म र मेरो परिवार देशको दुर्गम ठाउँमा सेवा गरेर केही समयदेखि राजधानीमै जागिर गर्दै आएका छौं। घरबाट टाढा भएको हुँदा हाम्रो सानो बच्चालाई हामी दिउँसो अफिस गएको समयमा हेरचाह गरिदिने र खुवाउने ब्यक्तिको खोजीमा थियौं। केही दिन अघिको कुरा हो, चिनजानकी एकजना बहिनी आउने कुरा पक्का भयो।
ती बहिनीको दुई छोरीमध्ये ६ वर्षिया सानी छोरीलाई करिब दुई वर्षअघि ब्लड क्यान्सर देखियो । उनी कान्ति बाल अस्पतालमा उपचार गराइरहेकी रहिछन्। पश्चिम बर्दियाको गरिब परिवारकी उनले गाउँबाट चन्दा उठाएर उपचार गराउँदै आएकी रहिछन्।
छोरीलाई क्यान्सर देखिएपछि घर परिवारमा खासै राम्रो सम्बन्ध नभएको बताउँथिन्। निम्नवर्गिय परिवारमा जन्मिएकी उनले वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन दिएकी रहिछन् । दुई छोरी र आफ्नो ज्यान पाल्न उनी विदेशिन खोजेकी रहिछन्।
हरेक दिन हाम्रा दाजुभाइ दिदिबहिनीहरु उनको जस्तै बाध्यतामा परेर विदेशिरहेका छन्। क्यान्सरको उपचारको सबै चरण पार गरिसकेपछि सानी छोरीलाई उनले गाउँमा हजुरबुवा-आमा भएको ठाउँमा पठाएकी थिइन्। एकदिन सानी छोरीलाई केही समस्या देखिएपछि हजुरबुवाले खजुरा क्यान्सर अस्पताल लग्नु भएको रहेछ। रगतमा हल्का समस्या मात्रै भनियो। अनी क्यान्सर उपचारको कोर्ष सकेपछि फलोअपको लागि फेरि कान्ति बाल अस्पतालमा पुर्याइयो।
छोरीको शरीर फुल्लिएको देखिन्थ्यो र रगत जाँच गराउँदा क्यान्सर बल्झिएको भेटियो। हुन त वयष्क भन्दा बालबालिकामा हुने रगतको क्यान्सरको उपचार बढी सफल हुने गरेको तथ्यांकले भन्ने गर्दछ। तर हरेक ब्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनकी सानी छोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो। हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन्।
एउटा अभिभावक र अर्को बाल चिकित्सक भएको नाताले 'मेरो छोरीलाई बचाइदिनु पर्यो दाइ' भनेर आफ्नो छोरीको ज्यानको लागि भिख माग्दै थिइन्। एकचोटी उपचार सफल भएन भने फेरि केमोथेरापी सुरु गर्न त सकियो तर त्यो उपचार सफल हुने सम्भावना तुलनात्मक रुपमा न्युन हुनेगर्छ। सबैचन्दा राम्रो उपाय भनेको नै बोनम्यारो प्रत्यारोपण नै हो। तर आर्थिक अवस्था न्युन भएकालाई बोनम्यारो प्रत्यारोपण गराउने बिकल्प दिनु भनेको चर्केको घाउमा नुन छर्किनु जस्तै हो। निम्न बर्गिय ब्यक्तिलाई बोनम्यारो ट्रान्स्प्लान्ट गर्नुपरेमा आर्थिक अवस्था सम्झेर उपचार गर्ने आँट नै आउँदैन।
फेरि केमोथेरापी गराउन आर्थिक अवस्था दयनिय रहेकाले बोनम्यारो ट्रान्स्प्लान्ट गर्न कसरी आँट गर्न सकुन् वा आँट गर्न सल्लाह दिउँ जस्तो भएको थियो। झन् त्यति नै बेला एकजना अध्ययनरत चिकित्सकले क्यान्सरको उपचार गराउन नसक्दा मृत्यु भएको खबर सामाजिक सञ्जालमा देखेको थिएँ।
रगतको क्यान्सरको उपचार भनेको केमोथेरापी वा बोनम्यारो ट्रान्सप्लान्ट मात्रै नभएर आवश्यक्ता अनुसारको खानपिन, सरसफाइ, सकरात्मक सोच, घरपरिवारको साथ र स्नेह र सबैभन्दा महत्वपूर्ण कुरा पैसा नै थियो। यी सबै कुराबाट ती बहिनी र उनकी छोरी टाढा थिइन्। सास रहुन्जेलको आश भनेझैं अहिलेको समयमा सबै भन्दा उत्तम विकल्प भन्नु नै फेरि उपचार सुरु गर्नु नै हो भनेर सम्झाएँ।
