काठमाडौं- सुदूरपश्चिमको गेटामा निर्मित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ। विधायन समितिको प्रतिवेदनसहित सोमबारको बैठकबाट सर्वसम्मतिले पारित गरिएको हो।
नेपालको एकमात्र चिकित्सा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा बनाइनु गर्वको विषय भएको छलफलमा सहभागी सांसद्हरु गरिमा शाह, पार्वती रावल, सुरेश आलेमगर र युवराज शर्मालगायतले बताए।
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
राष्ट्रिय सभामा उत्पन्न उक्त विधेयक प्रतिनिधि सभामा पठाइनेछ। अहिले गेटामा स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल चलाइएको छ। भौतिक पूर्वाधार र जनशक्ति अझै पूरा नहुँदा ओपिडी सेवा मात्रै सञ्चालनमा छ।