कुष्ठरोग यो नशा तथा छालामा हुने एक प्रकारको रोग हो। यो माईकोब्याक्टेरियम लेप्रे नामक किटाणुका कारण लाग्ने गर्छ। पुरानो रोग भएपनि यसका कारण आजभोली पनि मानिसहरु संक्रमित हुने गरेका छन्। यो कम सर्ने सरुवा रोगमा पर्छ। शरीरमा छुँदा थाहा नहुने फ्रुस्रो वा हल्का रातो दागहरु देखिनु यस रोगको सुरुवाती लक्षण हो। त्यस्तै हातगोडा लुलो हुने मांशपेशीहरु कमजोर हुने समस्या देखिने गर्छ। कतिपयलाई अनुहारमा गिर्खाहरु देखिने तथा हातगोडाहरु झमझम गर्ने समस्या समेत देखिन सक्छ।
उपचार
कुष्ठरोग लागेर उपचारमा आएका बिरामीहरुलाई बहुऔषधि विधिमार्फत् उपचार गर्ने गरिन्छ। रोगको प्रकृति अनुसार नियमित रुपमा औषधि सेवन गर्दाे यस रोगलाई पूर्णरुपमा निराकरण गर्न सकिन्छ। बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ।
कुष्ठरोगको उपचारमा बिरामीको सचेतना बढ्दै
पछिल्लो समयमा बिरामीमा यस रोग बारेको सचेतना बढ्दै गएको पाइएको छ। यद्यपि कतिपय बिरामीहरु रोगले पुरै च्यापेर हातगोडा नै बांगिएको अवस्थामा भएको आइपुग्ने गरेका छन्। सुरुवाती समयमा अन्य रोगको उपचार प्रक्रियामा गएर बिरामीहरु ढिलो आइपुग्ने गरेको पाइएको छ। सुरुवातको समयमा कुष्ठरोगका अधिकांश बिरामीहरु नशा तथा हड्डीको समस्या भएको भन्ने सोचेर त्यसको उपचारतर्फ लाग्ने गरेको पाइएको छ। त्यसकारण कुष्ठरोगीहरुले सही उपचारका लागि ढिलाई गरेको पाइएको छ। यद्यपि पछिल्लो समय भने बिरामीहरु सुरुवाती समयमा नै उपचारमा आउने संख्या बढेको पाइएको छ।
बहुऔषधि विधामार्फत् बिरामीहरुको उपचार
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरुमा निशुल्क दिने व्यवस्था नेपाल सरकारले गरेको छ। यसको उपचारका लागि प्रयोग गरिने बहुऔषधि विधिले १२ महिनाभित्र ९९ प्रतिशत बिरामीहरुलाई स्वस्थ बनाइदिन्छ। उपचार भएका बिरामीबाट अन्यलाई यो रोग सर्ने सम्भावना एकदमै न्यून हुने गर्छ। उपचाररत्त अवस्थामा बिरामीलाई खानामा रुचि नहुने,वाकवाकी लाग्ने, रुघाखोकी वा ज्वरो आउने जस्ता समस्या देखिन सक्छन्।
नेपालमा कुष्ठरोग निवारणमा देखिएका चुनौती
एक व्यक्तिबाट अर्काेमा सरेपछि पनि लक्षणहरु देखिनका लागि लामो समय लाग्ने गर्छ। कतिपय मानिसहरुलाई रोग देखा पर्नका लागि १० देखी १५ वर्षसम्म पनि लाग्ने गर्छ। जसले कुष्ठरोगको पूर्ण नियन्त्रणमा चुनौती नै खडा गरिदिएको छ। हामीले समुदायमा गरेर क्लोज सम्पर्कका आधारमा सर्वेक्षण गरी सुरुवातकै अवस्थामा बिरामी पहिचान गरी अस्पताल जानु पूर्व नै उपचार गर्न सकेको अवस्थामा कुष्ठरोगको निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। हालसम्म कुष्ठरोगको उपचारका लागि भ्याक्सिनको आविष्कार भइसकेको छैन। यसका उपचारका लागि भ्याक्सिनको विकास गर्न सकेमा कुष्ठरोग निवारण गर्न सहयोग पुग्ने थियो।
कुष्ठरोगको पहिचान तथा निदानमा सरकारको भूमिका
कुष्ठरोगको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि विभिन्न प्रकारका तालिमको व्यवस्था गरी सरकारले यसको पहिचान तथा निदानका लागि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। त्यस्तै उपचारका लागि आवश्यक विभिन्न प्रविधि तथा उपकरणहरु विभिन्न स्थानमा आपूर्ति गराएर नेपाल सरकारले यस रोगको पहिचान तथा निदानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यस्तै यसको निदानमा काम गरिरहेका विभिन्न निजी तथा सरकारी संघ संस्थाहरुलाई नीति निर्माण बनाएर यसको पहिचान तथा निदानमा नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्छ
कुष्ठरोगको पुनर्स्थापनाका लागि सरकारी तथा निजी स्तरबाट भएका प्रयासहरु
पछिल्लो समय कुष्ठरोगीहरुको संख्या घट्दै गएकोले पुनस्थापनमा ठूलै चुनौती भने छैन। विभिन्न गैर सरकारी संस्थाहरुले समेत यस क्षेत्रमा काम गर्दे आएको छ। उनीहरुको समुह बनाएर उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने कामहरु प्नि कतिपय निजी संस्थाहरुले गरिरहेका छन्।
अंपाग व्यक्तिहरुको हक हितमा सरकारी तवरबाट गरिएका कामहरुमा कुष्ठरोगीहरुलाई समेत समेट्न सकेको अवस्थामा उनीहरुलाई सक्षम बनाउनका लागि सहयोग पुग्नेछ। त्यसका साथै स्थानीय स्तरबाट नै सचेतनामुलक कार्यक्रमहरु गर्न सकेमा कुष्ठरोगीहरुलाई व्यक्तिगत विकासमा टेवा पुग्छ।
वर्षेनी थपिन्छन् ३ हजार
गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ३ हजारको संख्यामा कुष्ठरोगीहरु वर्षेनी थपिने गरेका छन्। नयाँ बिरामीहरुका साथ साथै पुराना बिरामीहरुलाई समेत विशेष हेरचाहको आवश्यकता पर्ने गर्छ। कतिपय बिरामीहरुलाई यसको औषधिका कारण हुने रियाक्सनले गर्दाे उनीहरुलाई विशेष हेरचाहको आवश्यकता परेको हो। मेरो कुरा गर्नुपर्दाे अधिकांश समय कुष्ठरोगको औषधिका कारण रियाक्सन भएका बिरामीहरुको हेरचाहमा बित्ने गरेको छ। यसरी वर्षेनी नयाँ बिरामीहरु थपिने तथा पुराना बिरामीहरु समेत उपचारत्त अवस्थामा रहेका कारण यसको निवारणमा चुनौती देखिएको हो। हामीसँग अस्पतालमा उपचारका लागि आएका बिरामीको मात्रै तथ्यांक भएकोले धेरै बिरामीहरु उपचारको दायरामा नै नआई लुकेर बसेको अनुमान गर्न सकिन्छ।
रोकथाम कसरी
यसको रोकथामका लागि रोग लागेको सुरुवातको अवस्थामा नै पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ। सुरुवाती अवस्थामा नै यसको उपचार गर्न सकेको अवस्थामा समुदायमा यसको फैलिने दरलाई कम गर्न सकिन्छ।
(डा सुवास बरालसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)