सानीको नाकबाट रगत बगिरहेको थियो। प्लेटलेट जचाउँदा निकै कम भएर रगत चढाउनुपर्यो। उपचार सुरु गर्ने भनेकै दिन क्यान्सरको जटिलता (ट्युमर लाइसिस सिन्ड्रोम) देखिन थाल्यो। राति नै आइसियुमा पठाउने कुरा भयो तर हाम्रो कान्ति बाल अस्पतालमा खाली नभएकोले त्यो रात त्यही अन्कोलोजी वार्डमै बस्नुपर्ने बाध्यता भयो। भोलिपल्ट अवस्था झन् बिग्रियो र म आफ्नै अस्पतालको आइसियू वार्डमा बेड खाली छ कि भनी बुझ्न गएँ तर त्यहाँ खाली हुने सम्भावना देखिएन। त्यो दिन मेरो ओपिडीको पालो भएर म एकदम ब्यस्त थिएँ। त्यसैले चाहेर पनि उनीहरुसँग लामो समय बस्न पाएको थिइनँ।
यत्तिकैमा उहाँहरुलाई आइसियूमा बेड नपाएर बाहिर लैजानु भन्न थालियो। एउटा गरिब निमुखा परिवारले कान्ति बाल जस्तो सस्तो राम्रो र सर्वसुलभ अस्पतालमा आइसियूमा बेड नपाएर बाहिर अन्तै महँगो अस्पतालमा उपचार गर्न लैजाने भन्नु जस्तो गाह्रो शब्द मेरो लागि शायद अरु छैन होला। प्राइभेट अस्पतालसम्म बिरामी लगेर भर्ना गर्ने क्षमता नभएका बिचरा ती गरिब दिनदु:खीले महँगो उपचार गराउन सक्लान् पत्याउनु पनि कसरी?
घरतिर फोन गर्दा अब ज्यान नै जाने भए जिउँदो वा मुर्दा भए पनि यतै गाउँतिर लिएर आउनु भनिएको रहेछ । त्यही कुरा लिएर उनीहरु म कहाँ फेरि ओपिडीमा भेट्न आउँछन्। मेरो श्रीमतीले पनि आफ्नो अफिसबाट फोनमा भन्दै थिइन्, ' मिल्छ भने १-२ दिनलाई आइसियूमा बेड मिलाईदिनु न? अलि सजिलो भएपछि घर लिएर जान मिलोस् न। यत्तिकै गाह्रो भएको बेला त ज्यानै …।'
श्रीमतीको कुरा सकिन नपाउँदै ती बहिनी ओपिडी बाहिर मुर्छा परेर ढलेको खबर पाएँ। उनलाई तुरन्तै इमर्जेन्सी कक्षमा लिएर जानु भन्दै श्रीमतीलाई पनि उनको अफिसबाट बिदा लिएर आउन खबर गरें। बहिनीको अगाडि जे भनेर सान्त्वना दिएपनि मेरो मनले भन्दै थियो, ' गरिब परिवारमा जन्मिनु नै पाप हो? त्यसमा पनि हाम्रो जस्तो देश जहाँ स्वास्थ्य कहिले प्राथमिकतामा पर्ने गर्दैन। हामी त्यो देशका डाक्टर हौं, जहाँ बिरामीलाई पैसा छैन भने थप उपचारको व्यवस्था गर्न नसकी घर फर्किन सुझाउनुपर्छ।'
प्राय एम्बुलेन्समा बिरामीलाई बोकेर उपचार गर्न अन्तै लगिने गरिन्छ वा निको बनाएर घर फर्काइन्छ र शव बाहनले शवलाई ओसार्ने गर्दछ। तर त्यो दिन म धर्म संकटमा थिए किनभने ६ वर्षीया कलिली सानीको जिउँदो शरीरलाई एम्बुलेन्समा राखेर उपचार गराउन नभइ यमराजकोमा पठाउन सल्लाह दिँदै थिएँ। पछि एकजना एम्बुलेन्स ड्राइभरसँग कुरा गरेर पुरा पैसा घरै पुगेर दिने शर्तमा उनिहरु करिब २० घण्टाको बर्दियाको यात्रामा निस्किए।
सानीको श्वास फुलिएको सजिलै देख्न सकिन्थ्यो। एकछिन एम्बुलेन्समा चढाउन लाग्दा अक्सिजन जोड्न केही समय लागेको के थियो। ‘आमा मलाई बचाउनु, कहाँ लग्न थालेको' भन्दै थिइन्। बेलुका कतिबेला कहाँ पुगेर श्वास छोड्ने होला भनेर सोच मग्न भएँ। सानी छोरीले बाटोमा भोक लाग्यो भनेपछि आमाले स्याउ खान दिएकी रहेछिन्। ति अवोध बालिकाले 'आमा मलाई माथि बाट लिन आइसक्यो। मेरो जाने दिन आइसक्यो। हजुरहरु मिलेर बस्नुहोला। अर्को जुनीमा धनी घरमा हजुर हजुरकै कोखबाट जन्म लिन पाउँ' भनेर भन्दै थिइन् रे।
