काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्। यसअघि अख्तियार जान आनाकानी गरेका उनले मंगलबार बयान दिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनले बयानमा भनेका छन्, 'आवश्यक भएर खरिद गरेको हो। भ्रष्टाचार गरेको छैन। अदालतले पनि किन्ने बाटो खोलेकाले खरिद गर्ने निर्णय गरेका हौं।'
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिदको निर्णय गरेका थिए। हाल स्वास्थ्य मन्त्री रहेका बस्नेत विरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी अख्तियारले गरिरहेको छ।
अख्तियारले उक्त प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र काटेको थियो। अमेरिकामा रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई उताबाट फर्के लगत्तै यो फाइल आफैँले लिएर अध्ययन अघि बढाएका थिए।
अध्ययन लगत्तै उनी सहितका पदाधिकारीले आरोप लागेका हाई प्रोफाइल व्यक्तिहरुको बयान नलिँदा मुद्दा कमजोर हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रीको पनि बयान लिनुपर्ने राय दिएपछि पत्र लेखिएको थियो।
‘पत्र लेखिएको थियो तर उहाँ अख्तियारमा बयान दिन उपस्थित हुनु भएको छैन,’ अख्तियारका एक आयुक्तले भने, ‘अब दोस्रो पत्र लेख्छौँ, नआए पक्राउ गर्ने कि बयान नै नलिई मुद्दा दायर गर्नेबारे पदाधिकारी बैठक बसेर निर्णय हुन्छ। यथेष्ठ प्रमाणले उनको संलग्नता पुष्टि भइसकेको छ।’
सञ्चार मन्त्री रहेका बखत बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेका थिए। यो अवधिमा मन्त्रालयका सचिव रहेका महेन्द्रमान गुरुङलाई पनि अनुसन्धानको घेरामा राखेर बयान लिइसकिएको छ।
मन्त्रीको नीतिगत निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सञ्चालक समितिबाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए।