै बुवालाई देउता सरी पुज्ने छोराछोरी पनि देखें त्यो देखेर कति खुशी लाग्थ्यो। आमा जस्तै अर्की आमालाई छोरा रीले गर्ने व्यवहार पनि देखियो। 'जे भएपनि यही होस्, घर नलानी कसले सेवा गर्न सक्छ उहाँलाई' भन्ने मानसिकता पनि देखियो।
दीर्घरोगी अनि धेरै स्याहार चाहिने कतिपय आमाबुवा हजुरआमालाई घर परिवारले घर लग्न नखोज्ने, सास चाहिँ होइन, लास लग्न तत्पर मानवीय संवेदना नभएका पनि देखिए।
हजुरआमाहरुले नातिनातिनाको बिहेको लागि केहीदिन जसरी भएपनि श्वास फेरि दिनुपर्ने, भेन्टिलेटरमा राखेर केहीदिन मृत्यु लम्ब्याइदिनु पर्ने, चाडबाड नछेकियोस् भनेर लगभग मृत्यु भै'सकेकालाई अझै राखिदिनु चाडबाडसम्म भनिदिने पनि भेटिए। हामीले त जीवन नै नरहेपछि मृत शरीरलाई त्यसै भेन्टिलटरमा राख्न मिल्दैन । अनि राख्दा पनि राख्दैनौं। मृत शरीरलाई समेत छोड्दैन्। 'चाडबाड नछेकियोस् । छोरा अष्ट्रेलियाबाट आउन्जेल भेन्टिलटरमै राखिदिन पर्यो' अरे। मृत शरीरलाई त दु:ख नदेउ न यार!! यही हो त तिमीहरुले आफ्ना प्रति गर्ने माया!
एकै सातामा ३-४ ओटा मृत्यु पनि देखे यी आँखाले। सिपिआर अनि इन्ट्युबेसन गर्दागर्दै कति अस्त भए यी हातैमा। भेन्टिलटरबाट बाँचेर फर्किनेहरुले आशीर्वाद दिइरहँदा मैले देउतासँग दिनहुँ साक्षात्कार गरिरहे जस्तो लाग्ने रहेछ।
म मन्दिर जान भ्याउदिन, म आफन्तलाई समय दिन भ्याउदिन तर म मृत्युलाई जीवन दिन भ्याउने रहेछु । मृत्युलाई सकेसम्म लम्ब्याउन सक्ने रहेछु तर यसलाई सदाको लागि रोक्न सक्दिनँ भन्ने मैले स्वीकारेकी छु।
दमका मुटुका बिरामीको संख्या धेरै भएता पनि अकालमै मृत्युको मार्ग पछ्याउनेहरु पनि यहाँ आइपुग्छ्न्। विष सेवन गर्ने त्यस मध्यको अग्रपङ्तिमा पर्छ्न्। सृष्टीकर्ताले यति मेहनत र समय लगाएर बनाउनु भएको सबैभन्दा बौद्धिक वर्ग हामीले आफ्नो मानसिक स्वास्थ्यको ख्याल कहिले गर्ने होला? जीवन भन्दा माथि केही छैन। दु:ख सधैं रहने पनि त होइन, परिस्थितीसँग लड्न सक्नुपर्छ। यो सबै दुख बितेर जानेछ, हात नहुनेले पनि त महाकाव्य लेखेका छ्न्, आँखा नहुनेले संसार देखेका छ्न्। असम्भव भन्ने त केही छैन, इच्छाशक्तिको कुरा त हो।
यति लेख्दै गर्दा सिस्टरले रातीको २ बजेतिर भन्नुभयो, 'संगीत शिक्षिका गुरुआमाको भाइटल्स ठीक छैन, एकैछिन अगाडि बोलिरहनु भएको अहिले अचानक ठूलो मास्कमा (रिजभोएर मास्क)मा पनि स्याचुरेसन मेन्टेन भै'राछैन . यस पछिको बाटो पनि सोध्नुपर्ने हुन्छ। आमाको आफ्नासँग मन्जुरनामा लिनपर्ने हुन्छ, आमालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने कि नगर्ने भनेर।'
यसैपनि उहाँको रोग (फोक्सोको क्यान्सर) शरीरभरी फैलिएको थियो ( केहीदिन अगाडि मात्र पत्ता लागेको) अनि बाँकीको जीवन बाचुन्जेल सहज बनाउने कुरा मात्र थियो, भोलि डिस्चार्च गर्ने कुरा थियो, भेन्टिलेटरमा नराख्ने कुरा भयो । आमाको मृत्यु सहज होस् भन्ने सबैको सल्लाह भयो। आमा रातभरी मृत्युसँग लडिरहनु भयो। मेरो ड्युटी सकिने दिन थियो। मैले म पछिको डाक्टरसापलाई ह्यान्ड ओभर दिएर निरास हुँदै घर आएकी थिएँ। रातभरीको निन्द्रा खाना खाएर निदाउन कोशिस गर्दा गर्दै निदाएछु । उठ्दा साथीले राख्नुभएको आमाको फ्लाट इसिजी देखें। सार्है नराम्रो लाग्यो, अन्तिम अवस्थामा समेत म बाँकीको जीवन गीत-संगीत सिकाउँछु ,म जीवन जिउन सिकाउँछु भन्ने मान्छेलाई मृत्युले रोज्छ । अनि केही गर्न सक्ने, समाजमा आफ्नो केही योगदान दिन सक्ने अवस्थाका जुझारु युवा वर्गले मृत्यु रोजेको देखेर दिक्दार लाग्छ।
सघन कक्ष बुझ्नेलाई फराकिलो छ। अनि नबुझ्नेलाई साँघुरो छ। मैले चाहिँ फराकिलो मनले कथालाई साँघुरो बनाएँ।
सघन कक्षमा जीवन गुमाउनु भएका सम्पुर्ण मृत आत्माहरुको वैकुण्ठमा बा होस् भन्ने कामना गर्दछु। मृत्यु जितेर पुन: जीवन पाउनु भएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यलय सहयोगीहरु आदि सम्पूर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको ऊर्जाले नै बिरामीहरुमा ऊर्जा भर्ने काम गरेको छ। जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भइएला, निरन्तरको कोशिसको लागि सलाम छ।
(लेखक डा थपलिया, भक्तपुर अस्पतालको आइसियु विभागमा कार्यरत छिन्)