१. मनोवैज्ञानिक प्राथमिक उपचार किन ?
समस्या वा चोट पर्दा त्यो थाहा पाएर आफूले सकेको कोसिस गर्नु, कदम चाल्नु र आवश्यक परेमा अरुबाट सहयोग लिनु भनेको अस्तित्वको लागि उपयुक्त पहुँच हो। यसको निर्दिष्ट ज्ञान, अनुभव, सिप, तालिम वा दक्षता बिना यस्तो समस्याग्रस्त अवस्थामा चालिने कदम उपयुक्त नभएमा थप जटिल बन्नसक्छ एकातिर भने अर्कोतिर यस्ता कदम नलिँदा समस्या झन् जटिल र कडा बन्न जान्छ। यस्तो अवस्थामा के कस्ता कदम कसरी उठाउँदा राम्रो हुन्छ भन्ने जानकारी राख्नुपर्ने हुन्छ।
नेपालमा व्यक्तिगत (खतरा बढी तर तनाव व्यवस्थापनबारे शिक्षा, कुराकानी र जानकारी नगन्य भएको), पारिवारिक (जस्तैः वैदेशिक रोजगारीको परिप्रेक्ष्यमा विशेष गरेर निगरानी, साथसहयोग कम तर कलह, झैझगडा, बैमनस्यता ज्यादा भएको), सामाजिक (जस्तैः भरोसा, सद्भावना, सुशासनको अभाव र परिवर्तनशील सामाजिक व्यवस्था र संरचनामा सहयोगको कमी भएको) र राज्यको तहमा (जस्तैः राजनीतिक अस्थिरता, गरिबी, प्राकृतिक प्रकोप ब्याप्त भएको) तनाव, विपद र समस्या बढी भएको समयकाल र परिस्थिति छ।
तर सर्वसाधारणदेखि उच्च पठित, सबैमा यसको सरोकार, साक्षरता र जानकारीको कमि देखिन्छ। समयमै उपयुक्त कदम चाल्न नसक्दा रोकथाम हुनसक्ने कतिपय जटिलताहरू भइरहेको देखिन्छ। यस्तो परिप्रेक्ष्यमा मानसिक रोगको भार, आत्महत्या, हत्या, हिंसा, दुर्घटना र अशान्ति शारीरिक रोग र चोटपटक जस्तै व्याप्त छ। शारीरिक चोटपटकमा जस्तै मानसिक चोट, मनोवैज्ञानिक आघातमा पनि प्राथमिक उपचारको आवश्यकता पर्दछ।
२. मनोवैज्ञानिक प्राथमिक उपचार के हो?
मानसिक चोट, मनोवैज्ञानिक आघात लागेका वा बेचैनीमा रहेका मानिसलाई सघाउने सिप, कला, ज्ञान वा प्रक्रियालाई मनोवैज्ञानिक प्राथमिक उपचार (psychological first aid) भनिन्छ। अप्ठ्यारो परिस्थितिमा रहेका मानिसलाई शान्त पार्ने र परिस्थितिसँग जुध्न सघाउने प्रक्रिया नै मनोसामाजिक समस्याको मनोवैज्ञानिक प्राथमिक उपचार हो। शरीरमा चोटपटक लाग्दा उपचारमा पुग्न अगाडि प्राथमिक उपचारको आवश्यकता हुन्छ। जीवनमा हर समय नयाँ परिस्थिति, संघर्ष, समस्या आइपर्छ। त्यस्तोमा समायोजनको लागि विशेष पहल गर्नुपर्छ। यस्तो अवस्थालाई तनाव भनिन्छ र तनाव सकारात्मक, नकारात्मक वा तटस्थ खालको हुनसक्छ।
कतिपयलाई त्यस्तो अवस्थामा समायोजन गर्न गाह्रोसाह्रो परी बेचैनी पैदा हुन्छ। त्यस्तो अवस्थामा व्यक्तिलाई परिस्थितिसँग जुध्न सरल बनाउने र मन शान्त पार्ने उद्देश्यले अर्को मान्छेले सघाउने जुन प्रक्रिया हुन्छ, त्यही नै मनोवैज्ञानिक प्राथमिक उपचार हो। यस हिसाबले हरेक व्यक्तिलाई प्राथमिक स्वास्थ्य उपचारको ज्ञान, सीप र दक्षता जरुरी हुन्छ। र, यो सिक्न सकिन्छ।
मनोवैज्ञानिक प्राथमिक उपचारको यो सिप भनेको क. परिस्थितिलाई कसरी बुझ्ने वा मूल्याङ्कन गर्ने, ख. विपदको बेलामा के कस्ता प्रतिक्रियाहरु हुन्छन्, ग. यस्ता बेचैन मान्छेहरूसँग कसरी पहुँच राख्ने, घ. यस्ता व्यक्तिलाई कसरी शान्त बनाउने र ङ. कसरी भावनात्मक सहयोग तथा व्यावहारिक सहायता पुर्याउने भनेर जान्नु हो। विपदमा बेचैनीमा रहेका ब्यक्तिलाई शान्त महसुस गराउनु, उसका आवश्यकता र पिरहरू बुझ्नु, उसलाई थप हानी नहोस् भनेर बचाउनु, उसलाई भावनात्मक सहायता प्रदान गर्नु, उसका तत्कालका आधारभूत आवश्यकताहरु पूरा गर्न सघाउनु तथा आवश्यक जानकारी, सेवा वा सामाजिक सहायता प्रदान गर्नु मनोवैज्ञानिक प्राथमिक उपचारका अंशहरु हुन्।
प्राथमिक मनोवैज्ञानिक उपचार भनेको स्वास्थ्यकर्मीको सम्पर्कमा जानुभन्दा पहिले चालिने कदम, उठाइने प्रयास हो। यो उपचार, मनोपरामर्श वा थेरापी होइन, यो घटनाको विस्तृत छलफल, विवरण विश्लेषण होइन, घटनाबारे विवरण उल्लेख गर्न दबाब दिनु पनि होइन। न यो घटनाप्रतिको दृष्टिकोण, अनुभूति वा प्रतिक्रिया नै हो।
३. मनोवैज्ञानिक प्राथमिक उपचार कसले कसलाई दिने हो?
