क्यान्सर झट्ट सुन्दा मृत्युको विकल्प, भय, त्रास, पीडा र डरको पर्यायवाची। कसैलाई सराप्न परे तंलाई क्यान्सर लागोस्' भन्ने हाम्रो संस्कार । 'क्यान्सर ह्यमज नो आन्सर' भन्ने हाम्रो पहिलो पढाइ। गलत, बिल्कुलै गलत, भ्रम, मिथ्या, एउटा झुठो सोच, असत्य भनाइ।
आजको वर्तमान वैज्ञानिक युगमा संसारमा धेरै कुरामा परिवर्तन आइसकेको छ। धेरै क्षेत्रमा संसारमा विज्ञानले चमत्कार नै गरिसकेको छ। चन्द्रमा र मङ्गलग्रह जसलाई हामीले भगवान सम्झेर पूजा र प्रार्थना गर्दछौं, त्यहाँ आज मानवले पाइला टेकिसकेको छ। यो विज्ञानकै प्रतिफल हो। विश्वको एउटा कुनाबाट अर्को कुनामा हामी यातायातका विभिन्न साधन जस्तै गाडी रेलमार्ग, हवाइजहाजबाट सहजै पुग्न सकी। यहि हो विज्ञानको उपलब्धि। टेलिफोन, मोबाइल, टेलिभिजन, इन्टरनेट, ह्वाटसप, भाइवर, ट्विटर यी सबै विज्ञानकै उपज हुन्।
विज्ञानको ठूलो देन मानव शरीरमा पनि प्रत्यक्ष परेको छ। पहिला पहिला हामी कसैले नसुनेको तर आज हामी सबैले देख्दै आएको मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, मुटु प्रत्यारोपण, लिङ्ग परिवर्तन, रगतको मासी प्रत्यारोपण, कृतिम हात, खुट्टा, आँखाको आविष्कार, रोबोटिक सर्जरी, अनुहारकै परिवर्तन मानव शरीरको हरेक अङ्गको विशेषता अनुसारको उत्कृष्ट शल्यक्रिया, कृतिम गर्भाधान, जीवन बचाउने नयाँ नयाँ औषधिको आविस्कार यी सबै विज्ञानकै देन हुन्। मानव शरीरमा लाग्ने रोगको कुरा गर्दा "क्यान्सर" मा विज्ञानले अद्भुत सफलता हासिल गरेको छ।
हो यो एउटा अद्भुत रोग हो। यसले उमेर, लिङ्ग, अङ्ग, जात, वर्ण कुनै छुट्टाउँदैन। जसलाई पनि, जहिले पनि, जहाँ पनि लाग्न सक्ने रोग हो "क्यान्सर"। शरीरको टाउकोदेखि खुट्टासम्म, भर्खर जन्मेको शिशुदेखि वृद्ध अवस्थासम्म, कुनै पनि धर्म, जातका व्यक्तिलाई लाग्न सक्ने रोग हो "क्यान्सर"। हामी सबैको शरीर सूक्ष्मसूक्ष्म कोषिकाले बनेको हुन्छ। कुनै कारणबस, ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो।
नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप धेरै छ। नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गौलाको रोग, डायबिटिज, श्वासप्रश्वासको रोग, अल्जाइमर आदि पर्दछन्। तसर्थ क्यान्सर सरूवा रोग चाहिँ होइन तर यसको प्रकोप बढ्दो छ। क्यान्सर भनेको हाम्रो जीवनशैली खानपिनमा भरपर्ने रोग हो। सबै क्यान्सर वंशानुगत हुँदैनन्। कुनै कुनै मात्र वंशानुगत हुन्छन्। जस्तै महिलामा लाग्ने स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर ५-१० प्रतिशत वंशानुगत हुन्छन्। प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले हामीलाई क्यान्सर गर्दछ। तर धेरैलाई थाहा छैन