नौ महिना कोखमा हुर्काएर ६ वर्षसम्म सँगै राखेर ठूलो बनाएकी छोरीलाई अबको केही समयमा यो संसारबाट बिदा हुँदै थिइन्। एउटी आमाले आफ्नै कोखमा बच्चा तड्पी-तड्पी मर्न लागेको कसरी हेर्न सक्छिन् होला? यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्ला र? करिब रातिको २:३० बजेतिर सायद बुटवल आसपास क्षेत्रमा चिया पिउन् भन्दै एम्बुलेन्स रोकिएको थियो। त्यतिबेला नै ती सानीको स्याँस्याँ बढ्यो, घ्याप्लक-घ्याप्लक गर्न थालिन् र एक्कासी आमा चिच्याइन्। बिचरीले घर नपुग्दै बाटैमा संसार त्यागेकी रहिछन्। अघिसम्मको एम्बुलेन्स अब शव बोकेको गाडी भइसकेको थियो।
पहिलोपटक कसैलाई तिमिहरु गरिब छौ र बाहिर लगेर उपचार गराउन नसक्ने भए ज्युँदो लास लगेर मृत्यु कुरेर बस्नु भन्नुपर्ने अवस्था आएको थियो। त्यो दिन मलाई आफ्नो पेशामा गर्व गर्न मन लागेन, मेरो केही सी नलागेको महसुस गरें। निरीह महशुस गरें। श्रीमतीको कानको जालीमा प्वाल परेर ८ वर्ष अगाडि नेपालगन्ज अस्पतालमा अप्रेशन गरेको तर बिगत ६ महिनादेखि पटक-पटक कान पाकिरहने समस्या थियो। त्यही दिन टिचिङ अस्पतालका डाक्टरहरुले सोही हप्तामा अप्रेसन गर्न सुझाउनुभएको थियो। त्यो दिन मेरो अर्को ब्यक्तिगत तनाव पनि थियो। त्यसैले त्यो दिन मैले राम्रोसँग बिरामी हेर्न पनि सकेको थिइनँ।
अस्पतालमा काम गर्दा यस्ता घटना दिनहुँ देख्ने अनि महसुस गर्ने गर्दछु। यस्तो समस्या क्यान्सर, मुटु, मिर्गौला, थालेसेमिया, सिकलसेल एनिमिया, नशा, हड्डी सम्बन्धी रोग, दिर्घरोगी आदि थुप्रै बच्चाहरुमा देखिन्छ। हरेक नागरिकले बाँच्न पाउने अधिकार हुन्छ तर हाम्रो देशमा कुनै प्रणाली नै छैन। हामीकहाँ अस्पतालमा आउने अधिकतम सेवाग्राहीले चिकित्सकको प्रेस्क्रिप्सन बिना अनावश्यक एन्टिबायोटिक र कफ सिरफको प्रयोग गरेको अत्याधिक मात्रामा भेटिने गर्छ। त्यसलाई हेर्ने जिम्मेवार निकाय को त?
प्रभावकारी सिस्टम मन पराउनेहरु एक्लै लड्न नसकेर दिनहुँ बिदेशिएका छन्। यही देशमा बसेर परिवर्तन गराइ छाड्छु भन्नेको त खुट्टा तानेर नै लडाइदिन्छन्। राजनैतीक अस्थिरता, राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृत्ति कम नभएसम्म यो देश अघि बढ्ला जस्तो लाग्दैन। अन्तरआत्माबाट बिरामीको स्वास्थ्यप्रति जिम्मेवार हुने हो भने स्वास्थ्यमा आमुल परिवर्तन सम्भव छ। जिम्मेवार ब्यक्तिले दीर्घरोगीको स्वास्थ्य समस्या बुझिदिए राम्रो हुनसक्थ्यो।
ती सानी नानीको अनुहार जब आँखामा नाँच्न थाल्छ। हामीले चिकित्कसले घुमाउरो पाराले यस्तो भनिरहेका छौं कि जस्तो महशुस हुन्छ- तिमि गरिब हौ र तिमीहरुको बाँच्ने अधिकार यति नै हो।'
म एक चिकित्सकका रुपमा आफैंसँग प्रश्न गरिरहेको छु, यो देशको प्रणालीसँग प्रश्न गरिरहेको छु- चिकित्सा विज्ञानले सम्भव गरेको उपचार सेवा सवैको पहुँचमा कहिले पुग्ला?
(बालरोग विशेषज्ञ डा बिक हाल कान्ति बाल अस्पतालमा कार्यरत छन्।)