काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
यस्तै स्वदेशमा उत्पादन हुने आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा स्वास्थ्यजन्य सामग्रीको सूची तयार भएको, विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्य अनुरूप यस अवधिमा विभिन्न सरकारी अस्पतालबाट अन्तरंगतर्फ २८६ वटा मुटुको, ३२४ वटा फोक्सोको, ७८८ वटा रक्तनलीको शल्यक्रिया तथा १ हजार ३९८ वटा क्याथल्याब सेवा प्रवाह भएको अर्धवार्षिक समीक्षामा उल्लेख छ।
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आवश्यक अत्याधुनिक ब्लड बैङ्क उपकरण खरीद गरी सेवा सञ्चालन प्रारम्भ भएको, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, हरिवन, लालवन्दी, मलंगवा, ईश्वरपुर, परोहा, चन्द्रपुर, औरही रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा एचपीभी/डिएनए विधिवाट पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनीङ सुरुवात गरिएको, आयुर्वेद तथा योगको माध्यमबाट स्वस्थ जीवन शैली प्रवर्द्धन गर्दै नसर्ने रोग न्युनीकरणको लागि नागरिक आरोग्य अभियान ७५ वटा स्थानीय तहमा सञ्चालन गरिएको उल्लेख छ।
७० वर्षमाथिका क्यान्सर पीडित जेष्ठ नागरिकलाई निःशुल्क रेडियसन र सर्जरी सेवा ४७ जना, क्यान्सर रजिष्ट्रि कार्यक्रम अन्तर्गत ४० जना क्यान्सर बिरामीको निःशुल्क सर्जरी र १५ वर्ष मुनिका ५० जना क्यान्सर पीडित बालबालिकालाई निःशुल्क उपचार गरिएको पनि अर्धवार्षिक समीक्षामा उल्लेख छ।
यस्तै केन्द्रीकृत डाटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवाको लागि सफ्ट्वेयर र मोबाइल एप्लिकेसन संचालन भएको लगाएत उल्लेख छ।