त्रिवि शिक्षण अस्पतालकी नर्सिङ सह–नियन्त्रक हुन् गंगा हुमागाईं। झन्डै चार दशकदेखि नर्सिङ पेसामा रहेकी उनले सेवालाई नै जीवनको अभिन्न अंग बनाएकी छिन्। बितेका ३७ वर्षमा स्वास्थ्य सेवाका अनेक चरण अनुभूत गरेकी गंगाले ती अनुभूति र त्यससँग जोडिएका आफ्ना टिप्पणी स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंलाई सुनाएकी छिन्।
काभ्रेपलान्चोक जिल्लाको पनौती नजिकै रहेको तत्कालीन कुशादेवी गाउँपालिकामा मेरो जन्म भएको हो। म मेरो परिवारकै जेठो सन्तान। त्यतिबेला गाउँघरमा छोरीलाई पढाउन हुन्न भन्ने मान्यता थियो। मेरो बुवा अपवाद हुनुहुन्थ्यो। उहाँ छोरीलाई शिक्षा दिएमा पूरै समाज तथा परिवार नै शिक्षित हुन्छ भन्ने धारणा राख्नुहुन्थ्यो। प्रारम्भिक शिक्षा गाउँमै रहेको कुशादेवी निम्न माध्यमिक विद्यालयबाट भयो। विद्यालयस्तरको पढाइ सकिएपछि धेरैले मेरो बिहेको प्रस्ताव ल्याएका थिए। तर बुवाले ती प्रस्ताव अस्वीकार गरेर मेरो पढाइ जारी राख्ने चाहना देखाउनुभयो।
सेवाभावले नर्स
विद्यालयस्तरको पढाइ पूरा भएको थियो। म बिरामी आमाको उपचारका लागि बनेपाको एक अस्पतालमा पुगेकी थिएँ। नर्सहरुले लगाएको सेतो ड्रेस र उनीहरुले बिरामीलाई दिइरहेको सेवाले नर्सिङप्रति आकर्षण बढ्यो। नर्सिङले मेरो दिमागमा गहिरो छाप बनाइसकेकाले मैले बुवा समक्ष प्रस्ताव राखेँ। बुवाले मेरो प्रस्ताव सहर्ष स्वीकार गरेर मामाको छोरासँगै पढ्नका लागि काठमाडौं पठाउनुभयो।
नर्सिङ पढाइ सुरु गर्दा ‘फोहोरी काम रहेछ’ भन्ने पनि लाग्यो। एक किसिमको घिन पनि लाग्यो, जब त्यसका पछाडि जोडिएको सेवा समेत महसुस भयो, त्यसपछि भने यसैमा आनन्दको महसुस गर्न थालेँ।
नर्सिङ सेवामुलकबाट व्यावसायिक
नर्सिङ सेवामुलक पेसा हो। यद्यपि, पछिल्लो समय सेवामुलकभन्दा पनि व्यावसायिक रुपमा यस पेसालाई लिन थालिएको छ।
नयाँ पुस्ताका नर्सहरुले बिरामीलाई गर्ने व्यवहारलाई लिएर पछिल्लो समय केही नकारात्मक टिप्पणीहरु आउने गरेका छन्। शिक्षासँगै आवश्यक प्रयोगात्मक ज्ञानको अभावका कारण पनि यस्तो भएको होला भन्ने मलाई लाग्छ। मापदण्ड पूरा नभई जथाभावी रुपमा खोलिएका नर्सिङ कलेज तथा त्यहाँबाट उत्पादित जनशक्तिका कारण नर्सिङ शिक्षामा गुणात्मक शिक्षाको कमी भएको छ। त्यस कारण पछिल्लो समय नर्सिङ पेसा केही खस्किएको हो कि भन्ने भान परिरहेको छ।
कफ्र्युमा प्रहरीको स्कर्टिङ
आवश्यक परेको खण्डमा २४सै घन्टा बिरामीको सेवामा खटिनुपर्ने पेसा हो नर्सिङ। म अविवाहित हुँ। मेरा भाइ–बुहारीले मेरो पेसागत जीवनमा सधैं समर्थन गरिरहे। म नर्स भएकोमा मेरो परिवारले गर्वको महसुस गर्नुका साथै पेसागत जीवनमा सधैं सकारात्मक भूमिका निर्वाह गरिरहेका छन्।
नर्सिङ पेसामा सेवा गर्न थालेको करिब चार दशक भइसकेको छ। बिरामीको सेवामा खटिँदा उनीहरुको पिर–मर्का र दुःख आफ्नै जस्तो महसुस हुने गर्छ। त्यसैले जस्तो अवस्थामा पनि तयार भएर बसिन्छ।
यी करिब चार दशकका केही त्यस्ता पलहरु छन्, जुन अविस्मरणीय छन्। विसं २०४६ सालको आन्दोलन चलिरहेको थियो। आन्दोलन चर्काे हुन थालेपछि सरकारले कर्फ्यु लगाएको थियो। मैलै नर्सका रुपमा काम गर्न थालेको ४–५ वर्ष मात्रै भएको थियो। त्यतिबेला मेरो बसाइ बानेश्वर थियो।
अस्पतालबाट आकस्मिक रुपमा फोन आयो। जसरी पनि पुग्नैपर्ने भनियो। कफर््यु लागिरहेको समयमा बाहिर निस्कन सक्ने स्थिति थिएन। परिवारबाट पनि मलाई बाहिर ननिस्कन अनुरोध गर्नुभयो। मेरो मनमा मेरो सेवाको पर्खाइमा रहेका बिरामी थिए। परिवारको अनुरोधलाई समेत इन्कार गरेर बिरामीको सेवाका लागि म अस्पतालतर्फ लागेँ।
