केश नं १: करिव २ वर्ष अगाडि एक अभिभावकले एउटा १३ वर्षको बालक लिएर आउनुहुन्छ, कुरा गर्दै जाँदा त्यो बालक एक्लै बस्ने, टोलाउने, ढोका बन्द गर्ने, बेला बेलामा रुने, कराउने गर्ने र अझ कुरा गर्दै जाँदा उनमा “म मेरा बुवा, आमा र सबैका लागि योग्य छैन , ”आई डन्ट डिजर्भ टु सर्भाइभ , “आई बान्ट टु वी इन्भिजिवल “ मर्न मन लाग्छ , मर्दिउँ जस्तै लाग्छ भन्छन।
केश नं २ : एकजना स्वास्थकर्मीले हामीसँग रिफर गर्नुभएको अन्दाजी ११ वर्ष कि एक बालिका आउँछिन। पढाइमा सधै प्रथम हुने, बिगत एक वर्षदेखि उनको पढाई खस्किदो क्रममा भएर एक परीक्षामा अनुत्रिण भए पश्चात उनको परिवारका सदस्यले नोटिस गर्नुभएछ , एक्लै टोलाएर बसेको हुन्छ , केही भन्यो कि झर्किन्छ ,पहिला त आफ्नो काम आफै गर्थिन अहिले त अर्हायो भने मात्र काम गर्छिन ,त्यो बालिकासँग कुरा गर्दै जाँदा उनी रुँदै भन्छिन म पढन खोज्छु कन्सन्टेर्ट नै हुनै सक्दैन , एकै छिनमा अल्छि लागेको जस्तो निन्द्रा लागेको जस्तो हुन्छ , एक्जाममा फेल भएपछि स्कूल पनि जानै मन लाग्दैन , टिचरले पनि मलाई बुझ्नु हुदैन, साथीहरु पनि पहिलाको जस्तो बोल्दैनन , मेरो यो संसारमा कोही पनि छैन जस्तो लाग्छ भन्छिन।
केश नं ३ : एउटा १० कक्षामा अध्ययनरत भाईलाई आइसियु हुँदै डिस्चार्च पूर्व मनोचिकित्सकले हेर्नुपर्छ भने पश्चात कन्सल्टेसनको लागि आउँछन, के भएर लिएर आउनु भयो? भन्दा आमाले रिसाँउदै भन्छिन, ”बहुलाएको, मानसिक समस्या भएको त होईन , मोवाईल चलाउन नपाएर मर्न खोजेको थियो “ डाक्टरले रिफर गर्दिनु भयो हजुरलाई।
भाईलाई एक्लै राखेर सोध्दा उनी भन्छन बुवा बाहिर हुनुहुन्छ ,घरमा मामु र म मात्र छौ ,, केही गर्नु मन लाग्दैन मेरो साथीहरु पनि धेरै छैनन , बाहिर खेल्न जान मन पर्दैन , मोबाईल मा फ्रिफीईर नामको गेम छ त्यहि खेलेर बस्छु। त्यही गेम खेल्ने एउटा केटी साथीसँग अनलाईनमा लभ परेको थियो ,कुराहरु सेंयर हुन्थ्यो। सेन्टअप इक्जाम आउन लाग्यो भनेर मोबाईल खोस्दिनु भयो अनि केही गर्न मन नलागेर, टाउको दुखेर हात काटेंको थिए पछि मामुले केही भन्नु हुन्छ भनेर घरमा भएभरको सबै सिटामोल खाइदिए।
मामुलाई छोरा बारे सोध्दा भन्नु हुन्छ “ पहिले त पढ्दा एकदम राम्रो थियो लकडाउनमा मोबाईल दिएको , जति बेला पनि मोबाईल चलाउने कि सुतेर बस्ने , केहि भन्यो कि रिसाउँछ, आजकलका बच्चाहरुलाई केही भन्नै हुँदैन कुन बेला औषधि खाइदिएछ भन्नु हुन्छ।
करिव १ घण्टाको संवाद पश्चात मात्र उहाँलाई यो मानसिक समस्या हो ,मोबाईल मात्र समस्या होइन ,औषधिको आवश्यकता र पून : पून यस्तो समस्या आउन सक्छ , बालकको व्यवहार प्रति सजग रहनुपर्दछ भनी पठाएँ।
माथिका केशहरुका बालबालिकाहरुमा डिप्रेसनको समस्या रहेको थियो र उपचार , सल्लाह पश्चात आफ्नो दैनिक कुशलताका साथ गरिरहेका छन।ठुलो मानिसमा देखिने डिप्रेसन पहिचान गर्न र उपचार गर्न सहज हुन्छ भने बालबालिकामा देखिने डिप्रेसन वा आत्महत्याका सोच भएका बिरामीहरु सहजै र प्रारम्भमै अस्पताल आउन ढिलो भएको हुन्छ।
बालवालिकाले आफ्ना लक्षण सहज रुपमा बताउन नसक्ने, फरक किसिमका लक्षण देखिने र सामान्य बच्चा हरुको स्वाभाव नै यस्तै नैहोला भनेर पहिचानमा ढिलो भएको हुन्छ।
डिप्रेसन कसरी पहिचान गर्ने?
