शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बुधबार (आज) ९०औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा आधुनिक चिकित्साको सुरुवात भएसँगै सरकारी तवरबाट विसं १९९० सालमा कलेरा अस्पतालको रुपमा स्थापना भएको यस अस्पतालले विसं २०५३ माघ ११ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रुपमा सेवा दिन थालेको हो।
हाल १ सय बेडमा सञ्चालित यस अस्पतालले ६० बेडबाट बिरामीहरुलाई नि:शुल्क रुपमा सेवा दिँदै आइरहेको छ। अस्पतालले आईसीयू र क्याबिनका ४० बेडमा मात्रै शुल्क लिने गरेको छ। हाल सरुवा रोगको रेफरल सेन्टरका रुपमा यस अस्पताल सञ्चालनमा रहेको छ। सरुवा रोगहरुको व्यवस्थापन गर्नु तथा कुनै पनि प्रकारको महामारी फैलिएको अवस्थामा देशभरिबाट नै रेफर भएर आउने बिरामीहरुको व्यवस्थापन गर्नु नै यस अस्पतालको मुख्य काम हो।
अस्पतालले प्रदान गर्दै आइरहेको सेवा, व्यवस्थापनमा रहेका चुनौती तथा आगामी दिनमा अस्पतालका योजनाबारे अस्पतालका निर्देशक डा युवानिधि बसौलासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
पछिल्लो समय अस्पतालका गतिविधिहरु कसरी सञ्चालन भइरहेका छन्?
अस्पतालले सरुवा रोगका साथै टाइफाइड, कालाजार, जापानिज इन्सेफ्लाइटिस, हैजा, रेबिज लगायतका रोगहरुको उपचारमा विशेष योगदान दिँदै आएको छ। यसका साथै विभिन्न भ्याक्सिनहरुको सेवा समेत दिँदै आइरहेको छ।
विगत दुई वर्ष अगाडि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा यस अस्पतालले दिएको सेवा सराहनीय थियो। एचआईभी एड्स लागेका बिरामीहरुको सबैभन्दा बढी उपचार गर्ने अस्पतालका रुपमा समेत टेकु अस्पतालले पहिचान बनाउन सफल भएको छ।
यस अस्पतालमा अहिले पनि २ हजार २ सय ५० भन्दा बढी एचआईभीका बिरामीहरु उपचाररत छन्। अस्पतालले २४सै घन्टा रेबिज खोपको सेवा प्रदान गर्दै आइरहेको छ।
अस्पतालका कार्यरत जनशक्ति तथा सेवा प्रवाहको अवस्था कस्तो छ?
यस अस्पतालमा नेपाल सरकारबाट १६७ जना जनशक्ति स्वीकृत भएको छ। जसमध्ये १०४ जना कार्यरत रहेको अवस्था छ। अस्पताल विकास समितिका तर्फबाट अस्पतालमा २३ जना तथा नेपाल सरकारको स्थायीतर्फ ७१ गरी २०४ जना कार्यरत रहेको अवस्था छ।
हाल टेकु अस्पतालले मेडिकल सेवा, बाल रोग सेवा, छाला रोग सम्बन्धी, हाडजोर्नी रोगको सेवा, एचआईभी बिरामीहरुका लागि एआरटी सेवा, क्षयरोग तथा डट्स् क्लिनिक, आकस्मिक सेवा, कोरिया जानेहरुका लागि ईपीएस लगायतका सेवा अस्पतालले दिँदै आइरहेको छ।
त्यस्तै सामाजिक सेवा इकाई स्वास्थ्य बिमा कार्यक्रम, ओसीएमसी कार्यक्रम, २४सै घन्टा फार्मेसी सेवा, एम्बुलेन्स सेवा, प्रयोगशाला सेवा अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, भाइरल लोट, कोभिड पीसीआर परीक्षण लगायतका सेवा अस्पतालले प्रदान गर्दै आइरहेको छ।
रेडियोग्राफी सेवा अन्तर्गत एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, ईसीजी लगायतका सेवा अस्पतालले प्रदान गर्दै आइरहेको छ।
सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौती केके हुन्?
सेवा प्रवाहको कुरा गर्नुपर्दा मुख्यतया तीन पक्षहरुलाई हेर्नुपर्ने हुन्छ। जसमा भौतिक संरचनाको अवस्था पहिलो नम्बरमा पर्छ। यस अस्पतालमा पुरानो भवनबाट सेवा प्रवाह गरिरहेको अवस्था छ। त्यस्तै हामीसँग रहेका सम्पूर्ण जनशक्तिको माध्यमबाट सेवा प्रवाह गर्न सकेको अवस्था छैन। जस्तैः सरुवा रोग विशेषज्ञको अभाव हुँदा सेवा प्रवाह गर्न कठिन भएको छ।
अर्को समस्या, हामीसँग पुराना औाजर उपकरणहरु मात्रै छ, जसले सेवामा चुनौती खडा गरिदिएको छ। अस्पतालले अनुसन्धान गर्नुपर्ने विषयहरु यी सम्पूर्ण कुराहरुको अभावका कारण ओझेलमा परेको अवस्था छ।
गत आर्थिक वर्ष अर्थात् २०७९/०८० मा हामीले ओपीडीमा करिब १ लाख बिरामीलाई उपचार सेवा दिएका थियौं। त्यस्तै दुई हजार बिरामीले अस्पतालबाट अन्तरंग सेवा लिएका थिए। करिब १२ हजारले अस्पतालबाट आकस्मिक स्वास्थ्य सेवा लिएका थिए। सामाजिक सेवा इकाई अन्तर्गत १६ सय ८२ जनाले स्वास्थ्य सेवा पाएका थिए।
गत वर्ष हामीले ८१ जना कोरोनाका बिरामीहरुलाई उपचार सेवा प्रदान गरेकामा ८० जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनु भएको थियो भने १ जनाको निधन भएको थियो।
अस्पतालमा भएका सुधारका प्रयासहरु केके हुन्?
