सिओल- दक्षिण कोरियामा आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए सरकारले अनुमति पत्र रद्द गर्ने चेतावनी दिएको छ। उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको हो।
तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।
देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन्।
विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ। त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ।
दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ। आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाको मूल्य निकै कम तोकिएको छ। जबकि कस्मेटिक सर्जरी लगायतको मूल्य निकै उच्च रहेको छ। यसले डाक्टरहरू ठुला सहरका आकर्षक स्थानमा काम गर्न आकर्षित बनेका छन्।
यही कारणले ग्रामीण क्षेत्रमा डाक्टरहरूको कमी देखिएको छ। दक्षिण कोरियामा डाक्टरहरूलाई राम्रो तलब सुविधा दिए पनि काम गर्ने समयको तुलना गर्दा उनीहरूले न्यूनतम तलबभन्दा पनि कम आम्दानी गरिरहेको तर्क गर्छन्।
२५ वर्षीय डाक्टर रायू ओके हाडाले आफूले हप्तामा १ सय घण्टाभन्दा बढी काम गर्ने गरेको सुनाए। उनका अनुसार कहिलेकाहीँ आफूले नसुती ४० घण्टासम्म काम गर्ने गरेको बताए।
के भन्छन् आन्दोलनकारी चिकित्सक
पच्चीस वर्षीय चिकित्सक र्यू उक-हाडा र उनका सहकर्मीहरू एक सातादेखि काममा गएका छैनन्।
"बिहान ४ बजे उठ्नु नपर्दा अनौठो लाग्छ," र्यूले ठट्टा गरे।
उनका अनुसार उनी सातामा १०० घण्टासम्म काम गर्थे। ४० घण्टासम्म नसुती काम गरेको सम्झिँदै उनले भने, "यति थोरै पैसामा हामी यति धेरै काम गर्नुपर्छ।"
दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च छ। तर लामो अवधि काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने र्यूले बताए।
चिकित्सकको सङ्ख्या बढाउँदैमा कम पैसामा बढी कामको यो संरचनागत समस्या समाधान नहुने उनको तर्क छ।
दक्षिण कोरियामा धेरै स्वास्थ्यसंस्थाहरू निजी भए पनि सस्ता छन्। तर देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ।
यसले धेरै चिकित्सकहरूलाई सहरतर्फ आकर्षित गरेको छ र ग्रामीण अस्पतालहरूमा जनशक्तिको अभाव सिर्जना गरेको छ।
विगत एक वर्षदेखि काम गरिरहेका र्यूले सस्तो श्रमका लागि शिक्षण अस्पतालहरूले प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरूको शोषण गरिरहेको बताए।
केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन्। त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको छ।
सेवामा अवरोध हुँदा पहिले नै मिति तोकिएका धेरै प्रक्रियाहरू स्थगित भएका छन्। आकस्मिक उपचारमा थोरै मात्र अवरोध भएको छ। यद्यपि गत शुक्रवार सातवटा अस्पतालले उपचार गर्न नमानेपछि हृदयाघात भएकी एक वृद्धाको एम्बुलेन्समा नै मृत्यु भयो।
'चिकित्सकहरू छैनन्'
बिरामीहरूले चिकित्सक पाएका छैनन् भने काममा खटेका स्वास्थ्यकर्मीहरूलाई भार थपिएको छ।
नर्सहरूले शल्यक्रिया कक्षमा डाक्टरहरूले नै गर्नुपर्ने काम गर्न आफूहरूलाई बाध्य पारिएको बताएका छन्।