बाटोमा प्रहरीले केरकार गरे– कफर््यु लागेको थाहा छैन भन्दै। मैलै आफू नर्स भएको र अस्पतालबाट आकस्मिक रुपमा फोन आएका कारण त्रिवि शिक्षण अस्पताल जान लागेको बताएँ। प्रहरीले मेरो सेवाभावलाई सम्मान ग¥यो। आफैंले स्कर्टिङ गरेर त्रिवि शिक्षण अस्पतालसम्म पु¥याइदियो।
जीवन बुझाउने ती शव कुरुवा महिला
अस्पताल आएका बिरामीलाई बचाउनका लागि चिकित्सक तथा नर्सले सक्दो प्रयास गरिरहेकै हुन्छन्। कतिपय अवस्थामा प्रयास गर्दागर्दै पनि हामी असफल हुने गर्छाैं। अस्पतालमा उपचारका लागि ल्याएका बिरामीलाई बचाउन नसक्दा हामीलाई पनि थकथकी लाग्छ। कतिपय समय आँसु नै पनि झर्छ। तीन दशकमा यस्ता धेरै पल बेहोरियो। त्यसमध्ये एउटा घटनाले जीवनमा ठूलो उपदेश दिएर गएको छ।
केही वर्ष अगाडिको कुरा हो, एक जना महिलाले श्रीमान्लाई उपचारका लागि अस्पताल ल्याएकी थिइन्। दुर्भाग्यवश उनको श्रीमान्को मृत्यु भयो। शव मर्चरीमा राखिएको थियो। शव कुर्नका लागि ती महिलाको कोही आफन्त आएनन्। उनै एक्लैले श्रीमान्को शव कुरेर बसिन्। नजिकैबाट त्यो घटना नियालिरहेकी म अहिले पनि भावुक हुन्छु। त्यो घटनाले मैले जीवनको वास्तविकता बुझेँ।
सेवाको बदला दुव्र्यवहार
नर्सहरु अग्र भागमा बसेर बिरामीको सेवामा खटिने व्यक्ति हुन्। डाक्टरहरुमाथि दिनहुँ जस्तो कुटपिट तथा दुव्र्यवहारका घटना घटिरहेका समाचारहरु देखिरहेका हुन्छौँ। नर्सहरुले पनि दुव्र्यवहार नियमित जस्तो भोगिरहेका हुन्छन्। यद्यपि, डाक्टरहरुमाथि जस्तो नर्सहरुमाथि कुटपिटकै घटना भने कम हुने गर्छन्। नेपालका अस्पतालहरुमा डाक्टर, नर्स तथा बिरामीको अनुपात मिलाइएको छैन। सीमित डाक्टर तथा नर्सले धेरै बिरामीको सेवा दिनुपर्ने अवस्था छ। यसले गर्दा बिरामीका आफन्तलाई आफूहरुले सेवा नपाएको महुसुस हुन सक्छ। डाक्टर र नर्सले बिरामीको अवस्था हेरेर प्राथमिकताका आधारमा सेवा दिनुपर्ने हुन्छ। जसका कारण अस्पताल आइपुगेका केही बिरामीलाई सेवा दिनमा ढिलाइ समेत हुने गर्छ। यस्तो अवस्थामा बिरामी तथा बिरामीका आफन्तहरु आक्रोशित हुन्छन्। कतिपय अवस्थामा डाक्टर र नर्समाथि कुटपिट तथा दुव्र्यवहारका घटना हुने गर्छन्। स्वास्थ्यकर्मी तथा बिरामीको अनुपात मिलाउन सकेको अवस्थामा दुव्र्यवहारका घटना कम हुन्छन् भन्ने मलाई लाग्छ।
नर्स विदेशिने बाध्यता
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
अध्ययन लागतका अनुपातमा नर्सहरुले नेपालका निजी अस्पतालमा पाउने तलब एकदमै कम रहेको छ। आकर्षक सेवा सुविधाका कारण धेरै नर्सहरु विदेशिन बाध्य भएका छन्।
विदेशमा नर्सहरुको अभाव छ। आजको सूचना प्रविधिको युगमा कुनै पनि देशको एउटै कुनाबाट विश्वका बारेका जानकारी पाउन सकिन्छ। जसले नर्सहरुलाई विदेशिनका लागि सहज बनाइदिएको छ। निजी संस्थाहरुले नर्सलाई उपयुक्त सेवा–सुविधा नदिनु तथा पेसाको इज्जत नदिनु नै नर्सहरु विदेशिनुको मुख्य कारण हुन्। नर्सिङ पेसालाई व्यवस्थित बनाउन आवश्यक पहिलो कदम योग्यता अनुसारको रोजगारीको अवसर सिर्जना गर्नु नै हो। आकर्षक तलब तथा सेवा–सुविधाको व्यवस्था गर्न सकेको खण्डमा आकर्षण बढाउन सकिन्छ। नर्सलाई सम्मान र इज्जत दिएर मनोबल बढाउन सकिन्छ।
सरकारी स्तरमा कार्यरत नर्सहरुलाई निश्चित समय पूरा भएपछि योग्यता तथा क्षमता अनुसार बढुवा गर्ने नीति सरकारले ल्याउन आवश्यक छ। नेपालका नर्सहरुका लागि काम गर्ने वातावरण नबन्ने हो भने निकट भविष्यमा नै नर्सिङ जनशक्ति अभाव हुने सम्भावना देखिन्छ। डाक्टरहरु समेत विदेशिने क्रम बढ्दो अवस्थामा छ। यसरी डाक्टर र नर्सहरु विदेशिने हो भने केही वर्ष भित्रै नेपालका धेरै अस्पतालहरु बन्द हुन सक्छन्।