काठमाडौं- सूर्तिजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको लोगोमुनि हुँदै गरको 'नेपाल लिटरेचर फेस्टिभल'ले स्वास्थ्यका कानुनहरुको नजरअन्दाज गर्दै स्पष्टीकरण दिएको छ। फेस्टिभलमा सूर्य नेपाल गाथा मुख्य सहयोगी र प्रस्तुतकर्ता (प्रायोजक) रहेको स्वीकार्दै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग लिएको जनाएको छ।
जनस्वास्थ्यका लागि हानिकारक बस्तु उत्पादक कम्पनीको कानुन विपरित सहयोग लिँदै लोगो समेत प्रवर्द्धन गरिएपछि फेस्टिभल विवादित बनेको छ। सार्वजनिक निकायको नेतृत्व गरिसकेका र गरिरहेकाहरु समेत उपस्थित हुने कार्यक्रममा सूर्तिजन्य पदार्थको लोगो, चिह्नलगायत प्रयोगमा समेत कानुनले रोक लगाएको छ।
विवादपछि स्पष्टीकरण दिँदै फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले प्रेस वक्तव्य जारी गरेका छन्। जहाँ भनिएको छ, 'सूर्य नेपाल गाथा नेपाली कला, साहित्य, संस्कृति तथा पुरातात्त्विक धरोहरको संरक्षण-संवर्द्धनका लागि सूर्य नेपाल प्रालिको चार किसिमका सामाजिक उत्तरदायित्वअन्तर्गतको एक उपक्रम हो । यसै उद्देश्यअन्तर्गत हामीलाई सहयोग प्राप्त भएको हो।'
यस्ता सामाजिक उत्तरदायित्व निषेध, लोगो प्रदर्शनमा रोक
जबकी सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ मा संस्थागत सामाजिक उत्तरदायित्वका नाममा समेत काम गर्ने निषेध गरिएको छ। नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सँग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन । कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन।’
नेपाल लिटरेचर फेस्टिभलमा सूर्य नेपाल गाथाले सहयोग उपलब्ध गराए पनि यसमा सूर्य नेपाल प्रालिका कुनै पनि उत्पादनको विज्ञापन, प्रचार, प्रवर्द्धन र प्रचार सामग्री नहुने कार्यकारी निर्देशक भारीले बताएका छन्। कानुनमा कसैले पनि कम्पनीको लोगो, ब्रान्ड वा इमेज प्रदर्शन गर्न नपाउने लेखिएको छ। तर, सूर्य नेपालको लोगो जताततै प्रयोगमा ल्याइएको छ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा यससम्बन्धी व्यवस्था छ। जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।’
यसैगरी सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, , चिन्ह, कुनैपनि तरिकाबाट सूर्तिजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन गर्न नपाउने उल्लेख छ।
जहाँ भनिएको छ, 'उत्पादक लगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाचारपत्र, पत्रिका, म्यागेजिन पुस्तिका, क्यालेन्डर, पोष्टर, पाम्पलेट, पर्चा, फ्लाएर, वालचार्ट, प्रतिवेदन, टेलिभिजन तथा रेडियो ( स्थलरुप र भू- उपग्रह समेत), एफ. एम इन्टरनेट, इमेल, अनलाईन, डिभिडि, भिडियो, सिडि, कम्प्युटर, खेल, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, बिलबोर्ड, भित्तेलेखन, लोगों, संकेत, लेख, दृष्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि संचार माध्यम वा तरीकाबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'
ब्रान्ड विस्तार तथा ब्रान्ड हिस्सेदारीमा निषेध
नेपाल लिटरेचर फेस्टिभलमा सूर्य नेपाल गाथाले सहयोग उपलब्ध गराए पनि यसमा सूर्य नेपाल प्रालिका कुनै पनि उत्पादनको विज्ञापन, प्रचार, प्रवर्द्धन र प्रचार सामग्री नहुने फेस्टिभल आयोजकले जनाएको छ। तर, त्यसको लोगो र चिह्नलाई प्राथमिकता दिएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ। त्यसैमाथि यस्ता जनस्वास्थ्यमा हानिकारक वस्तुको उत्पादक कम्पनीले ब्रान्ड विस्तार तथा ब्रान्ड हिस्सेदारीमा समेत रोक लगाइएको छ।
यसैबीच सूर्य नेपाल गाथाले सहयोग गरेको बताएपनि उक्त नामक कम्पनी समेत नरहेको सूर्य नेपालकै वेबसाइटले देखाउँछ। सामाजिक उत्तरदायित्व अन्तर्गत चारवटा कार्यक्रम रहेको उक्त कम्पनीको बेवसाइटमा उल्लेख छ तर गाथा छैन।
सूर्य नेपाल सुस्वास्थ्य अन्तर्गत भन्दै एक अस्पताललाई सहयोग गर्न खोजेपनि विरोधका कारण रोकिएको थियो। त्यसपछि सार्वजनिक रुपमा प्रचार हुनेगरी ठूला इभेन्ट सूर्य नेपाल सहभागी हुन सकेको छैन । केही इभेन्टमा कानुन विपरित प्रबर्द्धन गरेको देखिएको छ। जसको विरोध हुँदै आएको छ।
सार्वजनिक व्यक्तित्वको सहभागिता गैरकानुनी
आयोजकले फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले साझेदारिता र सहभागिताका विषयमा पनि स्पष्ट पारेको छ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
यसैगरी दफा २४ मा सार्वजनिक निकायका पदाधिकारीहरुको आचरणका विषयमा प्रस्ट पारिएको छ । जहाँ सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु नहुने, सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थ वा सो सेवन गरेको दृष्यलाई कुनै पनि संचार माध्यम वा तरिकाबाट प्रकाशन, प्रशारण र प्रदर्शन गर्नु गराउन नहुन र सार्वजनिक निकायका पदाधिकारीले सूर्ति उद्योगसंग सम्बन्धित व्यक्तिहरुसंग सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विषयहरुमा अन्तरक्रिया वा बैठक वा संचार गर्दा पादरर्शी तवरबाट दुई भन्दा बढी व्यक्ति वा संचार माध्यमका प्रतिनिधिहरुको सहभागितामा मात्र गर्नु पर्ने उल्लेख छ।