काठमाडौं- नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा हुन लागेको तीन दिने नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलामा विभिन्न अफर र छुट दिइने भएको छ। एनडिडिएले आगामी चैत २, ३ र ४ गते नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलाको आयोजना गरेको छ।
मेलामा आफ्ना वितरक तथा आयातकर्ताहरुलाई सकेको कम दर मूल्यमा अफर तथा छुट गर्न नेप्डेन्ट कमिटिले निर्देशन दिइसकेको मेलाका सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।
'नेप्डेन्ट मेलामा आउने ग्राहकहरुले विशेष छुट तथा विभिन्न अफरहरु पाउने छन्,' उनले भने, 'यो मेला दन्त सामग्रीको व्यापार मेला भएकाले ग्राहकहरुलाई लक्षित गर्दै अफर र छुटको व्यवस्था गरेका हौं। हामीले आफ्ना वितरक र आयातकर्ताहरुलाई अफर र छुट दिन निर्देशन समेत दिइसकेका छौं।'
एनडिडिएले नेपालमा दोस्रोपटक यस्तो मेला गर्न लागेको हो। उक्त मेला भुकुटीमण्डपमा हुन लागेको संघका सुवेदीले बताए। मेलामा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने सुवेदीले जानकारी दिए।
यसभन्दा अघि संघले गोदावरीमा यस प्रकारको मेला सम्पन्न गरेको थियो।
हालसम्म नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४४ संस्थाहरुले काम गर्दै आइरहेका छन्। करिब १०० भन्दा बढी स्टल रहने उक्त मेलामा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने छ। कार्यक्रममा दन्त चिकित्सकहरुका लागि विशेष प्रकारको तालिम पनि प्रदान गरिने संघका सचिव निरन्जन खतिवडाले बताए।