अस्पतालले आकस्मिक उपचारका लागि आउने बिरामीहरुका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको छ। २४सै घन्टा फार्मेसी सेवा सुरु गरेको छ। बिरामीले उपचारका लागि अस्पताल आएर कुर्नपर्ने बाध्यताको अन्त्यका लागि अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ। अस्पतालमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि अस्पतालले विभिन्न प्रकारका तालिमहरुको व्यवस्था गरेको छ।
मैलै अस्पतालको निर्देशकको जिम्मेवारी लिएसँगै कर्मचारीहरुको डिजिटल हाजिरको व्यवस्था गरिएको छ। अस्पतालको भावी योजना अन्तर्गत ३ सय बेडको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्नु हो। जुन कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ।
हिउँदको समयमा अस्पतालमा बिरामीको चाप केही कम हुने भएकोले उक्त समयमा अध्ययन अनुसन्धान तथा शैक्षिक कार्यक्रमहरु अगाडि बढाउने योजना समेत हामीले बनाएका छौं।
अस्पतालका रहेको सिटी स्क्यान मेसिन पुरानै भएकोले नयाँ ल्याएर सेवा दिनुपर्ने अवस्था छ। त्यस्तै शैक्षिक कार्यक्रम अगाडि बढाउने तयारी समेत अस्पतालले गरेको छ। सीमित जनशक्ति तथा पुरानो भौतिक संरचना र विभिन्न चुनौतीका बाबजुद पनि अस्पतालले सरुवा रोग अस्पतालका रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
अस्पतालमा बजेटको अवस्था कस्तो छ?
गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई ३१ करोड ३४ लाख बजेट विनियोजन गरेको थियो, जसमा २९ करोड ४७ लाख खर्च भएको थियो। जुन कुल बजेटको ९३.५ प्रतिशत हो। अस्पताल विकास समितिका तर्फबाट अस्पतालले करिब १६ करोड आम्दानी गरेको थियो। जसमा १४ करोड ९३ लाख खर्च भएको थियो। त्यो पनि कुल बजेटको करिब ९३ प्रतिशत नै हो।
गत आर्थिक वर्षमा अस्पतालले विभिन्न स्रोतबाट प्राप्त रकममा करिब १ करोड बचत गरेको अवस्था छ भने बेरुजु रकम झन्डै १ करोड रहेको छ। यस आर्थिक वर्षमा ३२ करोड ६० लाख बजेट विनियोजन भएकोमा अस्पताल विकास समितिबाट करिब १६ करोड आम्दानी हुने हाम्रो प्रक्षेपण छ।
आईसियू सेवालाई थप व्यवस्थित बनाउन कसरी सोच्नुभएको छ?
यस अस्पतालले आगामी दिनमा आईसियू सेवालाई थप व्यवस्थित बनाउनुपर्ने देखिएको छ। त्यसका लागि हामीसँग २४ बेडको आईसियू तयारी अवस्थामा छ। जसका लागि करिब १५ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।
सरुवा रोगको साथसाथै अन्य रोगको समेत उपचार सेवा दिन सकेको अवस्थामा बिरामीलाई रेफर गर्नुपर्ने अवस्था आउने थिएन। जस्तैः सरुवा रोगको उपचारमा आएका बिरामीहरुलाई मुटु, मिर्गौला, ल्याबका सम्पूर्ण सेवाहरु, एमआरआई सेवा, सम्पुर्ण रोगमा विशेषज्ञ सहितको सेवा, बाल उपचारमा आईसीयू सेवा प्रदान गर्न सकेमा सरुवा रोगको उपचारमा आएका बिरामीहरुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने थियो भन्ने मलाई लाग्छ। त्यसका लागि नयाँ भौतिक संरचना नबन्दासम्म हामीले सेवा विस्तार गर्न सक्ने अवस्था भने छैन।
आगामी दिनमा अस्पताल विस्तारका लागि के-कस्ता योजना बनाउनुभएको छ?
अस्पतालको ७० रोपनीभन्दा बढी जमिन भए पनि १६ रोपनी जमिन मात्रै अस्पतालको प्रयोगमा रहेको अवस्था छ। बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा रहेको छ। यस अस्पताललाई ३ सय बेड संख्यामा परिणत गराउने गुरुयोजना सरकारको कार्यक्रममा परिसकेको छ। आगामी आर्थिक वर्षमा त्यसको सुरुवात हुनेछ।
अस्पताल विस्तारका लागि २६ रोपनी जग्गा आवश्यक रहेको र त्यसका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा तथा आर्थिक प्रशासनको भवन रहेको जग्गा प्रयोग गरिनेछ।