समस्या, विपद वा तनाव जो कसैलाई हुनसक्छ। यस्तोमा कतिपयले जुध्न सक्छ भने कतिपयलाई गाह्रो भई बेचैनी हुन्छ, समस्यासँग जुझ्न अप्ठ्यारो हुन्छ र उनीहरुलाई सहयोगको जरुरी हुन्छ। विशेष गरेर विपद, संघर्ष, हिंसाको अवस्थामा यस्तो बेचैनी वा तनावको अवस्था आइपर्छ। यस्तोमा मानिसहरूले विभिन्न किसिमले प्रतिक्रिया जनाउँछन्, कतिपयले आफैं परिस्थितिको सामना गर्दछन्। सबैले यस्तो बेलामा अरुको सहयोग चाहन्छ वा आवश्यक हुन्छ भन्ने होइन तर कतिपयलाई अरुको सहयोग जरुरी हुनसक्छ।
अक्सर विपद वा समस्या भइरहेको अवस्थामा वा केही समयपछि नै यस्तो सहायताको जरुरी पर्नसक्छ तर घटना भएको जुनसुकै अवस्थामा, निकै पछिसम्म पनि उसलाई सहयोगको जरुरी पर्नसक्छ। यस्तो बेलामा शान्त र डिस्टर्ब नहुने ठाउँमा यस्तो सहायता प्रदान गर्नु पर्छ। विशेष गरेर यौन हिंसा जस्ता कुराहरुमा गोपनियताको जरुरी हुन्छ र यस्तोमा व्यक्तिको मर्यादाको ख्याल राख्नुपर्ने हुन्छ। यस्तो सहायता जो कोही भोलेन्टियर, साथीभाई, शिक्षक, धार्मिक गुरुदेखि लिएर जनमानस, जो कसैले पनि प्रदान गर्नुपर्ने हुनसक्छ।
४. मनोवैज्ञानिक प्राथमिक उपचारमा के गर्नुपर्ने हो?
यस्तो खालको सहयोग व्यक्तिले औपचारिक तालिम नपाए पनि समस्या परेको व्यक्तिको कुरा सुन्न, उसलाई सहयोग गर्न, उसलाई शान्त बनाउन र परिस्थितिसँग सामना गर्न सघाउनको लागि आवश्यक हुन्छ। यसरी सघाउने व्यक्तिले घटनास्थल वा परिस्थितिलाई नजिकबाट नियाल्नु (look) जरुरी हुन्छ। व्यक्तिसँग घटना र उसको आवश्यकता र अवस्थाको बारेमा सोध्न र उसको कुरा सुन्न, बुझ्न (listen) जरुरी हुन्छ। उसको कुरा सुनेर बुझेर आवश्यकता, अवस्था र परिस्थिति अनुसार कदम उठाउन र सम्बोधन (link) गर्न जरुरी छ। घटना के कस्तो भएको थियो वा भइरहेछ, कसलाई सहयोग जरुरी हुन्छ, सुरक्षा र हानिको खतरा, शारीरिक चोटपटक, तत्काल आवश्यक आधारभूत र व्यावहारिक आवश्यकताहरु, व्यक्तिमा देखिएका भावनात्मक प्रतिक्रियाहरु नजिकबाट नियाल्न, अवलोकन (look) गर्न जरुरी हुन्छ।
समस्यामा रहेका बेचैन व्यक्तिको पहुँचमा पुगेर, आफ्नो परिचय दिएर उसको समस्या ध्यान दिएर सुन्न, बुझ्न (listen) जरुरी हुन्छ। उसका अनुभूतिहरुलाई शान्तपूर्वक सुन्न र उसका आवश्यकता र सरोकार के छन् भनेर बुझ्न जरुरी हुन्छ। उसको आवश्यकता अनुसारको उपयोगी जानकारी दिन, उसका आफन्त र सामाजिक सहायता श्रोतसँग जोडिन (link), व्यावहारिक समस्याहरु समाधान गर्न र आवश्यक स्वास्थ्य वा अन्य सेवाहरूको पहुँचमा पुग्न सघाउन जरुरी हुन्छ।
५. ढिला नगरी उपचारमा पुर्याउनुपर्ने अवस्था कस्तो हो?
