काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आइतबार सार्वजनिक गरेको नाम दर्ता परीक्षामा २४ प्रतिशत मात्र पास भए। ५ दिनसँग संचालन भएको परीक्षामा ३ हजार २७५ सहभागि भएकोमा ७९८ जना मात्र पास भएका छन्।
पिसिएल तर्फको ९ विषय, ब्याचलर तर्फको १० र मास्टर्स तर्फको १९ विषयमा नाम दर्ता परीक्षा भएकोमा कतिपय विषयमा सतप्रतिशत विद्यार्थी फेल भएका छन्।
परिषद्ले सार्वजनिक गरेको पीसीएल लाइसेन्स परीक्षाको नजिता अनुसार ९ विषयमा ३ हजार २७९ जना सहभागि भएकोमा ७९८ जना मात्र पास भएका छन् भने २ हजार ४८१ जना फेल भएका छन्। पीसीएल तर्फ ७५ दशमलब ६ट प्रतिशत विद्यार्थी फेल भएका छन् भने २४ दशमलब ३४ प्रतिशत मात्र पास भएका छन्।
यस्तै ब्याचलर तहमा १० विषयको लाइसेन्स परीक्षामा १ हजार एकसय परीक्षार्थी सहभागि भएकोमा ४४९ जना मात्र पास भएका छन्। ६५१ जना परीक्षार्थी फेल भएका छन्। ब्याचलर तहमा ५९ दशमलब १८ प्रतिशत विद्यार्थी फेल भएका छन् भने ४० दशमलब ८२ प्रतिशत मात्र पास भएका छन्।
ब्याचरल तहमा होमियोप्याथी तर्फ ४ जना सहभागि भएकोमा ४ जना नै फेल भएका छन्। यस्तै मेडिकल-क्लिनिकल माइक्रोबायोलोजीतर्फ एकजना परीक्षार्थी सहभागि भएकोमा एक व्यक्ति पनि फेल नै भएको पाइएको छ। यस्तै स्नातकोतर तहका १९ विषयमा १३५ जना परीक्षार्थी सहभागि भएकोमा ८५ जना पास भएका छन् भने ५० जना फेल भएका छन्।
स्नातकोत्तर तहमा पास हुने ६२ दशमलब ९६ प्रतिशत छन् भने फेल हुने ३७ दशमलब ०४ प्रतिशत छन्। स्नातकोत्तर तह तर्फको फिजियोथेरापी( हेल्थ प्रोमोसन एन्ड रिहाब) तर्फ २ जना सहभागि भएकोमा दुवै जना फेल भएका छन्।
यस्तै, फिजियोथेरापी (स्पोटर्स रिहाब) तर्फ एकजना सहभागि भएकोमा एकजना पनि फेल भएका छन्।
परिषद्को लाइसेन्स परीक्षामा पीसीएल तर्फ सबैभन्दा धेरै परीक्षार्थी सहभागि भएको जनरल मेडिसिन, डेन्टल हाइजिन, डाइग्नोस्टिक रेडियोग्राफी, मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी, अप्टोमेट्री, फिजियोथोरापी, ओटी टेक्निसियन विषयमा पास हुने भन्दा फेल हुनेको संख्या धेरै छ।
यस्तै, स्नातक तहका मेडिकल ल्याब्रोटरी टेक्नोलोजी, अप्टोमेट्री, पब्लिक हेल्थ,होमियोप्याथी, मेडिकल इमेजिङ टेक्नोलोजी र मेडिकल क्लिनिकल बायोकेमेस्ट्रीमा पनि पास हुने भन्दा फेल हुनेको संख्या धेरै छ।
स्नातकोत्तर तहतर्फ अप्टोमेट्री, मेडिकल बायोकेमेस्ट्री पब्लिक हेल्थ र मेडिकल क्लिनिकल माइक्रोबायोलोजीमा पास हुने भन्दा फेल हुने विद्यर्थीको संख्या बढी छ।
परिषद्का रजिष्ट्रार डा लिलानाथ भण्डारीले आठौं लाइसेन्स परीक्षामा पास हुनेभन्दा फेल हुनको संख्या धेरै भएको बताएका छन्। यो पटकको परीक्षामा पुन: लाइसेन्स परीक्षा दिनेको संख्या बढी भएको र शिक्षण संस्थाको गुणस्तरबारे पनि एकिन नहुँदा लाइसेन्स परीक्षाको नतिजा राम्रो आउन नसकेको उनले बताए ।
उनले भने, ‘अघिल्लो पटकको परीक्षामा शिक्षण संस्थाबाट पासआउट हुनेवित्तिकै परीक्षा दिएकाहरु धेरै थिए, पास हुनेको संख्या पनि राम्रो थियो, अहिलेको परीक्षामा फ्रेस विद्यार्थी कम भए, पुन:परीक्षा दिएकाहरु यो पटक पनि धेरै फेल हुदा नतिजा यस्तो आयो।'
उनले पछिल्लो समयमा शिक्षण संस्थाहरुको शिक्षण सिकाईको गुणस्तर हेर्ने जिम्मा चिकित्सा शिक्षा अयोगको अधिकार भएको तर गुणस्तर परीक्षण तथा अनुगमन भने नभएकाले पनि शैक्षिक स्तर खस्किएको पनि बताए।
उनले भने, ‘लाइसेन्स परीक्षामा धेरै विद्यार्थी फेल हुनुको अर्को कारण शैक्षिक संस्थाको गुणस्तरमा पनि प्रभाव परेर हुनसक्छ। पहिला हामी आफैले अनुगमन गर्थ्यौं, अहिले त्यो अधिकार आयोगमा सरेको छ तर अनुगमन तथा मुल्यांकन भएको पाइएको छैन।'