काठमाडौं- गंगालाल अस्पतालका शल्यचिकित्सक डा रामेश कोइरालाले शल्यक्रिया नगर्ने घोषणा फिर्ता लिएका छन्। आफूले अहं र कर्तव्यमा दोस्रो रोजेको बताउँदै उनले नियमित सर्जरीमा फर्किने घोषणा गरेका हुन्।
अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।
उनको घोषणा थियो, 'मेरा बारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन गर्दिनँ। अरूसँगै गराउनु ल! सरी!'
कुशल मुटु शल्य चिकित्सकमध्ये पर्ने डा रामेशले अपरेशन छाड्दा अस्पतालमा असहजता उत्पन्न भएको थियो। सोही विषयलाई मध्येनजर गर्दै उनले शल्यक्रियामा फर्किने बताएका हुन्। उनले लेखेका छन्, 'हितैषिको बेबुनियाद वार्षिक बकवासलाई मलमपट्टी गर्दै देशको कानून र सो समयका यकिन कुरो थाहा नपाई गरिएको ग्लोरिफाईको विरोध थियो। काउन्सिलले सांसदलाई जवाफ दिएको हेर्न एवं मलाई नै सोधेमा 'गज्जब'को स्पष्टिकरण दिएर यतै राख्न पर्खन चाहेँ तर बहुधा अनुरोधले अहं र कर्तव्यमा दोस्रो रोजियो।'
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमनाले डा कोइरालाले ट्विटमा दिएको जवाफलाई लिएर नेपाल मेडिकल काउन्सिल पुगेकी थिइन्। बिरामीको उपचारको क्रममा मृत्युलाई 'सहज मान्दियौं' भनेको कुरालाई नेपालमा अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रकृया बारे बुझ्न चाहेको बताएकी छिन्।
उनले भनेकी छिन्, 'के यहाँ भनिएका चार मृत्युलाई साच्चै नै 'सहज' नै मानिएको हो? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुऱ्याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रष्ट पार्न अनुरोध छ।'
डा रामेशको 'चार मृत्यु सहज मान्दियौं'को जवाफ खोज्दै काउन्सिल पुगिन् सांसद् सुमना