काठमाडौं- सूर्तिजन्य पदार्थ उत्पादक कम्पनी सूर्य नेपाल प्रालिको आर्थिक लगानीमा हुन लागेको 'नेपाल लिटरेचर फेस्टिभल' बिहिबारदेखि हुँदैछ। सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको लोगो र चिह्न समेत प्रयोग गर्नु गैरकानुनी भएपछि आयोजक संस्थाले बुकवर्म फाउन्डेसनले 'सूर्य नेपाल गाथा' नामक संस्थाको सहयोग लिएको दाबी गरेको छ।
सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोग लिएको/नलिएको बारे उपभोक्ता हित संरक्षण मञ्चथले प्रश्न गरेको थियो। उक्त प्रश्नको जवाफमा भनिएको छ, 'नेपालको औद्योगिक व्यवसाय ऐन बमोजिम नाफाको १ प्रतिशत व्यवसायिक सामाजिक उत्तर दायित्व (सीएसआर) अन्तर्गत निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न स्थापना गरेको सूर्य नेपाल गाथाले नेपाल लिटरेचर फेस्टिभललाई सहयोग उपलब्ध गराएको हो।'
बुकवर्मले उक्त दाबी गरेपनि 'सूर्य नेपाल गाथा' नामक उक्त संस्था सूर्य नेपाल प्रालिको आधिकारिक वेबसाइटमा छैन। सीएसआर भनेर छुट्टै सेक्सन समेत बनाएको सूर्य नेपालका अन्य चार संस्था छन्। सूर्य नेपालको सीएसआर प्रयोग हुने संस्थामा सूर्य नेपाल खेल पर्यटन, सूर्य नेपाल प्रकृति र सूर्य नेपाल आशा रहेका छन्।
'बौद्धिक मन्थनको मञ्च भनेर चिनिने फेस्टिभलले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोग नलिइएको भनिएको छ। सूर्य नेपाल प्रालि सूर्तिजन्य पदार्थको उत्पादनकै लागि चिनिएको छ । हामीलाई आयोजकले ढाटेको महशुस भएको छ,' मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना भन्छन्, 'सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीबाट हो वा अन्यबाट, त्यो सरकारले छानविन गर्नुपर्छ।' यसबारे ध्यानाकर्षण गराउँदै सरकारी निकाय समक्ष पनि पत्र पठाइएको उनले बताए।
'उल्टै सूर्य नेपाल प्रालि देशमै धेरै कर तिर्ने कम्पनी भएको भन्दै पक्षधरता लिनु सन्देहपूर्ण देखिएको छ,' मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले भने।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ दफा १० मा यससम्बन्धी व्यवस्था कसैले पनि कम्पनीको लोगो, ब्रान्ड वा इमेज प्रदर्शन गर्न नपाउने लेखिएको छ। तर, सूर्य नेपाल प्रालिको लोगो मुनी मसिनो अक्षरमा गाथा लेखेर फेस्टिभलमा प्रबर्द्धन गरिएको पाइएको छ।
कानुनमा भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।’
उक्त फेस्टिभलमा जनस्वास्थ्य का लागि हानिकारक सूर्तिजन्य पदार्थ उत्पादन कम्पनीको लोगो प्रबर्द्धन गरिएको भन्दै सरोकारवालाहरुले समेत आपत्ति जनाएका छन्। एक्सन नेपाल, नेपाल विकास अनुसन्धान प्रतिष्ठान, नेपाल अर्बुद रोग निवारण संस्था र उपभोक्ता हित संरक्षण मञ्चले विज्ञप्ति समेत निकालेर विरोध जनाएका छन्।
सार्वजनिक व्यक्तित्वले देखाउलान् नैतिकता?
सूर्य नेपाल प्रालिले यसअघि डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई पाँच करोड रुपैयाँ 'सीएसआर' भन्दै दिन खोजेको थियो। डा कोइराला जस्तो व्यक्तित्वको नेतृत्वमा बन्ने अस्पतालले सूर्तिजन्य पदार्थ उत्पादकको सहयोग लिन नहुनेतर्फ ध्यानाकर्षण गराइपछि त्यो रोकिएको थियो। सूर्य नेपाल प्रालिले हसयोग हस्तान्तरण गर्न कार्यक्रम समेत आयोजना गरेपनि डा कोइरालाले नैतिकता देखाएका थिए। उनी सहयोग नलिइ कार्यक्रमबाट बाहिरिएका थिए।
फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोगमा हुने यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वको साझेदारिता र सहभागिता रोकेको छ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मात्रै नभइ कानुन निर्माता र कार्यान्वयनकर्ताको समेत उपस्थिति हुने भनिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महत, सांसद एवं अर्थशास्त्री डा स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे, नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा. कुन्दन अर्याल, पत्रकार विजय कुमार, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, पूर्व बैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायत सहभागी हुने आयोजक संस्थाले जनाएको छ।
उल्लेखित नामहरुमा अधिकांस सार्वजनिक व्यक्तित्व छन्। सूर्तिजन्य पदार्थ उत्पादन कम्पनी मुख्य सहयोगी रहेको आयोजकले नै स्वीकारेको कार्यक्रममा उनीहरुको उपस्थिति गैरकानुनी ठहर्छ। सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको लोगोमुनि आफूलाई नउभ्याउने नैतिकता यी सार्वजनिक व्यक्तिहरुले देखाउलान् ?