काठमाडौं- अमेरिकामा यही वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन दोहोरिने आम अनुमान छ। तर, फक्स न्युजले आगामी निर्वाचनमा पूर्व राष्ट्रपति बाराक ओबामा पत्नी मिशेल ओबामा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने सक्ने जनाएको छ।
हालै स्पेशल काउन्सिल रबर्ट हुरको एक रिपोर्ट आएको थियो। जहाँ बाइडेन मानसिक र शारिरीक स्वास्थ्यमा संघर्षरत रहेको उल्लेख छ। विशेषगरी उनको मानसिक स्वास्थ्यमा प्रश्न उठाइएको छ । बाइडेनले भने उक्त रिपोर्ट खारेज गर्दै भनेका थिए, 'उमेर बढ्दै जाँदा केही समस्या आउँछन्। तर यसको अर्थ म फिट छैन भन्ने होइन।'
रिपब्लिकन पार्टीका विवेक रामास्वामीले पनि डेमोक्रेटिकबाट मिशेल राष्ट्रपतिको उम्मेदवार हुनसक्ने बताएका छन्। उनले भनेका छन्, 'स्पेशल काउन्सिल रबर्ट हुरको रिपोर्ट बाहिर आएपछि मिशेललाई उम्मेदवार बनाउने कुरामा विचार गर्न थालिएको छ। सवैलाई थाहा छ- जुन रिपोर्टमा बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर गम्भीर प्रश्न गरिएको छ। उनको मेमोरीलाई लिएर जे भनिएको छ, त्यो सही छ। यो रिपोर्टलाई कसैले खारेज गर्न सक्दैन।'
डेमोक्रेट नेता एवं पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि बाइडेनको मानसिक र शारीरिक सक्षमतामाथि प्रश्न उठाएकी छिन् । उनी उम्मेदवारका रुपमा दोहोरिँदा त्यसको सिधा लाभ ट्रम्पलाई हुने एक अन्तर्वार्तामा बताएकी छन्।