काठमाडौं- सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले विश्व श्रवण दिवसका अवसरमा जनचेतनामुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
सोसाइटीका अध्यक्ष प्राडा दिपेन्द्र श्रेष्ठ र महासचिव डा योगेश न्यौपानेले विज्ञप्ती जारी गर्दै बहिरोपनाको समस्याबाट जोगाउन आम अभिभावक तथा सर्वसाधारणले के के कुरामा ध्यान दिने भनेर जानकारी गराएका छन्।
हुन पनि बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ। विश्व स्वास्थ्य संघको २०१८ को तथ्याङ्गअनुसार संसारभर ४६ करोड (६.१५ प्रतिशत) मानिसहरुमा श्रवण अशक्तता अर्थात बहिरोपनाको समस्या छ।
केही वर्ष अगाडिको तथ्याङ्क अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ। सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ।
यसैबीच सोसाइटीले विश्व श्रवण दिवसको सन्दर्भ पारेर आम अभिभावक तथा सर्वसाधारणका लागि सन्देश जारी गर्दै बहिरोपन रोकथाम गर्न केही कुराहरुमा ध्यान दिनुपर्ने बताएको छ।
अध्यक्ष प्राडा श्रेष्ठ र महासचिव डा न्यौपानेद्धारा हस्ताक्षरित सन्देशमा बहिरोपन रोकथाम गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने उल्लेख छ।
ध्यान दिनुपर्ने १० कुराहरु :
१. संक्रमणबाट कानलाई बचाउँनुपर्दछ। कान पाकिहाले नजिकैको चिकित्सकसगँ सल्लाह लिनुपर्दछ। रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ। यो नली लामो समयसम्म बन्द भईरहेमा मध्य कानमा असर पर्दछ। यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउँनको लागि आमाको दुध खुवाउने, दुध खुवाउदा बसालेर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जड़ फुड नखुवाउने गर्नुपर्दछ। यस्तै रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनु पर्दछ र निको नभएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानु पर्दछ।
२. कानलाई चोटपटकबाट बचाउँनु पर्दछ। कान कोट्याउदा कानको जालीमा असर पर्दछ र जाली फुटने सम्भावना हुन्छ। त्यसैले कान कोट्याउनु हुँदैन भन्ने कुरा जनमानसमा सिकाउँनु पर्दछ।
३. बच्चामा सुनाई सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सक सम्म पुर्याई उनीहरुको सल्लाह लिनु पर्दछ।
४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन।
५. गर्भवती भएको पहिलो तिन महिनासम्म आफु खुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्दछ। गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुँदैन।
६. आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्दछ।
७. सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन। वाजाहरु पनि धेरै चर्को रुपमा बजाउँनु हुँदैन। गाडिको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउँनु हुँदैन।
८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन। गर्नै परे चर्को सुन्नु हुँदैन।
९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउँनु पर्दछ। यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परिक्षण गर्ने व्यवस्था मिलाउनुपर्दछ।
१०. श्रवण शक्तिलाई कसरी बचाउँन सकिन्छ, श्रवण शक्तिको ह्रास भईहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटो भन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सर्वसाधारणलाई विभिन्न माध्यामबाट शिक्षा दिनुपर्दछ।