काठमाडौं- नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनर (युएसएमएलई)ले हरेक प्रश्नको जवाफ दिन ९० सेकेण्ड लाग्ने भएतापनि नेपाली डाक्टरले ३० सेकेण्ड भन्दा कममा जवाफ दिएको पाइएको बताएको छ। नेपाली चिकित्सकले दायर गरेको मुद्दामा जवाफ दिँदै उसले अमेरिकाको अदालतमा पेश गरेको जवाफमा यस्तो बताएको हो।
अमेरिकाबाट प्रकाशित हुने खसोखासका अनुसार नेपाली विद्यार्थीले अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको बताएको छ। उसले भनेको छ, 'स्टेप १ मा ९५ प्रतिशत, स्टेप २ मा ९१ प्रतिशत, स्टेप ३ मा ९१ प्रतिशत जवाफ सही दिइएएको छ त्यो पनि २० सेकेण्डभन्दा कम समयमा।'
अदालतमा पेश गरेको जवाफमा युएसएमएलई परीक्षामा नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग मिलेको बताइएको छ। युएसएमएलईले नेपालमा मात्रै नभइ भारतका दुईवटा सेन्टर, जोर्डन, नेपाल र पाकिस्तानमा समेत नतिजा रद्द गरिएको जनाएको छ।
परीक्षाका गोप्य सामाग्रीहरु ठूलो मात्रामा नेपालमा सामाजिक सञ्जाल र सामाजिक सञ्जालका च्याटरुमहरुमा शेयर गरेको पाइएको उसको दाबी छ। 'परीक्षा सामाग्रीहरूमा अनाधिकृत पहुँच प्राप्त गर्ने, प्राप्त गर्न खोज्ने वा प्रदान गर्ने जस्ता गतिविधिहरु युएसएमएलई परीक्षाका सन्दर्भमा अनियमित गतिविधि मानिन्छन् । परीक्षाका प्रश्नपत्रबारे सम्झेर एकअर्कासँग छलफल गर्न वा बताउन पनि निषेध गरिएको छ भने विगतका प्रश्नहरुबारे छलफल गर्न पनि निषेध गरिएको हुन्छ,' युएसएमएलईको तर्क छ, 'अनलाइनमामात्र होइन, व्यक्तिगत रुपमा भेटेर पनि विगतका प्रश्नहरु सम्झेर बताउनु र त्यस्ता प्रश्नमा पहुच प्राप्त गर्न खोज्नु पनि अनियमित गतिविधि हो। कुनैपनि माध्यमबाट परीक्षा सामाग्रीको अनधिकृत पुनरुत्पादन, स्मरण र इन्टरनेट मार्फत प्रसार पनि गर्न पाइदैन।'
अनलाइन र सामाजिक सञ्जाल लगायतका सञ्चारमार्फत् परीक्षा तयारी समूह नै बनाएर बिगतका प्रश्नबारे छलफल गरेको आफूले भेटेको दाबी गरिएको छ।
युएसएमएलई परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांक पनि अदालतमा पेश गरिएको छ। सन् २०२० मा स्टेप १ को परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या ३६३ रहेकोमा २०२२ मा ६४९ र २०२३ मा ९८१ पुगेको उल्लेख छ। स्टेप २ को परीक्षा दिने नेपालीहरु सन् २०२१ मा २३० जना रहेकोमा २०२२ मा ४४८ र २०२३ मा ६४१ पुगेको देखाइएको छ । त्यस्तै स्टेप ३ को परीक्षा दिने नेपालीहरु २०२१ मा ९० जना रहेकोमा २०२२ मा ३८४ र २०२३ मा ७३२ पुगेको देखिएको छ। उनीहरुले ल्याएको स्कोर पनि अनपेक्षित रहेको बताइएको छ।
नेपाली डाक्टरहरुले टेलिग्राममा परीक्षाबारे गरेको समुहगत छलफलको स्क्रिनसटहरु युएसएमएलईले अदालतमा पेश गरेको छ। युएसएमएलईका लागि काम गर्ने एकजनाले टेलिग्रामको मेसेज ग्रुपमा पहुँच प्राप्त गर्न सफल भएको र उक्त समुहमा झण्डै १३ सय सदस्य रहेको अदालतलाई पेश गरेको जवाफमा उल्लेख छ। उक्त समुहमा गरिएको एउटा च्याटमा परीक्षार्थीहरु स्टेप १ को परीक्षाका लागि तोकिएको समयभन्दा दुई-तीन घण्टा अगाडि नै सकेर बाहिरिएको पाइएको छ।