घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ। ११ वर्षिय बालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई बच्चाको अण्डकोषमा झारीएको हो।
पूर्वी रुकुमको सिस्ने गाँउपालिका वडा नम्वर ७ घर भएका बिरामीको रोगको डाइग्नोशिस गर्नेक्रममा अण्डकोषमा अण्डा फेला नपरेपछि दुरबिन विधिवाट अप्रेसन गरेर पेटमा भएको अण्डा अण्डकोषमा ल्याइएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए।
प्रतिष्ठानका सर्जन डा अभिषेक पौडेलको नेतृत्वमा रहेको एनेस्थेसियोलोजिष्ट डा प्रज्वल भट्टराईसहीत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको टोलीले सफल अप्रेसन गरेको हो। ‘बिरामी बच्चा ११ वर्षपछि उपचारको क्रममा प्रतिष्ठान आइपुगेका हुन्, हामीले राम्रो तरीकाले रोगको डाइग्नोसिस गर्नेक्रममा बच्चाको अण्डकोषमा रहेको अण्डा नै नरहेको भेटियो–अप्रेसन संलग्न चिकित्सक सर्जन डा पौडेलले भने–‘पेटमा भएको अण्डा दुरविन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याउन सफल भयौ।’
बिरामीको उपचारपछि अवस्था सामान्य रहेपछि डिष्चार्ज गरीएको सुचना अधिकारी भट्टराइले बताए। लामो समयपछि बिरामी उपचारको क्रममा अस्पताल आएका कारण त्यो कुरा पत्ता लागेको भन्दै सर्जन डा पौडेलले उमेर बढ्दै जाँदा अण्डकोषमा अण्डा नहुँदा भविष्यमा प्रजनन स्वास्थ्यमा समस्या हुने,अण्डा सानो हुँदै जाने र क्रमश सुक्दै जाने, अण्डामा क्यान्सर हुने लगायतका थुप्रै समस्या देखीन सक्ने खतरा भएकाले बच्चाले समयमै उपचार पाएका कारण त्योबाट मुक्त भएको बताए।
अधिकांशको जन्मनेक्रममै अण्डकोषमा अण्डा आउने भएपनि कसैको नआएमा अण्डकोषमा अण्डा शल्यकृयाबाट ल्याउन सकिने उनको भनाई छ।