यदि व्यक्तिमा मानसिक लक्षणहरू पैदा भए, अवस्था जटिल भएर गए, भनेको मतलब लामो समय रहे, उसको काम कारबाहीमा असर पर्यो, विविध पाटाहरूमा उसको नियन्त्रणभन्दा बाहिर जाने हिसाबले असर गरेको छ र अरु पनि लक्षणहरू पैदा भएका छन् भने, यस्तो अवस्थामा व्यक्ति समयमै उपचार सेवामा पुग्नुपर्ने हुन्छ। शारीरिक चोटपटक लागेर चिकित्सकीय सेवा चाहिने, यौन हिंसा, धेरै व्यक्तिहरूलाई एकसाथ सहयोग जरुरी भएको अवस्था, बच्चा, महिला, अपाङ्ग वा निश्चित आवश्यकता भएका वा अघि भनिए जस्तै विविध खालका लक्षणहरु उत्पन्न भएका व्यक्तिहरुलाई तत्काल उपचारका लागि सघाउनुपर्ने हुन्छ।
यस्ता व्यक्तिहरुमा विभिन्न खालका व्यवहार, बोली अनुभूति वा भावना, सोच, ज्ञानेन्द्रिय ज्ञान, होस्, चेत, स्मृति, बुद्धि, निर्णय क्षमता वा अन्तरज्ञानमा गडबडी आउने लक्षणहरू हावी हुने, नशालु पदार्थहरूको सेवन गर्ने वा आफैलाई हानि पुर्याउने वा आत्महत्या गर्ने व्यवहारहरू भएमा यस्तो अवस्थालाई जटिल अवस्था मानेर तत्काल उपचार सेवामा पुर्याउनको लागि सघाउनुपर्ने हुन्छ।
६. मनोवैज्ञानिक प्राथमिक उपचारका मुख्य अंगहरू के के हुन्?
मनोवैज्ञानिक प्राथमिक उपचारका मुख्य अंगहरूमाः १. सबभन्दा पहिले उसलाई व्यावहारिक रुपमा हेर विचार र सहायता पुर्याउनु, २. उसका आवश्यकता र सरोकारहरू बुझ्नु, ३. उसका आधारभूत आवश्यकताहरु पूर्ति गर्न सघाउनु, ४. उसको कुरा सुन्नु तर र बोल्न दबाब नदिनु, ५. उसलाई शान्त र आरामदायी रहन सघाउनु, ६. आवश्यक सेवा र जानकारी प्रदान गर्नु र जोड्नु, ७. उसलाई थप अरु हानि नहोस् भनेर चनाखो हुनु, ८. विशेष गरेर बालक, महिला, अपाङ्ग, अल्पसंख्यक व्यक्तिहरुलाई मानसिक मनोवैज्ञानिक हिसाबले आघात पर्ने विशेष खतरा रहेकाले होशियार रहनु पर्दछन्।
व्यक्तिको सांस्कृतिक, सामाजिक, शैक्षिक र बौद्धिक क्षमता र पृष्ठभूमिको आधारमा उपयुक्त ढंगले व्यवहार र सहयोग गर्न जरुरी हुन्छ।
७. मेरो भन्नु यत्ति छः
व्यक्ति, परिवार, समाज, संघ, संस्था, स्थानीय सरकारदेखि केन्द्रसम्म सबैले यसबारे सरोकार, सुचना, व्यवस्था, सञ्जाल, सम्बन्ध (कनेक्सन), प्रणाली (सिस्टम), जानकारी, कार्यक्रमहरू, तालिम इत्यादिको लागि आवश्यक पैरवी र आवाजको उत्थान गर्दै हर तहमा समावेश गर्न जरुरी हुन्छ। शारीरिक रोग, चोट, समस्यामा जस्तै रेडक्रस जस्ता संस्थाहरुले मनोवैज्ञानिक प्राथमिक उपचारमा कार्यक्रम सञ्चालन गर्नुपर्छ।
मनोवैज्ञानिक प्राथमिक उपचारको पनि नियमित र निरन्तर कार्यक्रम, परियोजना र बजेट हुनुपर्छ। स्कुल, क्लब, संघसंस्था, समाज, उद्योगहरू मार्फत यसबारे आवश्यक कला, जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन तालिम, कार्यक्रम आवश्यक हुन्छ। यसबारे जानकारी सबैलाई जरुरी हुन्छ। त्यसैले, यो सामग्री बढीभन्दा बढी मानिसहरु, आफ्ना प्रियजन, आफन्त, नातागोता, साथीभाई, सहकर्मीहरूसम्म पुर्याउन, शेयर गर्न हार्दिक अनुरोध गर्दछु।