कि, मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारक तत्त्व भनेको सुर्तीजन्य पदार्थ नै हो। सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिंडी, हुक्का, पाइप, चिलिम, गुटखा, खैनी, पान परागा आदि पर्दछन्। सुर्तीजन्य पदार्थबाहेक मदिरापान, विषादीयुक्त खाना, चर्को नुन, ढुसी परेको खाना, पोलेको मासुले क्यान्सरको सम्भावना बढाउद्ँछ। त्यसैले क्यान्सरबाट टाढा हुनु भन्नु नै यी चिजको सेवन नगर्नु हो।
वजन कम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने गरेमा विश्व स्वास्थ्य सङ्गउनको भनाइअनुसार हामी करिब ५०-५० प्रतिशत, क्यानसरबाट टाढा हुन सक्छौं। हाम्रो पहिलो लक्ष्य भनेको सकभर कसैलाई पनि क्यान्सर लाग्नै नदिने हो। लागि हालेमा सुरुकै अवस्थामा फेला पार्ने हो।
क्यान्सरमा सामान्य चार अवस्था हुन्छन्। पहिलो, दोस्रो, तेस्रो र चौथो। पहिलो र दोस्रो अवस्थालाई हामी सुरुको अवस्था भन्छौ भने, तेस्रो र चौथोलाई ढिलो अवस्था। कुनै कुनै क्यान्सर लाग्नु भन्दा अगाडि नै शून्य अवस्थामा पनि फेला पर्न सक्दछन् जुन प्रायः निको हुन्छ। क्यान्सरमा एउटै गुरु मन्त्र छ "सुरुमा उपचार गरे, क्यान्सर निको हुन्छ"। तसर्थ क्यान्सरको उपचार भन्नु नै ती अनियन्त्रित कोषिकाको वृद्धि रोक्नु हो र अन्त फैलन नदिनु हो। मुलतः क्यान्सरको उपचारमा ३ वटा उपचार पद्धति छन्-शल्यक्रिया, रेडिएसन, किमोथेरापी।
१. शल्यक्रिया
क्यान्सर लागेको अङ्गलाई झिकेर फाल्ने र क्यान्सर फैलिन नदिन सम्बन्धित गिर्खालाई पनि निकालेर फाल्नेलाई क्यान्सर सर्जरी भनिन्छ। पहिला पहिला कुनै पनि शल्यचिकित्सकले जुनसुकै अङ्गको पनि शल्यक्रिया गर्ने चलन थियो भने आज आएर विज्ञानको दक्षताको विकासले शरीरका अङ्गै पिच्छेको क्यान्सर सर्जन जसलाई हार्म अंको सर्जन भन्छौं, त्यसको नेपालमा विकास भैसकेको छ। उदाहरण: स्तन क्यान्सरको शल्यचिकित्सक, पाचन प्रणालीको क्यान्सरको शल्यचिकित्सक, पाठेघर, पाठेघरको मुख, डिम्बाशय तथा अरू सम्बन्धित अङ्गको क्यान्सर शल्यचिकित्सक, नाक, कान, घाँटीको क्यान्सरको शल्यचिकित्सक, मुत्राशय, पिसाबको थैली, मिर्गौला, प्रोस्टेट ग्रन्थीको क्यान्सरको शल्यचिकित्सक आदि। धेरैजसो क्यान्सरका शल्यक्रिया नेपालमै उपलब्ध छन्। विशेषज्ञ क्यान्सर सर्जन पनि यहीं उपलब्ध छन्। यसको उपचारका लागि बाहिर जानै पर्दैन।
२. रेडिएसन
