काठमाडौं - निजामती कर्मचारी अस्पतालमा करारबाट ज्यालादारीमा झारिएको बिरोधमा आन्दोलन गर्दै आएका नर्सहरुले अस्पतालका निर्देशक डा विधाननिधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आफ्नो माग पूरा नगरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन्।
करारमा काम गरिरहेका नर्सहरुलाई स्थायी बनाउन अस्पतालले लोक सेवा परीक्षा गरेको थियो। सवै करारका नर्सहरुले उक्त परीक्षा पास गर्न सकेनन्। लामो समयदेखि अस्पतालमा कार्यरत तर लोकसेवाबाट स्थायी हुन नसकेका नर्सहरुलाई करारबाट ज्यालादारीमा राखिएको थियो।
अस्पतालले समयमा परीक्षा नलिएर अन्याय गर्दै अहिले हटाउने प्रपञ्च रचेको नर्सहरुको बुझाइ छ। अस्पतालले भने लोकसेवाबाट पास नहुनेहरुलाई जागिरमा राख्न जरुरी नभएको बताउँदै दक्ष जनशक्तिलाई बेरोजगार नबनाउन करारमा भएपनि काम दिएको तर्क गर्दै आएको छ।