काठमाडौं- बलिउड अभिनेत्री जान्हवी कपुरले स्ट्यान्डअप कमेडी थालेकी छिन्। उनको पहिलो कमेडीमा एचपीभी (मानव प्यापिलोमा भाइरसको संक्रमण)का बारेमा सचेत गराएकी छिन्। उनले कमेडीबाट यसबाट हुने रोगका बारेमा जानकारी गराएकी हुन्।
उनको उक्त तरिका युट्यु्बमा मन पराइएको छ। सामाजिक सञ्जालमा यसबारे सकारात्मक प्रतिक्रिया उनले पाइरहेकी छिन्। उनले उक्त भाइरस सर्ने तरिका र बच्च उपाय बुझिनेगरी बताएकी छिन्। उक्त भाइरसबाट पाठेघरको मुखको क्यान्सर हुन्छ । त्यसैले बच्नका लागि भ्याक्सिन लगाउनु जरुरी भएको बताइन्।
ह्युमन प्यापिलोमा भाइरस १०० भन्दा बढी प्रकारका हुन्छन्। सङ्क्रमण भए पनि धेरैजसोमा कुनै लक्षण देखिँदैन। तर, केही प्रकारले भने मुहार, हात खुट्टा, यौनाङ्ग र मुखभित्र पनि मुसाहरू उत्पन्न गराउँछ।
तर उच्च जोखिम प्रकारका एचपीभीले क्यान्सर पनि गराउन सक्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट ९० प्रतिशत जति मृत्यु न्यून र मध्यम आय भएका मुलुकमा हुने गरेको छ। यस्ता मुलुकमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ढिलो हुने भएकाले त्यस्तो भएको हो।
गत वर्ष डब्लूएचओले यो रोगलाई सन् २०३० सम्म ९० प्रतिशतलाई खोप दिलाएर आगामी शताब्दीसम्ममा यो रोग उन्मुलन गर्ने घोषणा लक्ष्य लिएको छ। अहिले १०० भन्दा बढी मुलुकमा एचपीभी खोप दिन थालिएको छ।