विशेष खालको विकिरणद्वारा क्यान्सर लागेको भागलाई मार्ने र त्यसको वृद्धि रोक्नेलाई रेडिएसन थेरापी भनिन्छ। करिब ७० प्रतिशत विभिन्न खालका क्यान्सरमा रेडिएसन थेरापीको आवश्यकता पर्दछ। रेडिएसन थेरापी २ पटा तरिकाले गरिन्छ टाढाबाट गरिने टेली थेरापी र नजिकबाट गरिने ब्राकीथेरापी | टेलीथेरापीमा पनि धेरै मेसिनको विकास भैसकेको छ। पहिला पहिला क्यान्सरको काेबाल्ट ६० ले उपचार हुन्थ्यो भने वर्तमानमा विभिन्न खालका लाइनर एक्सीलेटरद्वारा यो उपचार गरिन्छ। यसमा सहायक विभिन्न रेडियसन टेक्निकहरू जस्तै ३ डीसीआरटी, आइजीआरटी, आइएमआरटी नेपालमा सहजै उपलब्ध छन्। ब्राकीथेरापी भनेको रेडिएसनको श्राेतलाई क्यान्सर लागेको ठाउँभित्रै राखेर उपचार गरिने पद्दति हो। यो पनि नेपालमा सम्भव छ। यसको लागि विशेषज्ञ चिकित्सक छन्। यसको उपचारका लागि बाहिर जानै पर्दैन।
किमोथेरापी
बिरामीको उचाइ र तौलको आधारमा हिसाब गरेर विभिन्न खालका क्यान्सरको औषधिद्वारा उपचार गरिने पद्धतिलाई किमोथेरापी भनिन्छ। किमोथेरापी औषधिहरू धेरैजसो भेन (IV) बाट दिइन्छ। कुनै कुनै औषधि मासुमै (IM) दिइन्छ, मुखचाट खाने (oral), छालामुनि (sub cutaneous), मलम (ointment), पेटदेखि बाहिरको थैली peritoneum मा राखेर (Intra peritoneal), पिसाबको थैलीमै राखेर (Intra vesical) आदि तरिकाले गरिन्छ। यी सबै उपचार पद्धति नेपालमै छ। यहीं विशेषज्ञ चिकित्सक पनि छन्। बाहिर जानु पर्दैन | किमोथेरापी बाहेक वर्तमानमा आएर क्यान्सरको उपचारमा विभिन्न खालका अरू उपचार पद्धति जस्तै-टार्गेटेड थेरापी आफ्नो शरीरको रोग प्रतिरोधक शक्ति बढाउने औषधि (इम्यूनोथेरापी) को नेपालमा विकास भैसकेको छ। इम्यूनोथेरापी औषधि किमोथेरापी औषधिभन्दा पक्कै पनि महंगा छन् तर यसको उपचारको नतिजा किमोथेरापी भन्दा बढी छ, आजको समयमा विज्ञानले दिएको यो इम्यूनोथेरापी पद्धति धेरै जसो क्यान्सरमा बढ्दो छ। यसको लागि पनि नेपालभन्दा बाहिर जानु पर्दैन। यो नेपालमै छ। तसर्थ हामी सबैले यो बुझ्न जरूरी छ कि सकभर कसैलाई पनि क्यान्सर नलागोस्। क्यान्सर लागिहालेमा सुरूमा उपचार गरे क्यान्सर निको हुन्छ। सबै उपचार सेवा नेपालमै छन्। दररोगम क्यान्सर ठूलो कुरा सकारात्मक सोच हो एउटा जटिल समस्या के छ भने, क्यान्सर लागेपछि धेरै जसो आफन्तले बिरामीलाई थाहा दिन चाहँदैनन्। डा साब मेरो आमालाई मेरो श्रीमतीलाई, मेरो छोरालाई, मेरो बाबालाई क्यान्सर छ कृपया नभनिदिनुहोला भनेर हामीलाई अनुरोध गर्छन र त्यसपछि सल्लाहअनुसार मात्र हामीकहाँ ल्याउँछन्। बिरामीलाई नभन्नु हाम्रो बाध्यता हो। विदेशतिर जस्तै- अमेरिका, यूरोप, बेलायत, अस्ट्रेलियातिर चिकित्सकले बिरामीलाई भन्नैपर्छ। बिरामीलाई रोगबारे सम्पूर्ण जानकारी दिनैपर्छ। क्यान्सर कुन अवस्थामा छ, कति खर्च लाग्छ, निको हुने सम्भावना कति छ, उपचार पद्धति के के हुन भनेर सुरूमै जानकारी गराइन्छ।
