काठमाडौं- कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिन खरिदको प्रक्रियामा सेटिङ गरेर एउटा मात्र कम्पनीलाई मिल्ने गरी प्रक्रिया अगाडि बढाएको छ। सेटिङमा स्पेसिफिकेसन बनाइएका कारण खरिदको बोलपत्र प्रक्रियामा एउटा मात्र कम्पनीका तर्फबाट आवेदन परेको छ।
झण्डै साढे सात करोड रुपैयाँ लागतको १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया एक्सिस मेडिबिज प्रालीसँगको केन्द्रले सेटिङ गरेको हो। केन्द्रले सेटिङमा खरिद गर्न लागेको सिटी स्क्यान खरिद प्रक्रिया मुल्यांकनका क्रममा रहेको छ। तर उक्त प्रक्रियामा एक्सिस मेडिबिजको मात्र आवेदन परेको छ।
एक्सिसले निओसफ्टको सिटी स्क्यानसँग मिल्नेगरी केन्द्रका कर्मचारी र बायोमेडिकल इन्जिनियरसँग मिलेर स्पेसिफिकेसन बनाएको स्रोत बताउँछ।
स्वास्थ्यखबरले उक्त खरिद प्रक्रियामा एउटा मात्र कम्पनीको आवेदन परेपछि केन्द्रका निर्देशक डा वीरेन्द्र मण्डलसँग किन यस्तो भएको भनेर जिज्ञासा राखेको थियो। निर्देशक डा मण्डलले फोनबाट सबै कुरा बताउन नसकिने भन्दै कार्यालयमा नै आएर फाइल हेरेर बताउने प्रतिक्रिया दिए।
बायोमेडिकल इन्जिनियरहरुका अनुसार खरिदका लागि तयार पारिएको प्राविधिक स्पेसिफिकेसनमा धेरै बुँदाहरु नियोसफ्टको सिटीसँग मात्र मिल्ने बुँदा रहेकाले अन्य कम्पनी प्रतिस्पर्धामा आउन नसकेका हुन्। उनीहरुले केही बुँदाको उदाहरण दिँदै भने, 'धेरै बुँदामा उक्त कम्पनीसँग मात्र मिल्ने विषय परेका छन्। जस्तो ८ एमएचयू ट्यूब भनिएको छ। यसमा ७ भन्दा माथि भनिएको भए अन्य कम्पनी पनि प्रतिस्पर्धामा आउन सक्थे। यसका साथै जुन मोडल र क्षमताको सिटी भनिएको छ त्यसका लागि ८० किलोवाटको जेनेरेटर भनेर राखिएको छ। त्यसमा पनि अरु आउन समस्या परेको हो। अरु पनि बुँदामा खेलिएको छ।'
एक्सिस मेडिबिजका गोपाल गुप्ता भने सेटिङ नगरीएको दाबी गर्छन्। उनी सिटी स्क्यानका लागि अनुमानित रकम नै निकै कम भएकाले अरुले प्रतिस्पर्धा नगरेको बताउँछन्। 'यो क्षमताको सिटी स्क्यान मेसिनका लागि बजेट नै निकै कम राखिएको छ। त्यसकारण अन्य कम्पनीहरुले आवेदन नदिएका हुन्,' उनले भने, 'सम्भवत नेपालमै सबैभन्दा सस्तोमा उक्त मेसिन आउँदै छ।'
गुप्ताले सबैभन्दा कम शुल्कमा सिटी किन्न लागेको दाबी गरे पनि यसअघि त्रिवि शिक्षण अस्पताल, मध्यपुर अस्पताल तथा अन्य केही अस्पतालमा त्यति नै क्षमताका अन्य कम्पनीका सिटी स्क्यान मेसिन अहिले खरिद गर्न लागिएको भन्दा पनि कम मुल्यमा बिक्री भइसकेको स्रोत बताउँछ।
केन्द्रकै कर्मचारी पनि मिलेमतोमै लक स्पेक (एउटालाई मात्र मिल्नेगरी) बनाउँदा अन्य कम्पनी प्रतिस्पर्धामा आउन नसकेको बताउँछन्। 'यो खरिद प्रक्रियामा तलदेखि माथिसम्म मिलेमतो गरेको प्रष्टै देखिन्छ,' केन्द्रकै एक कर्मचारीले भने, 'सबैले मिलेर कमिसनको प्रतिशत भाग लगाएका छन्। कमिसन खानकै लागि एउटालाई मात्र मिल्ने गरी प्रक्रिया अगाडि बढाइएको हो।' ती कर्मचारीले निओसफ्टकै सप्लायर्स ‘निदान मेडिसोलुसन प्रालि’ले नै आफू विवादबाट जोगिने अर्को सप्लायर्सलाई अगाडि बढाएको हुन सक्ने आशंका पनि व्यक्त गरे।
'यसमा निदान मेडिसोलुसनले केही खेल खेलेको हो कि जस्तो पनि देखिन्छ,' ती कर्मचारीले भने। निदान मेडिसोलुसनका चन्द्र बुढासँग उक्त विषयमा जानकारी लिन खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन्। 'यो विषयमा म केही भन्न चाहन्न। उतै बुझ्नुहोस्,' उनले भने।
खरिद गर्न लागिएको उक्त सिटी स्क्यान मेसिनको वारेन्टी समय पनि दुई वर्षको मात्र रहेको कर्मचारीहरु बताउँछन्। 'सामान्यतया अरु सिटी स्क्यान कम्पनीको वारेन्टी समय पाँच वर्षको हुन्छ। तर यो कम्पनीको जम्मा दुई वर्ष मात्र छ। यसले त राज्यलाई सिधै घाटा हुने देखियो,' केन्द्रका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार सेटिङमा खरिद हुन लागेको उक्त सिटी स्क्यानका सप्लायर्सले यसअघि सिटी स्क्यान मेसिनको कारोबार नै नगरेको भन्दै केन्द्रमा केहीले मौखिक उजुरी समेत गरेका छन्।