सोलस्थित एउटा अस्पतालमा कार्यरत नर्स चोईले आफूले प्रत्येक दिन डेढ घण्टा बढी काम गर्नुपरेको र अहिले आफूले दुई जनाले गर्ने कामको चाप खेप्नुपरेको बताइन्।
"यो जारी छ र अन्त्य हुने कुनै सम्भावना नदेखिएकाले बिरामीहरू चिन्तित छन् अनि म पनि निराश छु," उनले भनिन्।
ती नर्सले चिकित्सकहरूलाई आफ्ना मागहरू पूरा गराउन अर्को बाटो खोज्न र काममा फर्किन आग्रह गरिन्।
सरकारी प्रस्तावमा आगामी वर्ष विश्वविद्यालयहरूमा भर्ना हुने मेडिकल विद्यार्थीको सङ्ख्या ३,००० बाट बढाएर ५,००० पुर्याइने उल्लेख छ।
आन्दोलनरत चिकित्सकहरूले चाहिँ धेरै डाक्टर उत्पादन गर्दा सेवाको गुणस्तर खस्किने तर्क गरेका छन्। धेरै चिकित्सक उत्पादन हुँदा कम क्षमता भएकाहरूले पनि लाइसेन्स पाउने सम्भावना हुने उनीहरूको डर छ।
तर चिकित्सकहरूले सर्वसाधारणलाई धेरै डाक्टर हुनु नराम्रो कुरा हो भन्नेमा विश्वस्त पार्न सकेका छैनन्। त्यसैले उनीहरूले खासै सहानुभूति प्राप्त गर्न सकेका छैनन्।
बिरामीको गुनासो
आन्द्राको क्यान्सर भएकी ७४ वर्षीया लीको मङ्गलवार सोलस्थित सेभरन्स अस्पतालमा उपचार भएको थियो। उनी झन्डै एक घण्टाको यात्रा गरेर त्यहाँ पुगेकी थिइन्।
"यो सहरभन्दा बाहिर जहाँ हामी बस्छौँ त्यहाँ डाक्टरहरू नै छैनन्," उनले भनिन्।
"यो समस्या लामो समयदेखि छ र समाधान खोज्नु आवश्यक छ," लीका पति सून-दोङले भने। "डाक्टरहरू धेरै नै स्वार्थी भए। उनीहरूले हामी बिरामीलाई बन्धक बनाएका छन्।"
उनीहरू धेरै चिकित्सकहरू विरोधमा सहभागी भएको कुराले अझ चिन्तित छन्।
समस्या समाधान हुने भए आफूहरू चिकित्सकलाई बढी रकम तिर्न पनि तयार भएको उनीहरू बताउँछन्।
सरकारको चेतावनी
तर यो हडतालका कारण राष्ट्रपति यून सङ-येओलको लोकप्रियता केही बढेको छ। त्यसले उनलाई आगामी एप्रिलमा हुने चुनावमा फाइदा पनि पुग्न सक्ने ठानिन्छ।
आन्दोलनकारी र सरकारबीचको तनाव भने चर्किएको देखिन्छ।
स्वास्थ्य मन्त्रालयले हडतालमा सहभागी चिकित्सकहरूलाई समयसीमा तोकेर काममा नफर्किए मेडिकल कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गर्ने चेतावनी दिएको छ।
उप-स्वास्थ्यमन्त्री पार्क मिन-सूले यदि तोकिएको समयमा काममा नफर्किए चिकित्सकहरूको लाइसेन्स कम्तीमा तीन महिनाका लागि निलम्बन गरिदिने बताएका छन्।
तर हडतालमा सहभागी कतिपय चिकित्सकहरू सरकारको चर्को चेतावनीले जनस्तरको मत फेरिन सक्ने ठान्छन्।
आइतवार कोरियन मेडिकल असोसिएशनले वरिष्ठ चिकित्सकहरू उक्त हडतालमा सहभागी हुने किन नहुने भन्ने विषयमा निर्णय गर्न मतदान गर्दै छ।
कनिष्ठ सहकर्मीहरूलाई पक्राउ गरिए वरिष्ठ चिकित्सकहरूले प्रतिक्रिया व्यक्त गर्न सक्छन्।
र्यूले सरकारले आफ्ना मागहरू सुनुवाइ नगरे आफू पक्राउ पर्न तथा मेडिकल लाइसेन्स गुमाउन तयार रहेको बताए। उनी आफू चिकित्सकको पेसा छाड्न पनि सक्ने बताउँछन्।
"मेडिकल प्रणाली टुटेको छ र यस्तै भइरहे यसको कुनै भविष्य छैन, यो ध्वस्त हुन्छ।"
"मैले पहिला खेतीपाती गरेको थिएँ। सायद म फेरि खेतीपाती गर्न जान्छु होला।" बीबीसी