काठमाडौं– ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण गरिएको छ।
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
अस्पतालले सय भन्दा बढी सफल भ्रूण प्रत्यारोपण गरेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी उक्त जानकारी गराएको छ। ह्याम्स अस्पतालको आइभिएफ तथा नि:सन्तान क्लिनिकमा आउने मध्ये ३० देखि ४० प्रतिशत विदेशमा बस्ने नेपाली रहेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिए।
कोही पनि निःसन्तान दम्पती सन्तान सुखबाट बन्चित नहोस् भन्ने उदेश्यले क्लिनिक खुलेको १४ महिनामै २ सय ५० भन्दा बढी दम्पतीले आइभिएफ सेवा लिएको र ६५ प्रतिशतसम्म सफल गर्भधारण दर रहेको डा. शर्माले बताए।
देशमै सर्वप्रथम आइभिएफ सेवा सुरु गर्ने आइभिएफ विशेषज्ञ डा. भोला रिजाल तथा डा. पदम राज पन्तको नेतृत्वमा ह्याम्स अस्पतालमा आइभिएफ सेवा उपलब्ध छ।
अस्पतालले निःसन्तान दम्पतिका लागि बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। साथै अस्पतालले विपन्न नागरिकहरूका लागि विशेष छुट तथा नि:शुल्क परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ।