काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ। मन्त्रालयले नेपाल चिकित्सक संघसँग भएको सहमति अनुसार चिकित्सब सेवा सम्बन्धी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
मन्त्रालयले चिकित्सक सेवा सम्बन्धी विधेयक (संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित भएपछि ऐनका रुपमा लागु हुन्छ)को मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल समेत गठन गरिसकेको छ। विधेयकको मस्यौदाका लागि आवश्यक सुझाव दिन सार्वजनिक आह्वान गरिएको छ। मस्यौदाका लागि फागुन ९ गतेभित्र सुझाव दिन भनिएको छ। [सुझाव दिन यहाँ क्लिक गर्नुहोस्]
'चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्ने सम्बन्धमा फागुन ९ गतेभित्र सुझाव दिन सकिनेछ,' सार्वजनिक सूचनामा भनिएको छ।
गत भदौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय निर्णयबाट गठित समिति र नेपाल चिकित्सक संघका प्रतिनिधिहरुबीच सोही मितिमा भएको वार्तामा भएको सहमति अनुसार चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रकृया अगाडी बढाउने भनिएको थियो। सोही अनुसार मन्त्रालयले पाँच सदस्यीय कार्यदल समिति गठन गरेको हो।
मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष र सरकारी चिकित्सक संघका अध्यक्ष सदस्य छन् भने कानुन शाखाका उपसचिव सदस्यसचिव छन्।