विदेशतिर प्रत्येक बिरामीले आफ्नो रोग बारे विस्तृत जानकारी पाउने उनीहरूले नैसर्गिक अधिकार हो। मानवअधिकार हो। त्यसले गर्दा बिरामीले म निको हुन्छु, म क्यान्सरलाई जित्छु भन्ने सकारात्मक सोचको विकास हुन्छ। सकारात्मक सोच र प्रतिरोधक शक्तिको सिधा सम्बन्ध हुन्छ। जुन बिरामीको सकारात्मक सोच छ, उसको रोग प्रतिरोधक शक्ति धेरै बढ्छ, जसले गर्दा उपचारको नतिजा अधिकतम बढ्छ। तसर्थ यही कुराको नेपालमा विकास हुन बहुत जरूरी छ। अब आएर तपाई हामी मिलेर यो सामाजिक बन्धनलाई तोडनु छ।
पहिला पहिला टी. बी. लागेर मान्छे मर्थे, अहिले टी.बी.ले कोही पनि मर्दैन। त्यस्तै वर्तमानमा क्यान्सर लाग्दैमा मरिदैन। यो निको हुने रोग हो। अहिले क्यान्सर रोगलाई हामी क्यान्सर रोग विशेषज्ञले अरू दीर्घरोग उच्च रक्तचाप, डायबिटिज जस्तै गरी उपचार गर्दछौ भन्ने जानकारी हरेक बिरामीका आफन्तले आफ्ना बिरामीलाई दिनु जरूरी छ। क्यान्सरका बिरामीलाई छिछि र दुरदुर होइन, माया, ममता स्नेहको जरूरत हुन्छ। विश्वमा तथा नेपालमै कतिपय प्रतिष्ठित व्यक्ति विशेषले क्यान्सरलाई जितेका छन्। यो सकारात्मक सोचको उपज हो। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर, ७ पटक विश्व साइकल चालक विजेता ल्यान्स आर्मस्ट्रङ, अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, प्रसिद्ध अमेरिकी अभिनेत्री एन्जेलिना जोली, जोर्डनका राजा हुसेन बेन, भारतीय चर्चित क्रिकेट खेलाडी युवराज सिंह, भारतीय चर्चित कलाकार सोनाली बेन्द्रे, राकेश रोशन, किरण खेर अहिले आएर सन्जय दत्त क्यान्सर विजेता हुन्।
नेपालमा अझै पनि प्रतिष्ठित व्यक्तिले आफूलाई क्याम्सर लागेको कुरा जनमानसमा थाहा दिन चाहंदैनन्। प्रख्यात नेता, चिकित्सक, कलाकार, प्रहरी, सेनानी, अधिवक्ता, न्यायाधीश, गीतकार, सङ्गीतकार, गायक, व्यापारी, कर्मचारी, सामाजिक अभियन्ताहरू आजराग्म पनि आफूलाई क्यान्सर सर्भाइभर भनेर चिनाउन हिच्किचाउनु हुन्छ। यो हाम्रो दुर्भाग्य हो। यो हाम्रो बिडम्बना हो। उहाँहरूले म यो रोगबाट निको भएँ, तपाईंहरू पनि निको हुनुहुन्छ भनेको खण्डमा बिरामीलाई ठूलो हौसला र आत्मविश्वास बढ्ने छ। अर्को पक्षमा, धेरैजसो बिरामीका आफन्तले आफ्नो बिरामीलाई क्यान्सर लागेको थाहा दिन चाहदैनन् र झुक्काएर उपचार गर्दछन्। नेपाललगायत विकासोन्मुख देशहरूमा यो एउटा जटिल समस्या हो। विकसित देशहरूमा, सम्बन्धित चिकित्सक र अस्पतालले बिरामीलाई उसको रोगबारे सम्पूर्ण जानकारी दिनैपर्छ। त्यो बिरामीको नैसर्गिक अधिकार हो। मानव अधिकार हो। यो सामाजिक बन्धन हामीले तोड्नैपर्छ। बिरामीलाई जानकारी दिएर उपचार गरेमा निको हुन्छ भने पटक पटक काउन्सिल गरेमा बिरामीको आत्मविश्वास बढ्छ र उसको उपचार धेरै सहायक सिद्ध भई निको हुने सम्भावना बढ्छ। यो विज्ञानले पुष्टि गरिसकेको छ।
(लेखक वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन्।)