बच्चाहरुमा देखिने डिप्रेसनमा बच्चाहरु जतिवेला पनि रिसाउने, बेलाबेलामा झनक झनक झर्किने हुन्छन।
पहिला गरिरहेका , आनन्द मानेका कामहरुमा मन नलाग्ने जस्तै परिवारसंग घुलमिल हुन , स्कुल जान वा पढन लेख्न , साथीभाईसंग घुम्न वा कुरा गर्न वा आफुले खेल्ने खेलमा पहिलेको जस्तो मन नहुने।
सानो सानो काम गर्दा पनि थकान महशुस हुने , चाडै थाक्ने, स्कुलबाट आउने बित्तिकै वा कतैबाट आएपश्चात , बिस्तारामा पल्टिन खोज्ने या सुतिहाल्ने। स्कुलमा पढाईमा ध्यान नहुने , साथी वा कोहि कुरा गर्दा पनि ध्यान नदिने , स्कुलमा पहिले पहिले आउने परीक्षाको नतिजामा कमि हुदै जानु।
निन्द्रा नलाग्ने , छटपट गर्ने वा धेरै निन्द्रा हुने।
तौल घटदै जानु ,खानै मन नगर्नु वा उमेर अनुसारको तौल हासिल गर्न नसक्नु
पेट दुख्यो, टाउको दुख्यो ,अर्कै भयो जस्ता विभिन्न लक्षणहरु व्यक्त गर्नु वा यस्तै लक्षणका कारण बेलाबेलामा स्कूल नजानु, स्कुल जानै मन नगर्नु।
मलाई कसैले माया गर्दैन, म एक्लै छु , कोहि बोल्न खोज्दैन, मेरो साथी हरु नै छैन , म पढनै सक्दैन ,मैले केहि गर्न सक्दैन , मेरै कारण ले गर्दा बुवाआमालाई दुख दिइरहको छु , मेरै कारणले गर्दा नै सबै नराम्रो भइरहेको हुन्छ जस्ता शव्दहरु प्रयोग गरेर अभिव्यक्ति दिनु।
आत्महत्या वा हानी सम्बन्धी अभिव्यक्ति दिनु जस्तै म मरे सबैलाई आनन्द हुन्थ्यो , मरिदिए पनि हुन्थ्यो , आफैलाई मार्न पाएपनि हुन्थ्यो , गाड़िले हानेर वा कतैबाट खसेर मरे पनि हुने वा कोही नभएको बेला औषधिहरु खाईदिने हात वा शरीरमा काटन खोज्ने वा हानी गर्न खोज्ने वा बिगत मा पनि यस्तै प्रयास गर्ने।
सानो उमेरमै कुटपिट, गलतकामहरु वा मादक पदार्थ वा लागुपदार्थको प्रयोग गर्नु।
कस्ता बालबालिका जोखिममा रहन्छन त?
परिवारका सदस्यहरुमा मानसिक समस्या रहेको, आत्महत्या वा सोको प्रयास गरेको।
बच्चामा हुँदा शारीरिक वा मानसिक शोषणबाट गुज्रिरहेको
पारिवारिक सम्बन्धहरुमा समस्या , पारिवारिक कलह, झै झगड़ा वा परिवारका सदस्य लागुऔषध या कुलतमा रहनु।
बालबालिकालाई स्याहार, समय नदिनु वा विभिन्न कारणले बच्चालाई मतलव नै नगर्ने वा गाली गर्ने , कुट्ने पिटने गर्न वा उनीहरुको भावना नबुझनु वा राम्रो सामाजिक समर्थन नहुनु।
सानो सानो कुरामा रिसाउने , ज़िद्दीपना र रिसका कारण वा कुनै कारणले जोखिमयुक्त कार्यहरु गर्ने बालबालिका
डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।
आफ्ना भावना हरु व्यक्त गर्न नसक्नु , परिवारका सदस्यहरुसँग डर मान्नु वा परिवार वा स्कूलको वातावरण कठोर लाग्नु , बेलैमा समस्याको पहिचान हुन नसक्नु , मानसिक स्वास्थ्यलाई आफ्नो कमजोरी वा लान्छानाका रुपमा हेरिँदा , परिवार , स्कूलमा वा समाजमा मानसिक स्वास्थका बारेमा हेरिने दृष्टिकोण हरुले डिप्रेसन वा आत्महत्या सम्बन्धी सोचहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छन।
बच्चाहरु धेरै जसो समय स्कुलमा हुने हुँदा शिक्षक शिक्षिकाहरुले माथि उल्लेखित लक्षण वा असामान्य व्यवहार देखेको खण्डमा चिकित्सक, मनोचिकित्सक, मनोविदहरुसँग परामर्श लिनुपर्दछ ।